विकासका काममा संघीय सरकारले असहयोग गर्‍याे : मन्त्री बस्नेत

 भदौ ३१, २०७५ आइतबार १७:५२:५४ | किरण लोहनी
unn.prixa.net

गोरखा – पर्याप्त बजेट र कर्मचारी बिनाका कार्यालय मात्रै स्थापना गर्दै आएको गण्डकी प्रदेश सरकारले विकास निर्माणका काम पनि थालेको छ ।

गोरखामा प्रदेश अन्तर्गतको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय स्थापना भएकै दिन एउटा सिंचाई योजनाको पनि शिलान्यास गरिएको हो । प्रदेश सरकारका तर्फबाट जिल्लामै पहिलो विकास योजनाको रुपमा सिरानचोकमा सिंचाई योजना निर्माणको शुभारम्भ गरिएको हो ।

सिरानचोक गाउँपालिका वडा नम्बर ५ मा निर्माण हुने मरुवाफाँट कुनाफाँट लिफ्ट सिंचाई योजनाको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिलान्यास गर्नुभयो । २०७२ सालमै उपभोक्ता समिति गठन गरी योजना निर्माणको पहल गरिए पनि काम सुरु हुन सकेको थिए ।

प्रदेश सरकारले कार्यान्वयन गर्न लागेको जिल्लाकै पहिलो योे योजनाका लागि चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजेट र अख्तियारी आइनसके पनि योजनाको अरु प्राविधिक काम शुरु भैसकेको सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख पुरुषोत्तमप्रसाद उपाध्यायले बताउनुभयो । 
योजनाको कुल लागत भने १ करोड ३९ लाख १७ हजार रुपैयाँ रहेको छ । यो वर्ष विनियोजित बजेटले ट्याङ्की निर्माण, पाइपलाइन विस्तार, पम्प हाउस निर्माण लगायतका काम थाल्ने र अर्को वर्ष निर्माण सम्पन्न गर्ने डिभिजन प्रमुख उपाध्यायको भनाई छ ।

दरौंदी नदीको पानी लिफ्टिङ प्रविधिबाट तानेर ६ सय भन्दा बढी रोपनी खेतमा सिंचाई सुविधा पुर्‍याउने उदेश्य रहेको उहाँले बताउनुभयो । त्यो योजना बनेपछि ९९ घरधुरीका ८ सय नागरिक लाभान्वित हुने अनुमान गरिएको छ । प्रदेशकै पहिलो विकास योजनाको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अब प्रदेश सरकार पनि नागरिकको घरघरमा आइपुगेको बताउनुभयो ।

‘संघीय सरकारले असहयोग गर्‍यो’

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले संघीय सरकारको सहयोग नपाएका कारण प्रदेश सरकारले गति लिन नसकेको बताउनुभएको छ ।

सरकार गठन भएको लामो समयसम्म पनि कर्मचारी नपठाएर संघीय सरकारले प्रदेश सरकारलाई असहयोग गरेको उहाँको गुनासो छ । अब केही सातामा कर्मचारी आइपुग्ने र विभिन्न जिल्लामा स्थापना भएका प्रदेश सरकारका कार्यालयले नियमित काम थाल्ने उहाँको भनाई छ ।

‘चैत २८ मा कर्मचारी आउँछ भनियो भएन, असार २८ कु¥यौं आएनन् अब भदौ सकिन लाग्दा समेत कर्मचारी पाएनौं’, मन्त्री बस्नेतले भन्नुभयो, ‘अब चाहिँ अपुग सबै कर्मचारी आइपुग्ने विश्वास लिएका छौं, एक दुई हप्तामा प्रदेश सरकारको कामले गति लिन्छ ।’

गोरखा सदरमुकाममा गण्डकी प्रदेश अन्तर्गतको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको उद्घाटन गर्दै मन्त्री बस्नेतले स्थानीय सरकारसँग मिलेर काम गर्ने बताउनुभयो । कार्यालय उद्घाटन गर्दै उहाँले नागरिकका काममा एक मिनेट पनि ढिलो नगर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

प्रदेश सरकारका कार्यालय स्थापनाबाट स्थानीय तहहरु असन्तुष्ट बनेको खबरहरु आएको भन्दै उहाँले सबै तहको सरकारले नागरिकका लागि मिलेर काम गर्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले स्थानीय तहको कामको पनि सुक्ष्म रुपमा अध्ययन गरिरहेको भन्दै उहाँले छिट्टै स्थानीय तहका कामको पनि अनुगमन थाल्ने बताउनुभयो ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा केही साताभित्रै प्रदेश सरकारका कार्यालयहरु स्थापना हुने उहाँले बताउनुभयो । एकसाताभित्रै भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका शहरी विकास, सडक लगायत कार्यालय पनि स्थापना हुने मन्त्री वस्नेतले बताउनुभयो ।

‘हामी कार्यालय मात्रै खोल्दैनौं’, उहाँले भन्नुभयो, ‘त्यो कार्यालयसँग सम्बन्धित एक एक वटा योजनाको काम पनि त्यही दिनबाट थाल्छौं ।’ उहाँका अनुसार आज स्थापना भएको सिंचाई डिभिजन कार्यालयले पनि एउटा सिंचाई योजना निर्माणको काम शुरु गरिसकेको छ ।

डिभिजनमा राजपत्राङ्कित द्धितीय श्रेणीका एक कार्यालय प्रमुखसहित दुई इञ्जिनियर, तीन सब इञ्जिनियर, एक लेखापाल, नासु, खरिदारसहित ८ कर्मचारीको दरबन्दी रहेको छ ।

त्यस कार्यालयले सिंचाई योजना निर्माण, जलउत्पन्न प्रकोप नियन्त्रण, उर्जा लगायतको क्षेत्रमा काम गर्नेछ । पुरानै सिंचाई विकास डिभिजन कार्यालय भएको भवनमा नयाँ कार्यालय स्थापना गरिएको हो ।
 

अन्तिम अपडेट: चैत १९, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया