नवलपरासीको सुस्ता गाउँपालिकामा कर वृद्धि शुन्य !

 भदौ ३०, २०७५ शनिबार २०:४९:५० | बृजराज कुशवाह
unn.prixa.net

नवलपरासी – स्थानीय तहहरुमा भएको चर्को कर वृद्धिले नागरिक मारमा परेको चर्चा चलिरहँदा नवलपरासीको सुस्ता गाउँपालिकाले भने करको वृद्धिदर शून्य प्रतिशत बनाएको छ ।

गाउँपालिकाले निर्धारण गरेको करका शीर्षक र दर रेट सार्वजनिक गरेको छ । गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेले गएको आर्थिक वर्ष २०७४/०७५ मा भन्दा यस वर्ष कतिपय कर कम गरिएको बताउनुभएको छ । बाहिर हल्ला भएजस्तो साइकल, हाँस, कुखुरालगायत कुनै पनि बस्तुमा कर नलगाइएको उहाँले बताउनुभयो । 

गाउँपालिकाले गएको वर्ष सुकुम्बासी प्रयोजनको सिफारिसमा २ सय रुपैयाँ कर लगाएकोमा यस वर्ष निःशुल्क गरिएको बताउनुभयो । सुस्ता गाउँपालिकामा धेरै किसानहरु रहेकोले कृषिजन्य उत्पादनको पैठारीमा लाग्दै आएको निकासी कर समेत हटाएर निःशुल्क बनाइएको छ ।

केरा किसानहरुलार्इ ५ लाख रुपैयाँ अनुदानको व्यवस्था गरेको र बीमा, तालिम र अवलोकन भ्रमणको लागि समेत गाउँपालिकाले सहयोग गरेको पाण्डेको भनाई छ । केरा किसानहरुले बजार नपाएको गुनासा आएकोले शीत भण्डार निर्माण गर्नका लागि ५० लाखभन्दा बढी रकम विनियोजन भएको र प्रदेश सरकारको समेत सहयोगमा निर्माण प्रकृया सुरु हुने अध्यक्ष पाण्डेले बताउनुभयो ।

सुस्ता गाउँपालिकाले एकीकृत सम्पत्ति कर समेत नलगाएको र नागरिकलाई करको बोझ नपार्ने गरी अगाडि बढेको उहाँको भनार्इ छ । सुस्ता गाउँपालिकाले जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराई, निःशुल्क स्वास्थ्य उपचार सिफारिस, अपाङ्ग परिचयपत्र सिफारिस, सुकुम्बासी प्रयोजनको सिफारिस सामाजिक सुरक्षा परिचयपत्र तथा नविकरण निःशुल्क रहेको जनाएको छ । जन्म, मृत्यु, बसाइँसराई को लागि ३५ दिन भित्र दर्ता नगराएमा ५० रुपैयाँ जरिवाना लाग्ने गाउँपालिकाले जनाएको छ ।

सुस्ता गाउँपालिकाले अहिले ३० वटा शीर्षकमा मात्र कर लगाएकाले त्यसभन्दा बाहिर कुनै पनि शुल्क तथा कर नलिएको अध्यक्ष पाण्डेले प्रष्ट पार्नुभएको छ । पाण्डेले अन्य स्थानीय तहको तुलनामा सुस्तामा कम कर लगाइएको भन्दै कोही कसैलाई पनि बाहिर आएको हल्लाको पछाडि नलाग्न र भ्रममा नपर्न आग्रह समेत गर्नुभएको छ ।

पूर्वाधार विकासका क्षेत्रमा स्थानीय दर रेट अनुसार काम गर्दा जिल्ला दर रेट भन्दा झण्डै तीन करोड बढीको थप काम गरिएको पाण्डेले बताउनुभयो । सुस्ता गाउँपालिकामा सबै वडाहरुमा समान कर लगाइएको र सबै जनप्रतिनिधिहरु जुनसुकै पार्टीबाट निर्वाचित भए पनि एक ढिक्का भएर अगाडि बढेको पाण्डेले बताउनुभयो ।

करको विषमा आइरहेका विरोधका स्वरहरु सुस्ता गाउँपालिकामा विरोधका लागि मात्र भएको र त्यसमा कुनै सत्यता नभएको पाण्डेको भनाई छ । आफूहरुले गाउँपालिकाका नागरिकको क्षमतालाई बुझेर वैज्ञानिक ढंगले कर निर्धारण गरिएकोले कुनै समस्या नआउने समेत पाण्डेले जिकीर गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

बृजराज कुशवाह

बृजराज कुशवाह नवलपरासी सुस्ता पश्चिमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

 

तपाईको प्रतिक्रिया