‘एलजी सिने सर्कल अवार्ड’ मा किन यस्तो लापर्वाही?

 असोज १, २०७५ सोमबार १८:३:१३ | उज्यालो सहकर्मी

काठमाडौं – चलचित्र क्षेत्रमा जसले राम्रो काम गर्यो उसलाई सम्मान स्वरुप उत्कृष्ट ठहर गरिन्छ र अर्वाड प्रदान गरिन्छ । र हुनु पर्ने पनि त्यही हो । पछिल्लो समयमा चलचित्र क्षेत्रमा धेरै नै अवार्ड कार्यक्रमहरु हुने गरेका छन् । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ, तर पछिल्लो समय भएका अर्वाड कार्यक्रमहरु पैसा कमाउनकै निम्ति भएका हुन् भन्नलायक हुन थालेका छन् ।

हिजो मात्र तामझामका साथ तेस्रो ’एलजी सिने सर्कल अवार्ड’ आयोजना भयो । बलिउड स्टार गोविन्दासमेतको सहभागितामा आयोजना भएको अर्वाड कार्यक्रममा राम्रा चलचित्रभन्दा पनि हाम्रा चलचित्रहरुले अर्वाड प्राप्त गरेको स्पष्टै देखिएको छ ।

कार्यक्रममा नाजिर हुसेनलाई उत्कृष्ट नायकको अर्वाड प्रदान गरियो । त्यो पनि चलचित्र’तिमीसँग’ बाट । जबकी चलचित्र ‘तिमीसँग’का मुख्य नायक भने आकाश श्रेष्ठ हुन् । ‘तिमीसँग’मा नाजिर सह–नायकको भूमिकामा छन् । तर ‘एलजी सिने सर्कल अवार्ड’ मा नाजिरले उत्कृष्ट अभिनेता (हिरो) को अवार्ड हात पारे । नाजिरको अभिनयमा प्रश्न उठाउन खोजिएको होइन, तर एउटा भूमिकामा देखिएका कलाकारलाई अर्कै अवार्ड दिइएकोले मात्रै हो । पपुलर अवार्ड अभिनेता प्रदीप खड्काले पाए । त्यसपछि धेरैले सोचका थिए उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘मंगलम’ बाट अभिनेता पुष्पल खड्कालाइ दिइन्छ , तर त्यो हुन सकेन उनलाई क्रिटिक्स अवार्डमा चित्त बुझाइयो ।

अझ मुख्य कुरा त के छ भने अर्वाड कार्यक्रमा चलचित्र ‘तिमीसँग’लाई उत्कृष्ट चलचित्र घोषित गरियो । तर शिशिर राणा निर्देशित चलचित्र ‘तिमीसँग’बक्स अफिसमा नराम्ररी पछारिएको चलचित्र हो । न त यसले सुखद व्यापार गरेको थियो, न त दर्शकहरुबाट यो चलचित्रलाई राम्रो टिप्पणी नै प्राप्त भएको थियो ।

तर एलजी अर्वाडको आयोजकको नजरमा ‘तिमीसँग’उत्कृष्ठ ठहरियो । जबकी ‘छक्का पन्जा २’, ‘शत्रुगते’, ‘मंगलम’, ‘पञ्चायत’, लिलिबिली, भूँइमान्छे लगायतका चलचित्रहरु त्यस वर्षको सफल व्यापार गर्ने चलचित्रहरु हुन् । कुन आधारमा चलचित्र ‘तिमीसँग’लाई उत्कृष्ट ठहर गरियो यसको उत्तर अर्वाड प्रदान गर्ने आयोजकलाई नै थाहा होला ।

प्रदीप खड्का, नाजिर हुसेन र पुष्पल खड्का उत्कृष्ट नायकको विधामा नोमिनेसनमा परेका थिए । प्रदीपलाई ‘पपुलर नायक’, पुष्पललाई ‘क्रिटिक्स अवार्ड’ दिएर नाजिरलाई ‘उत्कृष्ट नायक अवार्ड’ दिइयो । अझै  मुख्य कुरा त के छ भने उत्कृष्ट नायकको विधामा ७ जना नोमिनेसनमा परेका थिए, तर उत्कृष्ट नायिकाको विधामा भने ५ जना मात्र नोमिनेसनमा परेका थिए ।

कार्यक्रममा नायक रमेश उप्रेती र नायिका दीपिका प्रसाईलाई उत्कृष्ट जोडीको रुपमा घोषित गरियो । हुन सक्छ रमेश र दीपिकाको जोडी उत्कृष्ट थियो, तर आयोजकको गल्ती कहाँनेर देखिन्छ भने त्यो अर्वाड दिनका निम्ति नायक निखिल उप्रेतीलाई स्टेजमा बोलाइयो,जबकी उत्कृष्ट जोडीका रुपमा निखिल आफै पनि मनोनयनमा परेका थिए । यदि निखिलले खोलेको खाममा निखिलको आफ्नै नाम आएको भए के निखिल आफूले आफैलाई अर्वाड दिन्थे ? त्यस शीर्षकमा कसले अर्वाड प्राप्त गर्दै छ भन्ने कुरा आयोजकले पहिले नै प्लानिङ गरेको स्पष्ट देखिएको छ । हैन भने त्यही शीर्षकमा मनोनयनमा परेका निखिललाई अर्वाड प्रदान गर्न किन बोलाइयो ?

सायद जे गरे पनि हाम्रै हो भन्ने भावना भएर होलाअर्वाडमा उपस्थित सबैलाई कुनै न कुनै शीर्षकमा भाग पुर्‍याइएको थियो ।

राम्रालाई भन्दा हाम्रालाई प्यारो गर्ने प्रवृत्तिका कारण नेपाली चलचित्रमा प्राप्त हुने यस्ता अर्वाड कार्यक्रमप्रतिको मोह घट्दै गएको छ । कार्यक्रमलाई भव्य देखाउनकै निम्ति विदेशी पाहुनालाई निम्त्याएर अन्त्यमा आफै आलोचित हुने कार्यको अन्त्य हुन आवश्यक छ । होइन भने वर्ष दिनमा जति नै अर्वाड कार्यक्रम गरिए पनि त्यसको कुनै औचित्व रहँदैन ।

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया