हास्यव्यंग्यकार राजा राजेन्द्रकाे अाज जन्मदिन, उनी भने अाफ्नै पहिलाे फिल्मकाे शुटिङमा व्यस्त

 असोज २, २०७५ मंगलबार १६:५२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

समय र प्रतिभाले जन्माएका युवा हास्यव्यंग्यकार राजा राजेन्द्र पोखरेलको आज जन्मदिन हो । स्टेज कार्यक्रमबाट हँसाउन थालेका उनी रेडियो अडियोमा कार्यक्रम निर्माता बने । 

टेलिभिजनमा कार्यक्रम चलाए, गीत गाए, देश घुमे, विदेशमा पुगे । 

संजोग मान्नुपर्छ, आज जन्मदिनको दिन उनी पोखरामा एउटा सिनेमाको छायाँकनमा व्यस्त छन् । उनै व्यस्त, मस्त र सन्तुष्ट नेपाली प्रतिभा राजा राजेन्द्र अाजकाे स्थितिसम्म यसरी अाइपुगे : 

अहिलेका चल्तिका हास्यव्यंग्यका क्षेत्रमा परिचित नाम हो राजा राजेन्द्र पोखरेल । गायन, रेडियो कार्यक्रम, स्ट्यान्ड अप कमेडी, गाइजात्रा तथा अन्य विभिन्न कार्यक्रहरुको सञ्चालक हुँदै अब भने उनले चलचित्रमा समेत अभिनय गर्ने भएका छन् । 

उनले अभिनय गर्न लागेको चलचित्र हो शुभलव । चलचित्रका निर्माता धर्म सुवेदी र सन्तोष लोहनी हुन् । हास्यव्यंग्यका एक ताराका रुपमा उदाएका राजा राजेन्द्र पोखरेल चलचित्रका लागि डेब्यु गर्न लागेका हुन् ।

पढाइलेखाइमा अब्बल

पाँचथर जिल्लाको ओयाममा उनी विक्रम सम्बत् २०४३ सालमा जन्मिए । पिता डिल्लीराम पोखरेल र माता भद्रमाया पोखरेलका कान्छा सुपत्रका रुपमा उनले यस धर्तीमा पाइला टेकेका हुन् । 

सानैदेखि पढाइमा तेजिला उनी वक्तृत्वकलामा पनि तीक्ष्ण थिए । ईमान्दार र जेहेन्दार भएकाले उनी धेरैको प्यारो बनेका थिए । 

पाँचथरमा जन्मिएको भए पनि उनी एस एल सी दिन भने झापा पुगे । समय र परिस्थितिले उनलाई झापा झार्यो र झापा जिल्लाको दुर्गापुरमा रहेको भृकुटी माध्यमिक विद्यालयबाट एस एल सी दिए ।

२०५८ सालमा उनले ७६ प्रतिशत अंकका साथ एस एल सी उत्तिर्ण गरेका थिए । राजनीतिका क्षेत्रमा चासो र चिन्ता व्यक्त गरिरहने राजा राजेन्द्र खेलका क्षेत्रमा पनि उत्तिकै चासो राख्ने गर्छन् ।

संगत गर्नेहरु यसरी चिनाउँछन् उनलार्इ

राजा राजेन्द्रसँग झण्डै एक दशक बिताएका रेडियो अडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनियाँ भन्नुहुन्छ, ‘राजा राजेन्द्र श्रम र सृजनाको संगम हुन् । उनको हार्ने स्वभाव छैन, त्यसैले पनि उनी पछिल्लो समयका अपडेटेड हास्यकलाकार हुन् । क्यारिकेचरभन्दा पनि विशिष्ट प्रकारको विषयवस्तुमा विलक्षण प्रतिभा भएका व्यक्तित्व हुन् ।’

आफूलाई कला र गलाका क्षेत्रमा इमान्दार व्यक्तित्वका रुपमा चिनाइसकेका राजा राजेन्द्र पोखरेल २०६४ सालतिर शिक्षण पेशामा समेत आवद्ध भएका थिए । 

आवश्यकता र समयले जता लगे पनि राजा राजेन्द्रले हास्यव्यंग्यको मूल बाटोलाई बिर्सिएका छैनन् । उनलाई नजिकबाट चिन्नेहरुले बेला बेलामा सार्वजनिक रुपमै यस्तो धारणा राख्छन् ।

दिपाश्री निरौला भन्छिन, ‘राजा राजेन्द्र भएपछि स्टेजमा कार्यक्रमका निम्ति आयोजकलाई कुनै तनाव हुँदैन । गाइजात्रा कार्यक्रम होस् या अरु कुनै कार्यक्रम । उनी हास्यव्यंग्यका  क्षेत्रको फरक धारको नेतृत्व गर्नसक्ने क्षमता भएका व्यक्तित्व हुन् ।’

जीतु नेपालको बुझाइमा राजा राजेन्द्र बहुमुखी प्रतिभाका धनी हुन् । स्टेज कार्यक्रमका निम्ति एक कम्लिट प्याकेज हुन् ।

बद्रि पंगेनी भन्छन्, ‘सबै प्रकारका लोक गीत संगीतमा दख्खल राख्न सक्ने व्यक्तित्व हुन् राजा राजेन्द्र पोखरेल । उनमा सहज भाषामा सबैले बुझ्ने गरी गम्भीर विषयवस्तु उठान गर्न सक्ने क्षमता छ ।’

आज असोज २ गते जन्मदिन मनाइरहेका राजा राजेन्द्रले काठमाडाैंको रत्न राज्य क्याम्पसबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरिसकेका छन् । उनी गीत संगीतमा पनि उत्तिकै रुचि राख्छन् । 

गीत लेख्छन्, संगीत भर्छन् र गाउँछन् पनि

ललितकला क्याम्पसबाट संगीतमा आइएफए तह उत्तिर्ण गरेका राजा राजेन्द्रलाई गीत संगीतका क्षेत्रमासमेत उत्तिकै रुचि छ । उनी गीत लेख्ने तथा संगीत गर्ने त गर्छन् नै, गाउने कलासमेत उनमा भरपूर छ । 

उनले २ वटा सोलो एल्बम तथा ५ वटा कलेक्सन एल्बममा स्वर दिइसकेका छन् । राजुबाबु श्रेष्ठको रचना, राजनराज सिवाकोटीको संगीत र उनै हास्यव्यंग्यकार राजा राजेन्द्र पोखरेलको आवाजमा रहेको लाइदेउ न पिरतीको चस्मा पियारी बोलको गीत युवा पुस्तामा निकै रुचाइएको गीत हो ।

उनी विभिन्न स्टेज कार्यक्रहरु सञ्चालन गर्नका निम्ति निकै माहिर मानिन्छन् । हास्यव्यग्ंयका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रेडियो अडियोको स्थापनाकालदेखि नै उनी विभिन्न हास्यव्यंग्यका कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

स्ट्यान्ड अप कमेडीका साथै हास्यव्यंग्य कार्यक्रम सञ्चालन गर्दै उनले नेपालका करिब ६६ जिल्लाको भ्रमण गरिसकेका छन् । उनले करिब दर्जन भन्दा धेरै देशको भ्रमणसमेत गरिसकेका छन् । 

उनले कुनै पनि स्थानमा गएर एकपटक कार्यक्रम सञ्चालन गरेपछि आयोजकले हरेक कार्यक्रममा उनकै खोजी गर्ने गरेका छन् । 

विभिन्न कार्यक्रमहरुका निम्ति देश विदेश गरिरहनु पर्ने भएका कारण उनी पस्कने सामग्रीहरुमा अपडेटेड रहने गर्छन् । सानो कुरालाई पनि हास्यव्यंग्यका रुपमा प्रस्तुत गर्न सक्ने कला भएका कारण उनी युवापुस्तामा निकै परिचित मानिन्छन् । 

क्यारिकेचर गर्न माहिर छन्

उनले नेपाली नेताहरुको करिब १६ वटा सेटहरु बनाएर क्यारिकेचर गरिसकेका छन् । उनलाई मानसिक संघर्षका अथक योद्धाका रुपमा लिइन्छ । 
साथी सञ्जालमा उत्कृष्ट सम्बन्ध निर्माण गर्न सफल रहेका कारण पनि साथीसंगीका नजरमा कुसल र क्षमतावान व्यक्तित्वको परिचय दिन सफल छन् उनी । त्यसैले पनि उनलाइ पछिल्लो समय हास्यव्यंग्यका चम्किलाताराका रुपमा हेर्ने गरिएको छ । 

राजा राजेन्द्र यति बेला उनको डेब्यु चलचित्र शुभलवको सुटिङमा व्यस्त छन् । यति बेला पोखरामा चलचित्र शुभलवको छायाँकन भइरहेको छ । 

धर्म सुवेदी र प्रदिपकुमार उदयको निर्माणमा बन्न लागेको चलचित्र शुभलवलाई सन्तोष बाबु लोहनीले निर्देशन गर्दैछन् । हरिहर अधिकारीको लेखन रहेको चलचित्रमा राजा राजेन्द्र मुख्य पात्रका रुपमा काम गर्दैछन् । चलचित्रको छायाँकन काठमाडाैं, पोखरा, लुम्बिनीलगायतका स्थानहरुमा हुने छ ।

खेलमा पनि उत्तिकै रुचि छ राजा राजेन्द्रको 

विशेष त नेपालले खेल्ने हरेक अन्तराष्ट्रिय खेलहरु नछुटाई हेर्ने गर्छन उनी । जब नेपाली खेलसँग जोडिएको कुरा आउँछ, उनी त्यस्ता कुरामा निकै चाख दिने गर्छन । 
 रमाइलो कुरा त के छ भने उनी पछिल्लो समय माबाइलमा युवाहरुको रोजाइमा पर्ने खेल क्यान्डीक्रस समेत खेल्छन् । उनी रमाइलो गर्दै भन्ने गर्छन्, ‘अहिले म क्यान्डीक्रसको १६ सय लेभलको खेल खेलिरहेको छु । ’

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया