जनप्रतिनिधि अध्यक्ष भएको सहकारीमा लाखौं रुपैयाँ घोटाला भएको आशंका

 भदौ ३१, २०७५ आइतबार १७:८:३१ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको पाँचखपन नगरपालिका–७, मा रहेको निमनगडी साना किसान कृषि सहकारीमा लाखौं रुपैयाँ घोटाला भएको भन्दै शेयर सदस्यहरुले लेखापरीक्षण गर्न आग्रह गरेका छन् ।

सहकारीका अध्यक्ष कृष्णबहादुर खड्काले लामो समय हिसाबकिताब नदेखाएको र आर्थिक वर्ष २०७२÷०७३ मा ३६ लाख ७० हजार ९ सय ६२ रुपैयाँ बेरुजु देखिएको शेयर सदस्यहरुले आरोप लगाएका छन् । शेयर सदस्यहरुले पाँचखपन नगरपालिकाको न्यायिक समितिमा यस विषयमा जानकारी गराउदा न्यायिक समितिका सदस्य मधु तामाङ्ग उल्टै आफूहरुमाथि जाइलागेको शेयर सदस्य सन्तोष बस्नेतले बताउनुभयो ।

मधु कार्यपालिका सदस्य तथा ७ नम्बर वडासदस्य समेत हुनुहुन्छ । न्यायिक समितिका सदस्य भएर सम्पूर्ण नागरिक्हरुलाई न्याय दिनु पर्ने व्यक्ति नै पक्ष र विपक्षमा लागेको शेयर सदस्य बस्नेतले बताउनुभयो । सहकारीको बारेमा  छलफल गर्न खोज्दा मधु आक्रोशित भएर झगडा गर्न नै आइलागेको स्थानीयहरुको भनाई छ ।

उहाँका श्रीमान हस्तबहादुर तामाङ्ग त्यस सहकारीका पूर्वअध्यक्ष हुनुहुन्थ्यो । हस्तबहादुर स्थानीय जलजला माविका प्रअ समेत हुनुहुन्छ भने मधु सहकारीको आंशिक कर्मचारी भएको रहस्य समेत खुलेको छ ।

मधु वार्षिक ५० हजार रुपैयाँमा सहकारीमा काम गर्ने कर्मचारी भएको रहस्य गएको बिहीबार आफूहरुलाई थाहा भएको शेयर सदस्य बस्नेतले बताउनुभयो ।

सहकारी कार्यालयमा तालाबन्दीपछि सहमति

सहकारीले हिसाब सार्वजनिक नगरेको, लामो समयदेखि साधारणसभा नराखेको र २०७२÷०७३ मा गरिएको लेखा परीक्षणमा लाखौं रुपैयाँ बेरुजु देखिएको भन्दै शेयर सदस्यहरुले गएको बिहीबार ताला लगाएका थिए ।

तर शुक्रबार शेयर सदस्य र सहकारीबीच चार बुँदे सहमति भएपछि ताला खुलाइएको थियो । १५ दिन भित्र लेखा परीक्षणले दिएको प्रतिवेदन छानबिन समितिमा बुझाउनु पर्ने, बुझाएको प्रतिवेदनका आधारमा ५ दिनभित्र समितिले छानबिन गरी साधाराणसभा बोलाउनु पर्ने, साधारणसभा बोलाउन नसके विशेष साधारणसभा बोलाएर शेयर सदस्यलाई सहकारीको हिसाब खोज्न जिम्मा दिनुपर्ने सहमतिमा ताला खोलिएको शेयर सदस्य बस्नेतले बताउनुभयो ।

अार्थिक वर्ष २०७२/०७३ मा ३६ लाख ७० हजार ९ सय ६२ रुपैयाँ बेरुजु देखिएको सहकारीका अध्यक्ष खड्काले स्वीकार्नुभएको छ । खड्का स्थानीय तहको चुनावमा वडा नं.७ बाट निर्वाचीत वडाअध्यक्ष समेत हुनुहुन्छ । उहाँ नेकपा एमालेबाट विजयी हुनुभएको थियो । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया