नेपालगञ्ज विमानस्थलमा रनवे विस्तारको तयारी

 असोज २, २०७५ मंगलबार १८:२७:५८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके –  नेपालगञ्ज विमानस्थलको रनवे विस्तारको तयारीमा रहेको छ ।

अहिले एक हजार ५०० मिटर लम्बाई रहेको नेपालगञ्ज विमानस्थलको लम्बाई ३०० मिटर पश्चिम र २०० मिटर पूर्वतर्फ बढाउनका लागि पहल भइरहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

पूर्वतर्फ थप विस्तारका लागि डुडुवा खोला डाइभर्ट गर्नुपर्ने हुन्छ ।  विमानस्थलको रनवे फराकिलो भएमा ठूला विमान अवतरण हुने भएकाले हवाई भाडा समेत सस्तो हुने निर्देशक ठाकुरले बताउनुभयो ।

१ सय ३८ बिघा जग्गामा फैलिएको नेपालगञ्ज विमानस्थलको रनवे ३० मिटर चौडाईको छ ।  विमानस्थल विस्तारका लागि अहिले भइरहेको क्षेत्रफल नै प्रर्याप्त रहेको कार्यालयले जनाएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि औपचारिक प्रक्रिया सुरु भएको छ ।  नेपालगञ्जबाट वुद्ध एयरले भारतको राजधानी नयाँ दिल्ली उडान सुरु गर्दैछ । नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निर्देशक प्रेमनाथ ठाकुरले  अन्तर्राष्ट्रिय उडानका लागि थप टर्मिनल निर्माणका लागि आन्तरिक तयारी सुरु गरिएको जानकारी दिनुभयो ।

थप गर्न लागिएका ५ वटा पार्किङसँगै सबै ७ वटा पार्किङ पश्चिममा भएका कारण सोही स्थानमा दोश्रो टर्मिनल बनाउने नागरिक उड्ययन कार्यालयको तयारी छ । तर नेपाल एयर लायन्सले ३५ वर्षदेखि भोगचलन गर्दै आएको भन्दै अदालतमा मुद्धा दायर गरी स्टे अर्डर पाएपछि काम रोकिएको छ ।

नेपाली सेनाले क्यान्टिन खाली गरिसकेको अवस्थामा एउटै मन्त्रालय अन्तर्गतका कार्यालय भएका कारण समस्या समाधानका लागि मन्त्रालयको ध्यानाकर्षण गरिसकिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निर्देशक ठाकुरले  बताउनुभयो । 

टर्मिनलका लागि झण्डै दुई महिनाभित्र सुरुवात प्रक्रिया पूरा गरेर टेण्डर आब्हान गर्ने तयारी गरिएको निर्देशक ठाकुरले बताउनुभयो । प्रिफेव टर्मिनलका लागि सरकारले अहिले एक करोड बजेट छुट्टाएकोमा लागत खर्च भने स्टिमेट आएपछि मात्रै एकीन हुनेछ ।

सबै संरचना र तयारी पूरा गर्न सकेमा अबको झण्डै एक वर्षभित्र नेपालगञ्ज दिल्ली उडान सुरु हुन सक्ने निर्देशक ठाकुरको भनाई छ ।  दिल्ली प्mलाइट संवेदनशील भएका कारण भारतीय पक्षले यहाँको सुरक्षा लगायतको अध्ययन गरेर स्वीकृति दिएपछि  उडनको समय(सलट) हुन्छ ।

सलटपछि मात्रै अन्तिम निर्णय हुने निर्देशक ठाकुरले बताउनुभयो । अहिले नेपालगञ्जबाट रात्रिको समय मात्रै दिल्लीमा सलट पाइएकाले समस्या सहजिकरणका लागि भारतीय राजुदत मञ्जितसिंह पुरीको ध्यानाकर्षण गराइएको छ ।

अन्तर्राष्ट्रिय उडान हुनासाथ भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालयसँगै सुरक्षाको पनि चासो हुने गर्दछ । यसैगरी एक्सरे मेसिन, सीसीसीभी खरिद लगायतमा प्रक्रिया पूरा गरी खरिद गर्न समेत समय लाग्ने हुन्छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया