नागरिकको गुनासो : खै त संविधानले के दियो ?

 असोज १, २०७५ सोमबार ९:४८:३५ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – सिन्धुलीका सुमन रम्तेल शारीरिक रुपमा अशक्त हुनुहुन्छ । ४० वर्षीया अविवाहित रम्तेलले आफ्नै पौरखले कमाएर खानुपर्छ भनेर कहिल्यै कसैसँग हात फैलाउनुभएन । सिजनमा सिन्धुलीका जंगलबाट सलिफा टिपेर काठमाडौं पुर्याउनुहुन्छ । अनि दिनभरको पोल्ने घाम र धुलोधुवाँमा लगनखेलको बसपार्कमा बेसेर घाँटी सुक्नेगरी कराउनुहुन्छ, ‘सलिफा, सरिफा, सस्तो सस्तो सलिफा ।’ 

देशमा नयाँ संविधान आएको तीन वर्ष भइसक्यो । तर उहाँलाई भने यसको कुनै पनि अनुभूति भएको छैन । उहाँ पहिले पनि यसरी नै सलिफा बेच्नुहुन्थ्यो, अहिले पनि त्यसैगरी सरिफा बेच्नुहुन्छ ।

‘संवधान आएपछि दलित अपाङ्गले केही पाउँछ कि भन्ने आशा थियो, तर कमजोर मान्छेलाई कुनै संविधानले पनि राहत दिन सक्दैन रहेछ’ सुमनले भन्नुभयो, ‘पहिला कांग्रेसलाई जिताइयो, त्यसले केही पनि गर्न सकेन । पछि कम्युनिष्ट आयो, त्यसले पनि केही गर्न सकेन । जति जोगी आए पनि कानै चिरेका ।’ 

उहाँको देब्रे हात बच्चैदेखिको नचल्ने र देब्रे खुट्टा प्यारालाइसिस भएको छ । तर पनि सरकारले ग वर्गको मात्र अपाङ्गता परिचयपत्र दिएको छ । ‘अहिलेसम्म पनि अपाङ्गताको क वर्गको प्रमाण पाउन सकेको छैन । अब बोलीदिने कोही पनि नभएपछि कसले बनाइदिन्थे र हामीलाई क वर्गको परिचयपत्र ?’ 

उहाँले भावुक हुँदै भन्नुभयोे, ‘मान्छे हुनेहरुले एउटा औंला भाँच्चिएको पनि क वर्गको अपाङ्गता परिचयपत्र बनाएका छन् । यस वर्षको महिलाले पाउनुभयो, तपाईं अब अर्को वर्ष आउनुस् भनेर फिर्ता पठाए । एमाले सरकार आए एमालेलाई भन भन्छ, हाम्रो सत्ता आएपछि हामीलाई भन अहिले हाम्रो मान्छे सत्तामा छैनन् भन्छन् । एमालेको सरकार आयो कसैले पनि भनेको सुन्दैनन् । फेरि माओवादीको सरकार आयो त्यसले पनि केही गरेन । जुनसुकै संविधान आए पनि, जुनसुकै शासन आए पनि गरिबको लागि कसैले हेर्ने हैन । अब हामीले सरकारबाट केही माग्नु छैन ।’

कागलाई बेल पाके जस्तो

ललितपुर धापाखेलका ६० वर्षीया बलराम मिजार १३ वर्षको हुँदादेखि जुत्ता सिलाउन थाल्नुभएको हो । संविधान आएको आफूलाई कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेजस्तै भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी माओवादीमा लागेर के के गरेनौं । म आफैंले च्याउ बेचेर पनि त्यतिबेलाका आन्दोलनमा लड्ने भन्नेहरुलाई चन्दा दिएको थिएँ । संविधानसभाको चुनावताका नेताको नजिक भएकाहरु अहिले कार चढेर हिँड्छन् । हामी घरपरिवार त्यागेर केही गर्लान नि त भनेर उनीहरुको पछाडि लाग्यौं । जब उनीहरु सत्तामा गए, अनि हामीहरुलाई बिर्से ।’

उहाँले थप्नुभयो, ‘कति आशा गरेर चुनावमा भागदौड गरेको थिएँ । दिनभरि घाम पनि नभनेर पानी पनि नखाएर आन्दोलनमा गएका थियौं । संविधानको लोभ देखाएर, अधिकार दिने लोभ देखाएर आफूले मात्र खाए । आफ्नै भुँडी भरे । घुम्ने कुर्सीमा बसेपछि हामीले नै उनीहरुलाई बनाएको हो भन्ने भुल्ने रहेछन् । राम्रा राम्रा कुरा फलाकेर उनीहरु सत्तामा जानको लागि संविधान त मात्र बहाना थियो । अब सत्तामा गएपछि सायद उनीहरुले संविधान बनाउदाखेरी के के भनेका थियौं भन्ने बिर्सिसकेका होलान् ।’

देशमा संविधान आएर के भयो !

