उपराष्ट्रपति पुन भोलि चीन जाँदै

 असोज २, २०७५ मंगलबार १९:१८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ औपचारिक भ्रमणका लागि बुधबार चीन जाँदै हुनुहुन्छ ।

६ दिने औपचारिक भ्रमणका लागि उहाँ बुधबार बिहान १०ः४० बजे सीए ४३८ नम्बरको एयर चाइनाको बिमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्नुहुनेछ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर उपराष्ट्रपति चीन जान लाग्नुभएको हो । उहाँले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

उपराष्ट्रपतिले असोज ४ गते नै चीन भ्रमणको क्रममा उहाँले वेल्ट एण्ड रोड सम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । चीनमा रहँदा उहाँसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का सिचुवान प्रान्तका सेक्रेटरी, सरकारी प्रतिनिधिहरुले शिष्टाचार भेट गर्ने तय भएको छ । उहाँले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गर्नुहुनेछ ।

उपराष्ट्रपतिको भ्रमण टोलीमा उहाँकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, उपराष्ट्रपतिका विज्ञ जीवन आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल, उपराष्ट्रपतिका स्वकीय सहसचिव तुल्सी डाँगी, प्रेस संयोजक मनोज घर्तीमगर, पाश्वबर्ती प्रमुख सेनानी अरुण कुमार केसी हुनुहुनेछ ।

यसैगरी परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल रामबाबु ढकाल, नेपाली सेनाका सेनानी प्रयोजन श्रेष्ठ, परराष्ट्र मन्त्रालयकी शिष्टाचार अधिकृत ईन्दिरा गोहिवार उपराष्ट्रपतिको भ्रमण टोलीमा हुनुहुनेछ ।

उपराष्ट्रपति चीनको भ्रमण सकेर असोज ८ गते बिहान ८ः४५ बजे काठमाडौं आइपुग्नु हुनेछ ।

राष्ट्रपतिलाई जानकारी

उपराष्ट्रपतिले आफ्नो चीन भ्रमण बारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउनुभएको छ ।

राष्ट्रपतिलाई मंगलबार दिउँसो भेटेर उपराष्ट्रपतिले आफ्नो चीनको औपचारिक भ्रमणबारे जानकारी गराउनुभएको हो । भेटमा राष्ट्रपतिले उपराष्ट्रतिलाई चीन भ्रमण सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले उपराष्ट्रपतिको भ्रमणले दुई देशबीचका सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपतिले आफ्नो चीन भ्रमणलाई सफल बनाउन र दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउन कोसिस गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया