संविधान दिवस : संविधान विरोधी गतिविधि गर्नेलाई कानुनी कारबाही गरिने

 असोज १, २०७५ सोमबार १४:५३:० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – एक नम्बर प्रदेश सरकारले संविधान दिवस मनाउने सन्दर्भमा सबैको अपनत्व हुने गरी नमुना कार्यक्रम गर्ने जनाएको छ ।

सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हिक्मत कार्कीले एक नम्बर प्रदेशले एक नम्बर नमुना कार्यक्रम गरेर देखाउने बताउनुभयो ।

प्रदेश सरकारको आगमन सँगै पहिलो पटक संविधान दिवस प्रयोगको रुपमा लिइएकोले सबैको सहभागितामा संविधान दिवस मनाउन लागिएको मन्त्री कार्कीले बताउनुभयो । 

अहिलेसम्म भएका विभिन्न कार्यक्रममा कम उपस्थित हुने तथा सरकारले आब्हान गर्ने दिपावलीको नागरिक स्तरबाट सहयोग नहुने प्रसङ्गमा मन्त्री कार्कीले संविधान हामी सबैको हो भन्ने प्रत्याभूति नागरिक स्तरमा दिलाउन नसकिएको उल्लेख गर्नुभयो ।

‘सबैको अपनत्व हुने गरी  संविधान दिवस मनाइनुपर्छ’, मन्त्री कार्कीले भन्नुभयो, नागरिकले सरकार प्रति विश्वास गर्न सकेका छैनन्, यो मेरो हो भन्ने अपनत्व गराउन सक्नुपर्छ ।’ 

‘हरेक दिवसहरुलाई आम नागरिकको आस्थाको रुपमा स्थापित गराउने हो तर सबैभन्दा महत्वपूर्ण कुरा भनेको संविधान सबैको आस्थाको केन्द्र हुनुपर्छ । त्यो भयो भने मात्र धेरै काम गर्न सक्छन्’, मन्त्री कार्कीले भन्नुभयो ।

मन्त्री कार्कीले संविधान दिवसमा कुनै पनि संविधान विरोधी गतिविधि भए तत्काल नियन्त्रणमा लिएर ती व्यक्तिलाई कानुनी कारबाही गर्ने बताउनुभएको छ  ।

संविधान दिवस मनाउने सन्दर्भमा प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले प्रदेशमा २, ३ र ४ गते दिवस मनाउन भव्य तयारी गरिएको बताउनुभयो । प्रदेश स्तरको कार्यक्रम प्रदेशको अस्थायी राजधानी विराटनगरमा मनाइने र अन्य सबै १ सय ३७ वटै स्थानीय तहले प्रदेश सरकारको योजना अनुसार संविधान दिवस मनाउने उहाँले जानकारी दिनुभयो ।

५ सय १ सदस्यीय प्रदेश स्तरिय संविधान दिवस मुल आयोजक समितिको संयोजक शेरधन राईले गर्नुहुनेछ । समितिले संविधान दिवस मनाउने बारेमा तयारीलाई तीव्र बनाएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया