अहिलेको अवस्थामा राजपाले संविधान दिवस मनाउन सक्दैन : महतो

 असोज १, २०७५ सोमबार १७:१५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन भई आफूहरुका माग पूरा नभएसम्म संविधानमाथिको विरोध जारी रहने बताउनुभएको छ ।

उहाँले अहिलेको अवस्थामा आफूहरुले संविधान दिवस मनाउन नसक्ने स्पष्ट पार्नुभयो । ‘अहिलेको अवस्थामा राजपाले संविधान दिवस मनाउन सक्दैन’, सोमबार नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा  महतोले भन्नुभयो, ‘हाम्रा माग पूरा हुने गरी संविधान संशोधन भएमा मात्रै संविधान दिवस मान्ने छौं ।’

महतोले  मधेशीलगायत पछाडि पारिएका समुदायका माग पूरा गर्नुपर्ने बताउँदै दुई थरीका व्यवहार भइरहेको टिप्पणी गर्नुभयो । अहिलेको सरकार नश्लवादी भएको भन्दै महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन गर्ने समयमा आफूहरुका माग पूरा गर्ने आश्वासन दिएकाले अहिलेसम्म पर्खेको बताउनुभयो ।

सरकार गठन भएको ६ महिनासम्म पनि आफूहरुका माग पूरा नभएको बताउँदै अब केही दिनभित्रै सरकारका बारेमा पार्टीले निर्णय गर्ने बताउनुभयो । उहाँले कैलाली घटनालगायत तराई मधेसका जिल्लामा  प्रतिसोध साँधेर पक्राउ गरिएका नेता कार्यकर्ताको तत्काल रिहाईको माग समेत गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले संविधानमा भएको सीमाङ्कन आफूहरुलाई मान्य नभएको बताउनुभयो । उहाँले टीकापुर घटनामा संलग्नताको आरोपमा पक्राउ गरिएका सांसद रेशम चौधरीलाई अपराध पुष्टि नभएसम्म सपथ ग्रहण गरी संसदमा भाग लिने अवस्था राज्यले बनाउनुपर्नेमा जोड दिनुभयो ।


 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया