पहिरोका कारण ८ परिवार विस्थापित

 भदौ ३०, २०७५ शनिबार १९:०:३ | किरण लोहनी
unn.prixa.net

गोरखा – पहिरोका कारण गोरखाको दुर्गम सिर्दीबासका ८ परिवार विस्थापित भएका छन् ।

चुमनुब्री गाउँपालिका–३, सिर्दिबासको घट्टेखोलामा शुक्रबार साँझ साढे ७ बजेतिर आएको बाढी र पहिरोले ११ घर डुबाएको थियो । त्यसमध्ये ८ घरका बासिन्दालाई अन्यत्रै सार्नु पर्ने देखिएको गाउँपालिका उपप्रमुख कुमारी गुरुङले बताउनुभयो ।

स्थानीय उम्बा गुरुङ, ज्ञानु घले, राजकुमार गुरुङ, बहादुर गुरुङ,कुमारी गुरुङ, रामबहादुर गुरुङ, सूर्यमान गुरुङ र कालीमाया गुरुङको परिवार विस्थापित भएका हुन् । उनीहरुलाई घट्टेखोला बगरमा पाल टाँगेर अस्थायी बसोबासको ब्यबस्था मिलाएको उहाँको भनाई छ ।

तत्कालका लागि प्रहरी, रेडक्रस, मनासलु संरक्षण क्षेत्र आयोजना एमक्याप, गाउँपालिकालगायतको सहयोगमा  त्रिपाल टाँगेर बसोबासको व्यबस्था मिलाएको उप–प्रमुख गुरुङले बताउनुभयो । पूर्ण रुपमा क्षति पुगेका घरबाट खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडालगायतका सर–सामान निकालिएको छ ।

विस्थापित भएकाले तत्कालका लागि छरछिमेकसँग चामल पैंचो गरेर खाएका छन् । घरबाट भाँडाकुँडा र खाद्यान्न निकाल्न नसकेका परिवारलाई गाउँपालिकाले सहयोग गर्र्ने उपप्रमुख गुरुङले बताउनुभयो ।

केही दिनदेखिको अविरल वर्षापछि शुक्रबार साँझ एक्कासी पहिरो आएको हो । ठाडोखोला बढेकाले स्थानीय अहिले पनि त्रसित छन् । घट्टे खोलामा झण्डै ७० घरधुरीको बसोबास छ ।

तत्कालका लागि विस्थापितलाई बगरमा व्यवस्थापन गरे पनि दीर्घकालीन बसोबासको व्यवस्था मिलाउन अध्ययन थालिने गाउँपालिका उप–प्रमुख गुरुङले बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया