रसायनिक मल र विषादीको प्रयोगले प्रांगारिक पदार्थ रित्तिँदै

 भदौ ३०, २०७५ शनिबार १३:५०:२९ | विमल बिष्ट
unn.prixa.net

डोटी – रासायनिक मल र विषादीको अत्याधिक प्रयोगले प्रदेश सातमा प्रांगारिक पदार्थ घट्दै गएको छ ।

माटो विज्ञ वामदेव पनेरुका अनुसार रसायनिक मल र विषादीको अत्याधिक प्रयोगले प्रदेश नम्बर ७ को उर्वरभूमिमा प्रांगारिक पदार्थ घट्दै गएको हो । माटोमा प्रांगारिक पदार्थको कमी भइरहेको र विरुवाले माटोबाट आवश्यक अनुसार खाद्य पदार्थ लिन नसक्दा उत्पादनमा कमी हुँदै जाने गरेको विज्ञहरुको दावी छ ।

माटोलाई जिवित राख्दै बढी उत्पादन लिनका लागि माटोको परीक्षण गराउँदै प्रांगारिक मलको प्रयोग गर्नुपर्ने माटो विज्ञ पनेरुले बताउनुभयो । रासायनिक मलको प्रयोग गर्दा कृषकहरुले माटाको परीक्षण गरेर माटोलाई आवश्यकक्ता परेको मलको प्रयोग गर्नुपर्ने भएकाले माटो परीक्षण अनिवार्य रुपमा गर्नैपर्ने उहाँको सुझाव छ ।

‘विरुवाले जिवित माटोबाट प्रांगारिक पदार्थहरु लिने गर्दछ, यही पदार्थको कारण विरुवाले माटोबाट आफूलाई आवश्यक खाद्यबस्तु लिने गर्दछ’, पनेरुले भन्नुभयो, ‘माटोमा जतिधेरै प्रांगारिक पदार्थ भयो, त्यति नै छिटो विरुवाले आफूलाई चाहिने बस्तु सोसेर लिन सक्छ ।’

यहाँका उच्च पहाडी क्षेत्र बाहेकका अन्य ठाउँमा प्राङ्गारिक पदार्थ घट्दै जादा उत्पादनमा समस्या देखिएको कृषि क्षेत्रमा काम गर्नेहरु बताउँछन् । अहिले माटो परीक्षण प्रयोगशालाले प्रदेश नम्बर ७ का ८८ वटै स्थानीय तहमा माटो परीक्षणको कार्यक्रम पनि राखेको छ । तर प्रदेश नम्बर ७ मा रहेको एक मात्र सरकारी स्तरको माटो परीक्षण प्रयोगशालमा रहेका उपकरण लामो समयदेखि बिग्रिएर थन्किएकाले समस्या भएको बताइएको छ ।

तत्काल बढी उत्पादन लिने लोभले रासायनिक मल र विषादी अत्यधिक प्रयोग गर्दा माटोका प्रमुख खाद्य तत्वहरूमा नकारात्मक असर गर्ने गरेको जिल्ला कृषि विकास कार्यालय डोटीका प्रमुख डाक्टर तपेन्द्रबहादुर शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बिषादी प्रयोग गर्नुभन्दा पनि माटोको अम्लियपन हटाउन र माटोमा प्रांगारिक पदार्थको वृद्धि गर्नका लागि कृषि चूर्णको प्रयोग गर्न जरुरी छ ।’ माटो परीक्षण गरी माटोको अम्लियपन हटाउन र प्रांगारिक पदार्थ बढाउन सके उत्पादन ५० प्रतिशतले बढ्ने जिल्ला कृषि बिकास कार्यालय डोटीको दाबी छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया