ए डिभिजन लिगको पुरस्कार राशी घट्याे, अन्य सुविधा बढ्याे

 भदौ ३१, २०७५ आइतबार १८:४९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - आउँदाे असाेज १३ गतेदेखि हुने ए डिभिजन लिगको विजेताको पुरस्कार राशी घटाए पनि अखिल नेपाल फुटबल संघ एन्फाले अन्य सुविधा भने बढाएको छ ।

एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै उपाधि विजेताले नगद ५० लाख प्राप्त गर्ने जानकारी दियो ।  

करिब चार वर्षको अन्तरालमा पहिलो पटक आयोजना हुन लागेको ए डिभिजन लिग उपविजेताले ३५ लाख पाउने छ । यसअघि भएको संस्करणमा विजेताले ७५ लाख पाएको थियो । त्यसको २ वर्षपछि आयोजना भएको राष्ट्रिय लिगको विजेताले १ करोड पुरस्कार पाएको थियो ।

लिग विजेताले ५० लाख पाउँदा उपविजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथोले १५ लाख, पाँचौंले सात लाख र छैटौं हुनेले पाँच लाख पुरस्कार पाउनेछन् ।

एन्फाले लिग फुटबलमा पहिलो पटक हरेक खेलको विजेता टोलीलाई ५० हजार छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । खेल बराबरीमा रोकिएमा भने दुबै टिमलाई १५–१५ हजार बाँढिनेछ ।

ए डिभिजन लिगमा १४ टोलीहरुको सहभागिता रहनेछ । त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ गरी तीन विभागीय, मनाङ, थ्रीस्टार, एनआरटी, सरस्वती, फ्रेण्ड्स, जावलाखेल, मछिन्द्र, संकटा, हिमालयन शेर्पा, च्यासल र ब्रिगेड ब्वाइज क्लब छन् ।

सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्सको मैदान र हलचोकस्थित एपीएफको मैदानमा लिगका खेलहरु सञ्चालन हुनेछ ।

सार्क देशका खेलाडी अनिवार्य

एन्फाले ए डिभिजन लिगमा सहभागी क्लबले विदेशी खेलाडी अनुबन्ध गर्दा कम्तिमा एक जना शार्क देशको हुनु पर्ने प्रावधान अघि सारेको छ । 

एन्फाको लिग कमिटीले यसअघि जस्तै बढीमा चार जना बिदेशी खेलाडी अनुबन्ध गर्न पाउने व्यवस्थालाई निरन्तरता दिएको छ । चार मध्ये तीन खेलाडी एउटा खेलमा मैदानमा उत्रन पाउनेछन् ।

अनुबन्धित हुने चारमध्ये कम्तिमा १ जना खेलाडी दक्षिण एशियाली (सार्क) मुलुकको हुनुपर्ने एन्फा लिग कमिटीको नियमावलीमा उल्लेख छ । तर क्लबले तीन जनामात्र विदेशी खेलाडी अनुबन्ध गरेको खण्डमा यो नियम लागु हुनेछैन । साथै क्लबले तीन जना विदेशी खेलाडी उतार्न पाउनेछ ।

रेलिगेसनबिनाको लिगमा म्याच फिक्सिङ रोक्न एन्फा चनाखो

कर्मा छिरिङ शेर्पा नेतृत्वको प्यानलले एन्फा संहालेपछिको ठूलो प्रतियोगिताका रुपमा लिग हुन लाग्दा यसले सुरुमै विवादको रुप लियो, कारण– रेलिगेसन बिनाको लिग ।

क्लबको सहमति र फिफा एएफसीको अनुमतिमा एन्फाले रेलिगेसन बिनाकै लिग गर्दैछ । तर, त्यसलाई हरसम्भव व्यवस्थित गर्न र लागेका आरोपहरुको पुष्ट्याईँ हुन नदिन एन्फाको लिग कमिटी प्रयासरत छ ।

आइतबारको पत्रकार सम्मेलनमा एन्फा लिग कमिटीका संयोजक विज्ञानराज शर्माले रेलिगेसन बिनाको लिगमा निम्तनसक्ने सबै समस्याको सामना गर्ने गरी कार्यदल तयार पारिएको दावी गर्नुभयाे ।

उनले लिगका हरेक खेलहरु एन्फाको इन्टिग्रिटी कमिटीको निगरानीमा खेलाइने, भिडियो फुटेज छानबिन गर्ने तथा शंकास्पद भेटिएमा तत्काल कारबाही गर्ने बताउनुभयाे । मैदानमा सीसीटीभी क्यामराबाट निगरानी राखिने छ ।

एन्फाले पनि सम्भावित मिलेमतो रोक्नका लागि लिगको अन्तिममा रहने टिमलाई जरिवानाको निर्णय गरेको छ ।

गत साउन ३० गते चितवनमा सम्पन्न साधारणसभाले पारित गरेको भन्दा फरक स्वरुपबाट एन्फाले लिगको अन्तिममा रहेका क्लवहरुलाई कारबाही गर्ने भएको छ । त्यतिबेला अन्तिम तीन स्थानका क्लबको अनुदानमध्ये ५ लाख रकम रोक्का गर्ने र क्रमसः ३, २ र १ अंक घटाउने निर्णय गरेको थियो ।

तर, एन्फाले आइतबारको पत्रकार सम्मेलनमा अन्तिमका दुई क्लबलाई मात्र जरिवाना लगाउने भएको छ । जसमध्ये १४औं हुनेले तयारी खर्चबापतको अन्तिम किस्तामध्ये ३ लाख गुमाउनेछ भने १३औं हुनेले २ लाख गुमाउनेछ । त्यस्तै अर्को लिगका लागि २ र १ अंक पनि गुमाउनेछ ।

बंगबन्धु गोल्डकपको सहभागिता अन्योलमा

बंगलादेशको ढाकामा दुई वर्ष अघि भएको बंगबन्धु गोल्डकपको उपाधि जितेको नेपालले अहिलेसम्म पुरस्कार वापतको रकम पाएको छैन । पत्रकार सम्मेलनमा पुरस्कार रकम नपाएसम्म नेपालले सहभागिता नजनाउने महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयाे ।

पुरस्कार वापत नेपालले ५० हजार अमेरिकी डलर पाउनु पर्ने थियो । तर नेपालले २५ हजारमात्र पाएको छ । बाँकी रकम नआएसम्म प्रतियोगितामा सहभागिता नजनाउने महासचिव तुलाधरले बताउनुभयाे ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले बंगलादेश फुटबल फेडेरेसनले आगामी सेप्टेम्बर २८ भित्र पुरस्कारबापतको बाँकी रकम पठाइसक्ने आश्वासन दिएकाले त्यस समयभित्र रकम नआए नेपाली टोलीले बंगबन्धु गोल्डकपमा सहभागिता नजनाउने प्रष्ट पार्नुभएकाे छ ।

बंगबन्धु गोल्डकप आगामी अक्टोबर १ देखि १२ सम्म बंगलादेशको ढाकामा हुनेछ । प्रतियोगितामा नेपालले टिम दर्ता भने गरेको छ ।

प्रतियोगितामा नेपाल प्यालेस्टाइन र ताजिकिस्तानसँगै समूह ए मा परेको छ । दुई वर्ष अघि नेपालले बहराइन यू–२३ टिमलाई हराउँदै उपाधि जितेको थियो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया