प्रदेश सभामा सुशासन विधेयकमा छलफल सुरु, ठाउँको ठाउँ कारवाही गर्ने व्यवस्थाको माग

 असोज १, २०७५ सोमबार ७:१९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – एक नम्बर प्रदेश सभामा  प्रदेश १ को सुशासन गर्न बनेको विधेयक २०७५ माथि सैद्धान्तिक छलफल सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले विधेयकको बारेमा प्रस्ताव राख्नुभएको थियो । प्रस्तावको विषयमा सैद्धान्तिक छलफल सुरु भएको हो । 

छलफलको क्रममा ७ जना सांसदहरुले सुझाव दिएका छन् । सुझाव दिँदै प्रदेश संसद सर्वध्वज साँवाले प्रदेश सरकार सफल असफल भन्ने विषय प्रदेश सरकारले गर्ने गतिविधिमा  भर पर्ने भएकोले त्यसैको आधारमा प्रदेश सरकार अगाडि बढ्नु पर्ने भन्दैे सुशासनको विषय सरकारको सफलता–असफलता सँगै जोडिने बताउनुभयो ।

उहाँले प्रदेश सरकार आफैँ सुशासनको पक्षमा अघि सर्ने हो भने प्रदेश सुशासनलाई कडाई गर्नु पर्ने बताउनुभयो । मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्रीहरुको विषयमा पनि उल्लेख भए पनि मुख्यमन्त्री आफैँले बिगार गरे के गर्ने भन्ने विषय गम्भीर रुपमा आउनुपर्ने उहाँको भनाइ थियो । सांसद साँवाले सुशासनसम्बन्धी कानुन बनाई रहँदा कारवाहीको कुरा नआएकोले त्यो विषय विधेयकमा आउनु पर्ने बताउनुभयो । कारवाही गर्ने विषय मौखिक वा लिखित भन्दा पनि गल्ती गरेकै स्थानमा ठाउँको ठाउँ कार्वाही हुने व्यवस्था मिलाउनु पर्ने उहाँको सुझाव थियो ।

सांसद कुसुम श्रेष्ठले विधेयक सांसदमा आए पनि कसुर गर्नेलाई कारवाही गर्ने व्यवस्था नदेखिएको बताउनुभयो । कुन ऐन तथा कानुनमा टेकेर दण्ड जरिवाना गर्ने हो त्यो प्रष्ट छैन ।  कर्मचारी लक्षित जस्तो देखिएको विधेयकमा राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई तत्काल दण्डित गर्ने व्यवस्था पनि विधेयकमा उल्लेख हुनु पर्ने उहाँको तर्क थियो ।  छलफलमा सहभागी सांसद कुलप्रसाद साँवा, विद्यानन्द चौधरी, बलबहादुर साम्सुहाङ, बिन्दिया कार्कीलगायतले सुशासनको विषय जनमुखी प्रशासनसँग पनि जोडिएको बताए । पछिल्लो समयमा  नीतिगत भ्रष्टाचार मौलाउँदै गएकोले त्यसलाई रोक्नेगरी सुशासन कानुन बन्नु आवश्यक रहेको उनीहरुले बताए ।

जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुको तालमेल नहुँदा एक वर्षमा ५ वटासम्म स्थानीय तहका अधिकृत फेरिएको छ ।  कतिपय सांसदले  संघीय कानुनलाई प्रदेश सरकारले हुबहु ल्याएकोले अध्ययन र विज्ञसँगको परामर्श नपुगेको बताएका छन्  ।

शून्य समयमा बलात्कारका कुरा

शून्य समयममा  बोल्दै सांसद होमकुमारी साँवा र ज्योती सुब्बाले  आफ्नो निर्वाचन क्षेत्र तथा महिलामाथि भएको घटनाको  बारेमा संसदको ध्यानाकर्षण गराएका छन्  ।

सांसद साँवाले भदौ २४ र २५ गते भएको वर्षाको कारण ताप्लेजुङमा धेरै घरहरुमा क्षती पुगेको र त्यसको लागि प्रदेश सरकारले राहत र पुनस्थापनाको ब्यवस्था गर्न माग राख्नुभयो । उहाँले विस्थापितको लागि १० हजारले केही नहुने भन्दै एकसरो टिनको ब्यवस्था गर्न सक्नुपर्ने बताउनुभयो । 

त्यस्तै सांसद सुब्बाले कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको बिषयमा दुई तिहाईको सरकारले पनि केही गर्न नसकेको भन्दै ध्यानाकर्षण गराउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया