निर्मलाको पक्षमा न्याय माग्दै म्याग्दीमा पनि विरोध प्रदर्शन

 भदौ ३०, २०७५ शनिबार १९:२८:५५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै शनिबार म्याग्दीमा विरोध प्रदर्शन भएको छ ।

निर्मला पन्तको न्यायको माग राख्दै देशैभर महिला तथा बालबालिकामाथि भैरहेको हिंसा, बलात्कार र हत्याको विरोधमा म्याग्दीका महिलाहरुले सदरमुकाम बेनीमा विरोध र्‍याली आयोजना गरेका हुन् ।

र्‍यालीमा सहभागी महिलाहरुले बलात्कार र हत्याको विरुद्धमा चर्को रुपमा आवाज उठाएका छन् । उनीहरुले बलात्कारीलाई सामाजिक बहिष्कार गरौं, महिलालाई रेप होइन सेभ गरौं, दोषीलाई कडा कारबाही गर, शान्ति सुरक्षा कायम गर, महिलामैत्री कानुन तत्काल कार्यान्वयन गर्नुपर्ने र कानुनी राज्यको स्थापना हुनुपर्ने जस्ता नाराहरु लगाएका थिए ।

 

महिलाहरुले टाउकोमा कालो पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका थिए । निर्मलालाई बलात्कार गरी हत्या गरेको २ महिना बितिसक्दा पनि अझैसम्म दोषी पत्ता लगाएर कारबाही गर्न नसकेकोमा महिलाहरुले सरकारप्रति आक्रोश पोखेका छन् ।

प्रर्दशनीमा हत्यारालाई तत्काल पक्राउ गरी कडा कारबाही गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो । प्रर्दशनकारीहरुले निर्मलालाई न्याय नदिएसम्म सरकार विरुद्धको प्रर्दशन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

कोणसभामा बोल्ने महिला अधिकारकर्मीहरुले दिनानुदिन समाज असुरक्षित बन्दै गैरहेको हुँदा सुरक्षाको प्रत्याभूति दिलाउनका लागि राज्यको ध्यानाकषर्ण पनि गराएका थिए ।

बेनीको शहीदस्तम्भ चोकबाट सुरु भएको महिलाहरुको र्‍यालीले सदरमुकाम बेनीबजारको परिक्रमा गरी आवारोडमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै म्याग्दीको बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले पछिल्लो समय देशमा महिला हिंसाका घटना बढेको हुँदा घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

 

उहाँले निर्मला पन्तका दोषीलाई कारबाही गरी पीडित परिवारलाई न्याय दिलाउन माग गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया