सानैमा बुवा गुमाएका सुनिललाई ब्लड क्यान्सर, सहयोगको अपील गर्दै आमा

 असोज १, २०७५ सोमबार १२:४८:३४ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – ब्लड क्यान्सरबाट पीडित शहीदभूमि गाउँपालिका–२ धनकुटाका १६ वर्षीय सुनिल विकलाई उपचारको लागि आर्थिक सहयोग गर्न परिवारले अपील गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै सुनिलको परिवारले सहयोगको अपील गरेका हुन् । 

सुनिल पाँच महिनाको गर्भमा हुदाँ नै उनको बुवा छत्रबहादुरको मृत्यु भएको र आफू एक्लैले छोरा उपचार गर्न नसक्ने भएपछि छोरालाई बचाई दिन सुनिलकी आमा ओमकुमारी शिवाले आग्रह गर्नुभएको छ  । सुनिलका बुवा छत्रबहादुर विकले ओमकुमारी शिवालाई अन्तरजातीय विवाह गरेको भन्दै घरदेखि निकाला गरेपछि विक परिवार भारतको मेघालय पुगेका थिए । भारतको मेघालयको कोइला खानीमा काम गरेर विक परिवारले जीवन यापन गर्दै आएका थिए । यही क्रममा छोरा पाँच महिनाको पेटमा हुदाँ नै श्रीमानको निधन भएको ओमकुमारीले बताउनुभयो ।

छोरा जन्मेर केही ठूलो भएपछि घर फर्किनुभएकी ओमकुमारीलाई तल्लो जातको भन्दै घरमा पस्न नदिएपछि उनी माइत बसेर सुनसरीको धरान झरेर अर्काको काम गरी छोराको पालन पोषण गर्दै आउनुभएको थियो । गएको वैशाख २६ गते छोरा विरामी भएर धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जचाउँन लैजाँदा उनलाई ब्लड क्यान्सर भएको डाक्टरले बताएका थिए । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि एकल महिला ओमकुमारीले ऋण गरेर नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि हरिसिद्धी ललितपुरमा उपचार गराउँदै आउनुभएको छ । 

सुनिलको उपचारमा अहिलेसम्म १६ लाख रुपैयाँ खर्च भैसकेको छ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि हरिसिद्धी ललितपुरमा अहिले छोराको २÷२ दिनमा जाँच गराउँदै आएको र हरेक पटक १५ हजार खर्च लाग्ने ओमकुमारीले बताउनुभयो । ‘श्रीमान्को पहिले नै निधन भई सकेको र बुढेसकालको एकमात्र साहाराको रुपमा रहेको छोराको पनि यो हालत भएपछि मैले कसरी बाँच्ने होला’–ओमकुमारीले आफैँलाई प्रतिप्रश्न गर्नुभयो । छोराको अहिलेसम्म त आफूसँग भएको जायजेथा र साहुसँग ऋण मागेर उपचार गरेँ । अब आफूसँग कुनै विकल्प छैन । त्यसैले मेरो कलिलो छोरालाई बचाई दिन म सबैसँग सहयोगको आग्रह गर्छु –ओमकुमारीले भन्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया