बञ्चरो प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

 भदौ ३०, २०७५ शनिबार १७:३१:७ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरमा श्रीमानले धारिला हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

भीमदत्त नगरपालिका–९, सिंगापुर टोल बस्ने अन्दाजी ३५ वर्षीय चन्द्रबहादुर पुन मगरले बञ्चरो प्रहार गरी आफ्नै श्रीमती बिमला पुन मगरको हत्या गरेका हुन् । 
शुक्रबार राति श्रीमतीसँग विवाद भएपछि चन्द्रबहादुरले बिमलालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको भीमदत्त नगरपालिका–९, का वडा अध्यक्ष राम नाथले जानकारी दिनुभयो । उहाँका अनुसार चन्द्रले रक्सी खाएर सधँै घरमा झगडा गर्ने र श्रीमतिलाई कुटपिट गर्ने गरेका थिए ।

श्रीमतिको हत्या गरी चन्द्रबहादुर फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताउनुभयो । उहाँले घटनाका बारेमा बुझ्न एसपीको टोली घटनास्थल पुगेको बताउनुभयो ।

सिंगापुर टोल चुरे क्षेत्रमा पर्दछ । यो टोलमा पुग्न यातायातको असुविधा छ । ब्रह्मदेवबाट ३ घण्टा हिडेर जानुपर्ने भएकाले शवलाई बोकेर ल्याउन काम भइरहेको वडा अध्यक्ष नाथले बताउनुभयोे । 

पुनका ४ जना छोरा छन् । जेठो छोरो कामका लागि कैलालीको धनगढीमा रहेको र घरमा साना ३ जना साना छोरा मात्रै भएकाले उनको जेठो छोरो आएपछि मात्रै शवलाई पोष्टमार्टमका लागि लगिने वडा अध्यक्ष नाथले बताउनुभयो । 

यता, शवलाई पोष्टमार्टका लागि महाकालि अञ्चल अस्पतालमा ल्याउने काम भइरहेको प्रहरीको भनाई छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया