प्रधानमन्त्री ओलीलाई दुईतिहाईको दम्भ नदेखाउन गौतमको चेतावनी

 असोज १, २०७५ सोमबार १६:३४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको जति आलोचना गरे पनि कम हुने टिप्पणी गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद संजयकुमार गौतमले जति आलोचना गरे पनि कम हुने भन्दै सरकारको चर्को आलोचना गर्नु भएको हो ।

सरकारले हत्या, अपरहण घटना नियन्त्रण गर्न नसकेको, पत्रकारहरुलाई पनि दण्डित गरेको, महंगी नियन्त्रण गर्न नसकेको उहाँको आरोप थियो ।

सांसद गौतमले प्रधानमन्त्री केपी ओलीले विपक्षमाथि अरिंगलको गोलो झैं भएर खनिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको भन्दै आपत्ति समेत जनाउनुभयो । उहाँले दुई तिहाईको दम्भ नदेखाउन पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिनुभयो ।

बैठकमा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले सरकारले कैयौं नागरिकको मनछुने काम गर्दा पनि विपक्ष कांग्रेसले विरोध गरेको गुनासो गर्नुभयो ।

उहाँले सरकारका जनपक्षीय निर्णय समेत अदालतले धमाधम उल्टाउने काम गरिरहेको भन्दै आपत्ति जनाउनुभयो । सुनकाण्डका अभियुक्तलाई न्युनतम धरौटीमा रिहा गर्ने काम अदालतबाट भइरहेकोेमा सांसद भुसालको असन्तुष्टि छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया