गणेशमान सिंहको स्मृति दिवस : शालिकमा माल्यार्पण

 असोज २, २०७५ मंगलबार ११:१:१४ | रासस
unn.prixa.net

काठमाडौं – विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । 

स्व सिंहको २१औँ स्मृति दिवसका अवसरमा मंगलबार बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । “स्व सिंह सङ्घर्षशील, त्यागी र प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । 

नेता सिंहले मुलुकमा अलग अलग धारमा विभाजित कम्युनिष्टलाई एक ठाउँमा ल्याउन स्व सिंहले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन त्यतिबेला स्व सिंहको महत्वपूर्ण योगदान छ,” उहाँले भन्नुभयो । काङ्ग्रेस स्व सिंहको विचारलाई अनुशरण गरेर अगाडि बढिरहेको उहाँको भनाइ थियो । 

सिंहले वर्तमान सरकारले जनताको समस्यालाई चित्तबुझ्दो तरिकाले समाधान गर्न नसकेको आरोप लगाउनुभयो । “सरकारले राखेको लक्ष्य सुशासन र समृद्धिको नारालाई पूरा गर्न सकेको छैन”, उहाँले भन्नुभयो । उहाँले काङ्ग्रेस जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी, सुरेन्द्र पाण्डे, बद्री पाण्डे, काठमाडौँ पार्टी सभापति सबुज बानियाँ, भातृ संस्थाका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो । विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया