३३ किलो सुनकाण्ड : एसपी खनाल पनि तारेखमा छुटे

 असोज २, २०७५ मंगलबार १९:५२:८ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – उच्च अदालत विराटनगरले निलम्बित एसपी खनाललाई तारेखमा रिहा गर्न आदेश दिएको हो ।

साढे ३३ किलो सुन तस्करी प्रकरण र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका प्रहरीका निलम्बित एसपी विकासराज खनाल तारेखमा रिहा भएका हुन् ।

उच्च अदालत विराटनगरका न्यायाधीश नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको संयुक्त इजलाशले खनाललाई सादा तारेखमा राखेर रिहा गर्ने आदेश गरेको हो । जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका खनालले तत्कालीन मुलुकी ऐनअन्तर्गत अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत उच्च अदालत विरटानगरमा निवेदन दिएका थिए ।

उच्च अदालत विराटनगरले तत्काल प्राप्त प्रमाणबाट खनाललाई थुनामा राखिराख्नुपर्ने कारण नदेखिएकाले तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेर उच्च अदालतले रिहा गरेका निलम्बित प्रहरी अधिकारीमा खनाल तेस्रो हुन् ।

उच्च अदालत विराटनगरले गएको शुक्रबार प्रहरीका निलम्बित वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी तथा आइतबार निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतमा २१ वटा मुद्दा पेशी चढेकोमा एउटा सुनुवाई भएको हो भने ६ वटा स्थगित भएको छ । अन्य १४ वटा मुद्दा हेर्न नभ्याइएको जिल्ला अदालतका रजिष्टार नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया