यातायात बन्द गरेर यात्रुहरु अलपत्र पार्ने व्यवसायी प्रहरीको फन्दामा

 बैशाख २१, २०७५ शुक्रबार १९:३४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, वैशाख २१ – सार्वजनिक यातायात सञ्चालनमा अवरोध पुर्याएर यात्रुहरुलाई अलपत्र पार्ने यातायात व्यवसायीहरु देशभरबाट पक्राउ पर्ने क्रम जारी छ ।

सार्वजनिक यातायात नचलाएकाले अन्य स्थानमा जस्तै प्यूठान, कपिलवस्तु र वाग्लुङबाट पनि विभिन्न यातायात व्यवसायी पक्राउ परेका छन् ।

 

प्यूठानका ५ व्यवसायी प्रहरी हिरासतमा 

सार्वजनिक सवारी साधन सहज रुपमा सञ्चालनमा अवरोध पुर्‍याएको अभियोगमा यातायात व्यवसायीलाई पक्राउ गरिएको हो । प्रहरीले स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समिति प्यूठानका महासचिव चन्द्रमान श्रेष्ठसहित ५ जना यातायात व्यवसायीलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरुलाई प्यूठान नगरपालिकास्थित बिजुवारबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ गरेर उनीहरुलाई जिल्ला प्रहरी कार्यालय खलंगा लगिएको छ । 

प्रनाउ पोख्रेलका अनुसार यातायात व्यवसायीहरुले नमस्ते यातायात प्रा.लि. प्यूठानका सवारीलाई सहज रुपमा चल्न नदिएको आरोप छ ।

पक्राउ गरिएकोबारे बुझ्दा स्वर्गद्वारी यातायात व्यवसायी समिति प्यूठानका महासचिव चन्द्रमान श्रेष्ठले आफूसहित कोषाध्यक्ष र अन्य ३ जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको बताउनुभएको छ । श्रेष्ठले केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा स्वर्गद्वारी समितिले आफ्ना सवारी नचलाएको जानकारी दिनुभयो । स्वर्गद्वारी बाहेक नमस्ते प्यूठान प्रालिका गाडीहरु भने चलेका छन् । बन्दको कारण सर्वसाधारणहरु बीच बाटोमै अलपत्र परेका छन् ।

 

कपिलवस्तुबाट ४ व्यवसायी पक्राउ

त्यसैगरी सार्वजनिक सवारी नचलाएका कारण कपिलवस्तुबाट ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कृष्णनगर यातायात व्यवसायी समितिका महासचिव रामदास चौधरी, कपिलवस्तु यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष अब्दुल कलाम खाँ, सवारी धनी मायादेवी गाउँपालिका वडा नं. २ का ईस्तियाज शेख र सिद्धार्थ यातायात व्यवसायी समितिका कर्मचारी शंकर कार्की रहेका छन् ।

कृष्णनगर यातायात व्यवसायी समितिका महासचिव चौधरी पक्राउ परेपछि सो समितिका सवारी साधनहरु सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष गैरेले बताउनु भयो ।

पक्राउ परेका यातायात समितिका पदाधिकारी र कर्मचारीलाई हाल प्रहरी नियन्त्रणमा राखी यातायात सुचारु गर्न प्रहरीले निर्देशन दिएको छ ।

 

बागलुङका ३ व्यवसायी पनि फन्दामा 

यातायात सिण्डिकेटको पक्षमा रहेर सार्वजनिक सवारी साधन नचलाउने धौलागिरी यातायात बस व्यवसायी समितिका अध्यक्ष उमेश केसी, धौलागिरी जीप व्यवसायी समितिका अध्यक्ष बिष्णु अधिकारी र धौलागिरी ट्याक्सी व्यवसायी समितीका अध्यक्ष सन्तबहादुर पाख्रिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

गृह मन्त्रालयको आदेश अनुसार सार्वजनिक सवारी साधन बन्द गर्ने कार्यमा सम्लग्न यातायात व्यवसायी सम्वद्ध समितिका प्रमुखलाई नियन्त्रणमा लिएको प्रहरी नायब निरिक्षक उज्वल पौडेललले जानकारी दिनुभयो । 

यातायात व्यवसायीले आव्हान गरेको यातायात बन्दका कारण शुक्रवार बागलुङ बजारमा आंशिक प्रभाव परेको थियो ।  धौलागिरी बस व्यवसायी, धौलागिरी जिप व्यवसायी र धौलागिरी ट्याक्सी व्यवसायी समितिका सवारी साधन सञ्चालन नभए पनि बागलुङ भगवती यातायात सेवाका गाडीहरु भने लामो छोटो दूरीमा दिनभर सञ्चालन गरिएको थियो । प्रयाप्त सवारी साधन सञ्चालन नहुँदा बिभिन्न गन्तव्यमा हिँडेका यात्रुहरुले निकै सास्ती पाएका थिए ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया