परदेशीका परिवारको मनको उपचार

 भदौ ३०, २०७५ शनिबार १६:३१:४५

मनिका सुनुवार/रामेछाप

समाजमा समस्या जति खालका हुन्छन्, ती समस्याका कारण पनि थरीथरीकै हुन्छन् ।  हेर्दा र सुन्दा साना लाग्ने समस्याहरुले जटिल परिस्थिती निम्तिन पनि सक्छ । कति समस्या, समस्या मात्र नभएर त्यसले समाजमा विकृतिको रुप पनि लिइरहेको छ । 

वैदेशिक रोजगारीले समाजमा ल्याएका समस्या पनि यस्तै खालका छन् । वैदेशिक रोजगारीका नराम्रा पक्ष मात्रै छैनन् । राम्रा पक्ष धेरै छन् । देशको अर्थतन्त्रमा रेमिट्यान्सले ठूलै योगदान दिएको छ । तर देशको अर्थतन्त्रमा योगदान दिइरहेको वैदेशिक रोजगारीले समाजमा निम्तिएका समस्यालाई नकार्न मिल्दैन । 

यस्ता समस्या आउनुमा पनि एउटै कारण छैन । कुनै समस्या सजिलै नियाल्न सकिन्छ भने कति सजिलै नदेखिने समस्या छन् । यस्तै समस्या हो मनको रोग अर्थात मनोसामाजिक समस्या । 

सन्दर्भ रामेछापको भए पनि दिनमा एक हजारभन्दा युवा वैदेशिक रोजगारीमा गइरहेको हाम्रो देशका हरेक क्षेत्रसँग मिल्छ भन्दा गल्ती हुँदैन सायद । रामेछापको सन्दर्भमा विदेश जानेको कुरा गर्ने हो भने पनि वैदेशिक रोजगार बिभागको तथ्याङ्क अनुसार वर्षमा ३ हजार जना भन्दा धेरै कामको खोजीमा विदेश गइरहेका छन्  । रामेछाप पनि वैदेशिक रोजगारीका कारण आउने मनको समस्याबाट अछुतो छैन । 

मनको उपचारको प्रयास

रामेछापमा सन् २०१४ फेबु्रअरीमा वैदेशिक रोजगारीमा जानेहरुको यात्रा सुरक्षित बनाउन सुरक्षित आप्रवासन सामी परियोजनाले विभिन्न खालका कार्यक्रम सुरु गर्‍यो । जुन अहिले पनि चलिरहेको छ । त्यसमध्येको एउटा पाटो हो मनोसामाजिक परामर्श । 

वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवार, गएर फर्किएका व्यक्तिहरुमा पिर, चिन्ता, तनाव हुने समस्या देखिन थालेपछि मनोपरामर्शको तालिम लिएका व्यक्तिहरुमार्फत समस्यामा रहेकाहरुलाई मनोपरार्श दिन थालिएको हो । चार वर्षमा ३ सय २४ जनालाई व्यक्तिगत परामर्श र ९२४ जनालाई सामुहिक परामर्श गरिएको छ । 

‘बन डढेको सबैले देख्छन्, तर मन डडेको कसैले देख्दैनन्’ मनको समस्या अथवा मनोसामाजिक समस्या यही उखान जस्तै हो । विदेशमा गएका परिवारका सदस्यले अनेकौं पीडा खेपिरहेका छन । बाहिरी ओठमा हाँसो देखिए पनि विभिन्न समस्याको कारण भित्री मनमा भने पीडा बोकेर हिँडिरहेका छन् । 

विदेश गएको परिवारको सदस्यको उतै मृत्यु भएमा, चाहेर वा नचाहेरै सम्पर्कविहीन हुँदा, नेपालमा भनेको जस्तो काम र तलब नपाउँदा, अवैधानिक भएर बस्दा, विरामी पर्दा वा दुर्घटनामा पर्दा घरमा परिवारका सदस्यहरुमा तनाव सुरु हुन्छ । 

तनावको कारण त्यतिमा मात्रै सीमित छैन । घरमा हुनेहरु बीचमा कुरा नमिलेर मनमुटाव भइरहने, परिवारमा एकले अर्कालाई हिंसा गर्ने, कामको बोझ, समाजबाट लान्छना खेप्नुपर्ने, दोस्रो विवाह गर्ने, परिवारको साथ सहयोग नपाउँदा एक्लै जिम्मेवारी लिनुपर्ने जस्ता कारणले समस्या सिर्जना भएको पाइन्छ । 

मनोसामाजिक समस्यामा पर्नेहरुलाई चिन्ता लागिरहने, बढी तनाव हुने, आत्महत्याको सोच आउने, समस्या बढदै जाँदा गम्भीर खालको मानसिक समस्या अथवा मानसिक सन्तुलन गुम्ने अनि कुलतमा फस्ने समस्या देखिएका छन् । 

चिन्ता लागिरहने, बढी तनाव हुने जस्ता समस्या मनोसामाजिक परामर्शपछि ठिक हुन्छन् । भएका पनि छन् ।  तर यसरी मनोसामाजिक समस्यामा पर्ने घटेका छैनन्, बढदैछन् । 

समस्या बढे पनि यस्तो कसरी भयो अनि त्यसको न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बुझेका हुँदैनन् ।  त्यसैले मनोसामाजिक समस्याका बारेमा बुझाउनु जरुरी छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया