बाउन्स चेक दिएर ८ करोडभन्दा बढीको ठगी, मुद्धा दर्ता गर्दा पनि प्रहरीले दिएन चासो

 जेठ २१, २०७५ सोमबार २०:१५:४६ | गोपाल भण्डारी
unn.prixa.net

बाउन्स चेक देखाउँदै पीडित

कपिलवस्तु – वाणगंगा नगरपालिकामा रहेको कपिलवस्तु मल्टी एग्रो इन्डष्ट्रिज प्रालिबाट ६ महिना अघि पाएको करिब ८ करोडभन्दा बढी रुपैयाँको चेक नसाटिँदा धान बिक्रेता व्यवसायीहरु समस्यामा परेका छन् ।

एग्रो प्रालिका सञ्चालकहरु भीमलाल पौडेल र इन्द्रमणि पौडेल विरुद्ध बैंक कसुर सम्बन्धी मुद्धा दर्ता भए पनि प्रहरीले त्यस विषयमा चासो नदिँदा धान व्यवसायीहरु समसयामा परेका हुन् । उनीहरु विरुद्ध १ महिनाअघि इलाका प्रहरी कार्यालय पिपरामा मुद्धा दर्ता गरिएको थियो । तर प्रालि सञ्चालकहरुलाई पक्राउ गर्न प्रहरीले खासै चासो नदिएको पीडितहरुको गुनासो छ ।

‘आफ्नो एक्लैको मात्रै १ करोड ७८ लाख ८ हजार २ सय ९९ रुपैयाँ त्यो प्रालिबाट पाएको चेक छ, तर कम्पनीको खातामा रकम नभएका कारण त्यो चेक बाउन्स भएको छ’, पीडित व्यवसायी न्यू पूजा खाद्य उद्योगका सञ्चालक तौलन बनियाँले बताउनुभयो ।

‘प्रालिका सञ्चालकहरु भीमलाल पौडेल र इन्द्रमणि पौडेलले आफूहरुलाई खातामा पैसा नभएको चेक दिएर ६ महिनाअघिबाट ठग्दै आएका छन्’, पूजा खाद्य उद्योगका सञ्चालक बनियाँले भन्नुभयो, ‘यति ठूलो रकम ६ महिना अघिबाट भूक्तानी पाउन नसक्दा हामी त बर्बादौं भयौं, हाम्रो कारोबार प्राय ठप्प भयो ।’ 

‘प्रालि सञ्चालक विरुद्ध बैंक कसुर सम्बन्धी मुद्धा इलाका प्रहरी कार्यालय पिपरामा दर्ता गरिएको छ’, बानियाँले भन्नुभयो, ‘तर सञ्चालकहरुलाई पक्राउ गर्नुको साटो उनीहरुको खोजी कार्य भैरहेको छ भन्ने जवाफ मात्रै हामीले इलाका प्रहरी कार्यालयबाट पाएका छौं ।’ 

सञ्चालक भीमलाल पौडेलकी श्रीमती रेवता पौडेलले अहिले त्यो प्रालि सञ्चालन गर्दै आउनुभएको छ । रेवता पौडेलले आफूहरुलाई पुरानो हिसाब मध्येको पाउनु पर्ने २० लाख रुपैयाँको चेक दिए पनि त्यो चेक पनि बाउन्स भएको व्यवसायीहरुले गुनासो गरेका छन् । 

प्रालि सञ्चालक पत्नी रेवता विरुद्ध बैंक कसुर अन्र्तगत मुद्धा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगे पनि त्यो मुद्धा प्रहरीले दर्ता गर्न ढिलाई गरेको व्यवसायीहरुले बताएका छन् । तर प्रहरी उपरीक्षक मनोज यादवसँग कुरा गर्दा मुद्धा दर्ता गर्ने नगर्ने आफ्नो तजविजको कुरा रहेको बताउनुभयो ।

कपिलबस्तुको पचेहरा, बर्रोहिया, मर्यादपुर लगायतका धान बिक्रेता व्यवसायीहरुले यो प्रालिबाट करिब ६ महिना बितिसक्दा पनि करिब २ दर्जन व्यवसायीहरुले आफूहरुले पाएको चेक नसाटिँनेको गुनासो गरेका छन् । 

अन्तिम अपडेट: फागुन २८, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया