बैंसालु स्यार्पुु (फाेटाे फिचर)

 भदौ ३१, २०७५ आइतबार १४:४३:४ | राजु लामिछाने
unn.prixa.net

पश्चिम रुकुम – स्यार्पु, यतिबेला बैंसले मैमत्त छ । कोरीबाटी चट्ट परेकी, पोटीला गाला, लोलिते बोली, टम्म परेको बक्षस्थल, गाजल, लाली र पाउडरले सिंगारिएकी ।

बैंसालु उमेरकी स्यार्पुले यतिबेला सबैका नजरलाई एक टक बनाइरहन्छ । हेरिरहुँ लाग्ने । वर्षा लागेसँगै फक्रिएको स्यार्पुको बैंसले हर तन्नेरी (पर्यटक)को मन लोभ्याउने गरेको छ, पर्यटकहरु पनि उनको काखमा पुगेपछि उनैसँग घरबार जोड्न आतुर हुन्छन् ।

२.६ वर्ग किलोमिटरमा फैलिएको स्यार्पुको छाती टमक्क परेको छ । सिमैछरीबाट दादुरे हुँदै झर्ने निश्चल पानीले स्यार्पुलाई बासनामय बनाएको छ । स्पार्पुको छाती सुम्सुम्याउँदै कहिले डुङगा चड्ने त कहिले पौडी खेल्ने तन्नेरीहरु स्यार्पुकै अंगालोमा बेरिरहन मन पराउँछन् । लाग्छ, बैंसालु स्पार्पुको चुम्बनले तन्नेरीहरु पानी–पानी बनेका छन्, उनीहरुको मन आनन्दित भएको छ ।

स्पार्पु गाउँ र दहगाउँले काखमा सुम्सुम्याएर हुर्काएकी स्पार्पु कर्णाली प्रदेशकै सुन्दरी हुन् । दिनभर स्पार्पुसँग रमाएर फर्कँदा दह ढल्नेबाट बगेको दहीजस्तै पानीले स्यार्पु छोड्न दिँदैन, लाग्छ एकनाश स्पार्यु हेरिरहुँ ।

रुकुम पश्चिमको बाँफिकोटमा रहेको सुन्दर स्यार्पुको शोभा बढेको छ यतिबेला । बाँफिकोट गाउँपालिकाको वडा नम्बर तीन र पाँचमा फैलिएको यो ताल विशेष गरी बर्खायाममा हेर्न लायक हुन्छ । स्यार्पु तालको आकार बर्खा र हिउँदमा फरक हुन्छ, आकार मात्र होइन रंग पनि बदल्छ स्यार्पुले ।

भरिभराउ तालको भदौदेखि असोज महिना भरी अवलोक गर्न सकिन्छ । त्यसपछि तालको आकार विस्तारै घट्दै जान्छ । हिउँदमा पनि ताल निकै रमणिय देखिन्छ । बजारको सधैँको कोलाहल, हिलो, धुलो र धुँवाको सामना गरिरहेकालाई घुमघाम तथा रिफ्रेसका लागि यो ठाउँ निकै उपयुक्त छ ।

 

तालको सुन्दरता अवलोकण गरेर सारा दुःखलाई भुलाउन सकिन्छ भने आफैले बोटिङ गरेर अझ धेरै मजालिन सकिन्छ । परम्परागत काठका डुंगा विस्थापित गरेर ताल अवलोकनका लागि आउनेहरुले र्‍याफ्टिङ र आधुनिक डुंगाबाट स्यार्पुको काखमा रमाउने व्यवस्था छ ।

तालमा घुम्नका लागि गएकाहरुले धीत मरुञ्जेल र्‍याफ्टिङ र बोटिङको मज्जा लिन सक्छन् । विशेषगरी तालबाट काठका डुंगा विस्थापित गरेर आधुनिक डुंगा राखिनु तथा खान र बस्नका लागि होमस्टेहरु संचालन गरिनुले यहाँ घुम्न आउनेहरुको संख्यामा ह्वात्तै बृद्धि भएको होमस्टे संचालक यज्ञबहादुर मल्ल बताउनुहुन्छ ।

 

हिमालबाट बगेर आउने पानी तालमा मिसिने भएका कारण यहाँ स्नान गर्दा स्वास्थ्यका लागि फाइदाजनक रहेको पनि स्थानीयको विश्वास छ । पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण केन्द्र रुकुमका संस्थापक सचिव गोपाल केसीले जडिबुटीसहितको पानी तालमा मिसिने भएकोले यसको छुट्टै महत्व रहेको बताउनुहुन्छ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको स्यार्पुबारे प्रचार गर्न बाँफिकोट गाउँपालिकाले आउँदो असोज ११ गतेदेखि १५ गतेसम्म स्यार्पु पर्यटन महोत्सव सञ्चालन गर्दैछ । स्यार्पु तालको थप व्यवस्थापनसहित प्रचार प्रसार गरी पर्यटक भित्र्याउन सकेकामा कर्णाली सरकारले घोषणा गरेको कर्णाली पर्यटन वर्ष सफल पार्न पनि सहयोग पुग्ने छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • Gopal kc

    Sept. 16, 2018, 7:32 p.m.

    हो साँच्ची स्यार्पु, यतिबेला बैंसले मैमत्त छ । कोरीबाटी चट्ट परेकी, पोटीला गाला, लोलिते बोली, टम्म परेको बक्षस्थल, गाजल, लाली र पाउडरले सिंगारिएकी । यदि तपाई पनि यी स्यार्पूलाई चुम्न चाहनुहुन्छ भने कृपया एकचोटी अनि स्यार्पू महोत्सव सम्म पक्कै चुम्नुस््् । न्यूजका लागी लाखौ लाख धन्यवाद

  •  0 Reply
  • गाेपाल के,सि

    Sept. 16, 2018, 4:01 p.m.

    राजु सर धेरै धेरै धन्यवाद ,तपाईं हामी सवै मिलेर यति सुन्दर प्रकृतिको सरक्षण गर्न राज्लाइ सहयोग सहयाेग गराै सवै सवैकाे भलाे हुनेछ

  •  0 Reply

तपाईको प्रतिक्रिया