लमजुङकी बिमला गुरुङ्ग काठमाडौंको ठमेल र असनबाट बच्चा तथा महिलाले लगाउने कपडा किन्नुहुन्छ, अनि बोरामा बोकेर काठमाडौंका विभिन्न ठाउँमा बेच्न जानुहुन्छ । दिनभरी डुल्दा पनि खासै सामान बिक्री नहुँदाको तनाव, कहिले नगरप्रहरीको डर । 

‘देशमा संविधान आएर के भयो र ? यहाँ बाँच्नको लागि यसरी कपडाको बोरा बोक्दै हिँड्नुपर्छ । बेच्नको लागि कतै बसे पनि कतिबेला प्रहरी आउँछ र उठाएर लैजान्छ’ उहाँले भन्नुभयो, ‘सरकारले कि त कमाई खाने व्यवस्था गरिदिनुपर्यो कि त छोराछोरीलाई पढाईदिनुपर्यो । होइन भने संविधान आउनुभन्दा अगाडि पनि त हाम्रो यस्तै अवस्था त थियो नि । कमसेकम त्यतिबेला अहिलेको जस्तो सामान बेच्न अप्ठ्यारो त हुँदैन थियो ।’ 

कहाँ छ हाम्रो देशमा संविधान ?

ललितपुरका ६१ वर्षीया कर्णप्रसाद बजगाईंलाई संविधान आएपछि देश बन्छ जस्तो लागेको थियो । भूकम्पले घर लडाएपछि बनाउन पैसा नभएको र सरकारले दिएको पचास हजार रुपैयाँ यताउती गदैं सिद्धियो । बस्ने घर पनि नभएपछि केही त गर्नुपर्यो भनेर उहाँले लगनखेलको बसपार्क नजिकै सडकपेटी छेउमा बेल्ट, पर्स, माला जस्ता सामान बेच्न थाल्नुभयो । 

‘संविधान आएपछि जनताले सुख र शान्ति पाउनेछन् । देशमा एकदमै आनन्दपूर्ण माहोल होला, छोराछोरीले रोजगार पाउलान लागेको थियो’ उहाँले भन्नुभयो ।

तर अहिले आएर भने भुकम्प पीडितले राहत पनि नपाउदा उहाँलाई अत्यास लागेर लागेको छ । ‘अहिले त देशमा अशान्ति मात्र भईरहेको छ । बलात्कारी पनि सरकारको सुरक्षामा छन् । यो भन्दा बढी लाचारीको कुरा के होला र नेपालीको लागि’ उहाँले भन्नुभयो, ‘यदि संविधान लागू भएको भए त अपराधीलाई कारबाही हुनुपर्ने होइन र ? कहाँ छ हाम्रो देशमा संविधान ?’

यस्तै अवस्था हो भने आफ्ना छोरा नातिहरु भारतको पञ्जामा पर्छन कि भन्ने चिन्ता लागेको उहाँले बताउनुभयो  ।

थाहा छैन संविधान !

‘देशमा संविधान आउँदैमा सबै पुग्ने भए म बुढी मान्छेले यसरी सडक पेटीमा अनार बेच्न रामेछापबाट काठमाडौं किन आउनुपर्थ्याे ?’ ६५ वर्षीया आमाले भनुभयो, ‘आयो होला आउनेको लागि हामीहरुलाई त बुढेशकालमा काम गर्न न त संविधानले रोक्छ । न त यसले नै कमाएर दिन्छ, मलाई थाहा छैन, संविधान संविधान ।’

५५ वर्षीय लक्ष्मी यादव १० वर्षदेखि थापाथली सुकुम्बासी टोलमा बस्दै आउनुभएको छ । यादवका दुवै खुट्टा जन्मजात नै अशक्त भएका कारण ह्विलचियरको सहारामा यताउती गर्नुहुन्छ । रोजगारीको बाटो केही पनि नदेखेपछि रत्नपार्क, सुन्धारातिर बसेर माग्ने काम गर्न थाल्नुभयो । श्रीमती र दुईवटा छोराहरुलाई यसरी नै कमाएको पैसाले पाल्नुपरेको छ । उहाँले संविधान आएपछि त यसरी मागेर खानु नपर्ला, सरकारले कुनै रोजगारीको व्यवस्था गरिदेला भन्ने लागेको रहेछ ।

‘तर सरकारले अपाङ्गता भएकाहरुलाई केही पनि गरेको छैन’ उहाँले गुनासो गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया