काठमाडौं महानगरले सुरु गर्यो अत्याधुनिक युरो ४ का जेट मेसिनबाट सहरको सफाइ

 भदौ ३०, २०७५ शनिबार १२:९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सहरको सरसफाइका लागि काठमाडौं महानगरपालिकाले शनिबारबाट ५ वटा जेट मेसिन सञ्चालनमा ल्याएको छ । १३० हर्सपावर क्षमता र युरो मापदण्ड ४ बमोजिमका जेट मेसिन ५ हजार लिटर क्षमताका हुन् ।

५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट्याङ्की छन् । थुनिएको ढल तानेर सानो ट्याङ्कीमा राखिन्छ भने ठूलो ट्याङ्कीमा भएको सफा पानीले फोहोर भएको ठाउँमा सफाइ गरिन्छ ।

यो जेट प्रयोगमा आइसकेपछि थुनिएको ढल खोल्दा एउटा जेट फोहोर तान्न र अर्को जेट सफा गर्न जानु पर्दैन । हरेक बर्षको सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसरमा पारेर जेट मेसिनहरु प्रयोगमा ल्याइएका हुन् ।

मेसिनमा रहेको हाइ प्रेसर पम्प र १२० मिटरको जेटिङ् पाइप भएकाले ढल खोल्ने काम छिटो गर्न सकिन्छ । जेटमा भएको स्प्रे गनले विरुवामा भएको धुलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न सकिन्छ । 

काठमाडौंको शान्ति बाटिकाको सफाइमा पहिलो पटक प्रयोग गरिएका यी मेसिनले सञ्चालन शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘भौतिक सामग्रीले मात्र सहरको सफाइ सम्भव नहुने बताउँदै, सबैभन्दा ठूलो कुरा मानसिकता हो ।’

‘फोहोर व्यवस्थापनप्रति जिम्मेवारीवोध गर्ने हो भने, थोरै उपकरणले पनि सरसफाइलाई दिगो बनाउन सकिन्छ । होइन भने जति भौतिक सामाग्री भेला गरे पनि सफाइमा उपलब्धी पाउन सकिँदैन’, मेयर शाक्यले भन्नुभयो ।  

शान्ति बाटिका आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मेयर शाक्यले भन्नुभयो, ‘अहिले हामी रानीपोखरी नजिक उभिएर बोलिरहेका छौँ । यसबेला सरसफाइमा जत्तिकै रानीपोखरी पुननिर्माणको विषयमा सबैको ध्यान गएको छ । आउँदो एक वर्षभित्र यसको पुननिर्माण सिद्धिने गरी काम अघि बढाएका छौँ । छिट्टै सकारात्मक परिणाम दिन्छौँ ।’ 

कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘नागरिकले महसुस गर्ने गरी सफा सहर बनाउन हतार भइसक्यो । हाम्रो काम गर्ने शैलीमा पनि केही परिवर्तन गर्नुपर्छ’, उपप्रमुख खड्गी श्रेष्ठले भन्नुभयो, ‘सडक बढारेर ढलको मुखमा लगेर थुपार्नु हुँदैन । यसले सडक एकछिनलाई सफा होला तर ढल थुनिएर अर्को समस्या सृजना हुन्छ ।’ 

कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले भन्नुभयो, ‘दिवसमा गरिएको कार्यक्रम र त्यस कार्यक्रममा सहभागी मानिसको संख्या हेरेर नभइ त्यसपछि पर्ने प्रभावलाई हेरेर कार्यक्रमको मुल्याङ्कन गर्नुपर्नेछ ।’

कार्यक्रममा नयाँ जेट मेसिन प्रयोग गरेर बिरुवा, सडकपेटी तथा सडक सफाइ गरिएको थियो । सरसफाइ दिवसको अवसरमा पारेर महानगरको वातावरण व्यवस्थापन विभागको अगुवाईमा सवै वडा क्षेत्रमा विशेष सरसफाइ गरिएको थियो ।

वडाध्यक्षको अगुवाईमा वडा क्षेत्रमा र केन्द्रको अगुवाईमा रत्नपार्क रानीपोखरी, बागबजार, पुतली सडक, भृकुटीमण्डप हुँदै बागबजारसम्मको क्षेत्रमा सफाइ गरिएको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • रमेश पोख्रेल

    Sept. 15, 2018, 2:56 p.m.

    राम्रो कार्यको लागि महानगरलाई धेरै धेरै धन्यवाद ! रिबन काट्ने दिनमा मात्रै सिमित नरहोस सुभकामना।

  •  0 Reply

तपाईको प्रतिक्रिया