संसदमा उठ्याे प्रश्न : गुणस्तरहीन काम गर्ने ठेकेदारलाई कहिले कारबाही हुन्छ ?

 असोज १, २०७५ सोमबार १५:३४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले बाढी, पहिरोले क्षति पुर्‍याएका सडक पुनर्निर्माणको काम तत्काल गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसद यज्ञराज सुनुवारले बाढी, पहिरोले क्षति पुर्‍याएका सडक पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारसँग माग गर्नु भएको हो । दसैं, तिहार जस्ता चाडपर्व आइसकेकाले सडक पुनर्निर्माणको काममा ढिलाई गर्नु नहुने सांसद सुनुवारको भनाई छ ।

त्यसैगरी सांसदहरुले समयमै गुणस्तरीय काम नगर्ने ठेकेदारलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् । सांसद विमला विश्वकर्माले भौतिक पूर्वाधार निर्माणको जिम्मा लिने ठेकेदारले समयमा गुणस्तरीय काम नगर्दा पनि सरकारले कारबाही गर्न नसकेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले गुणस्तरहिन काम गर्ने ठेकेदारहरुलाई कहिले कारबाही हुन्छ भनी सरकारसँग प्रश्न गर्नुभयो । अर्का सांसद भूपेन्द्रबहादुर थापाले कालीगण्डकी नदीमा आएको बाढीका कारण बेनी बजार जोखिममा परेको भन्दै सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । 

उहाँले बजार सुरक्षाका लागि निर्माण गरिएको कंक्रिट वाल एक वर्ष पनि नबित्दै भत्किएको भन्दै त्यो वाल निर्माण गर्ने ठेकेदारलाई आवश्यक कारबाही गर्न पनि सरकारसँग माग गर्नुभयो ।

सांसद महेश्वरजंग गहतराज ‘अथक’ले स्थानीय पूर्वाधार विकास कार्यक्रमको कार्यविधि तथा निर्देशिका तत्काल ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । सरकारले नीति तथा कार्यक्रम ल्याएको चार महिना बित्दा पनि स्थानीय पूर्वाधार विकास कार्यक्रमको कार्यविधि ल्याउन नसकेकोमा उहाँको आपत्ति छ ।

सांसद मीनबहादुर विश्वकर्माले सवारी लाइसेन्स लिएका सवारी चालकलाई पनि ट्राफिक प्रहरीले दुःख दिएको भन्दै कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया