अख्तियारमा शिक्षा मन्त्रालयका भ्रष्टाचारका उजुरी धेरै

 जेठ २१, २०७५ सोमबार १६:४८:४३ | उज्यालो सहकर्मी

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा भ्रष्टाचार भएको उजुरी सबैभन्दा बढी परेको खुलासा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायमा सबैभन्दा बढी भ्रष्टाचार भएको उजुरी आएको खुलासा गर्नु भएको हो । सोमबार काठमाडौंमा रहेको आयोगको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उहाँले त्यसमध्ये अस्थायी शिक्षक नियुक्तीमा भ्रष्टाचारलगायतका अनियमितता भएको उजुरी सबैभन्दा बढी रहेको पनि स्पष्ट पार्नुभयो ।

शिक्षक नियुक्ती, भवन निर्माण, छात्रावृत्ति लगायतका अनुदान सहायताको रकममा अनियमितता हुने गरेको उजुरी सबैभन्दा बढी रहेको अख्तियारको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी सामाजिक सुरक्षा भत्ता दुरुपयोगको उजुरी पनि उल्लेख्य रहेको अख्तियारले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत अहिलेसम्म सबैभन्दा बढी ३ हजार ४४ वटा उजुरी परेको पनि प्रवक्ता दंगालले जानकारी दिनुभयो ।

आयोगमा अहिलेसम्म कुल १६ हजार ८ सय ८ वटा भ्रष्टाचार सम्बन्धी उजुरी परेको छ । त्यसमध्ये अघिल्लो आर्थिक वर्षको ७ हजार ७ सय १९ वटा रहेका छन भने चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ९ हजार ८९ वटा उजुरी परेका छन । प्रवक्ता दंगालले अहिलेसम्म भ्रष्टाचार सम्बन्धी करिब ५४ प्रतिशत उजुरी फस्र्याैट गरिएको पनि जानकारी दिनुभयो ।

अख्तियारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि सबैलाई साथ दिन पनि आग्रह गरेको छ । प्रवक्ता दंगालले भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक सूचना उपलब्ध गराउन संचारकर्मीहरुलाई पनि आग्रह गर्नुभयो । आयोगले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश स्तरीय गोष्ठी कार्यक्रम पनि सम्पन्न गरिएको जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया