संविधान दिवस मनाइँदै

 असोज २, २०७५ बुधबार ५:३४:२३ | रासस
unn.prixa.net

काठमाडौं - नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस मनाउँदैछ । 

यसै दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । 

समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी। प्रदर्शन, काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । 

त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा रोचक कार्यक्रम प्रस्तुत गरिनाका साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन गरिने छ । त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गरिने मन्त्रालयले जनाएको छ । 

काठमाडौँ उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहमा सरसफाइ, प्रभातफेरी, खेलकुद, प्रवचन गोष्ठी, साहित्यिक गोष्ठी, साँस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी गरिनाका साथै असोज २, ३ र ४ गते दीपावली गरिने छ । सरकारले संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा ३३ सदस्यीय मूल समारोह समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र कामपाको संयोजकत्वमा मञ्च सजावट व्यवस्था उपसमिति गठन गरेको थियो । 

सर्वसाधारणलाई कुर्सी व्यवस्था 

संविधान दिवस मनाउनका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ । यस वर्ष सर्वसाधारणले पनि सहजतापूर्वक समारोह हेर्न पाउने गरी तयारीको काम भएको कामपाले जनाएको छ । 

यसअघिका वर्षमा विशिष्ट व्यक्तिका लागि मात्र बसेर हेर्ने व्यवस्थापनको काम गर्दैआएको कामपाले यस पटकदेखि सर्वसाधारणको लागि पनि व्यवस्थापन गरेको छ । कामपाका सहप्रवक्ता नवराज ढकालका अनुसारसर्वसाधारणका लागि बस्नका लागि कुसी, पिउने पानी, र स्वास्थ्योपचार केन्द्र राखिने छ । सर्वसाधारणका लागि तीन हजार र विशिष्ट व्यक्तिका लागि दुई हजार कुर्सी राखिसकिएको ढकालले जानकारी दिनुभयो । 

बुधबार मनाइने संविधान दिवसका लागि कामपाले केही स्थानमा वृक्षरोपण, सरसफाइ, मञ्च सजावटजस्ता काम पनि गरेको छ । त्यसैगरी समारोहमा पुष्पवृष्टि गरिनाका साथै विकासे र सांस्कृतिक झाँकी प्रदर्शन गरिने कामपाले बताएको छ । कार्यक्रम अवधिभर दमकल, एम्बुलेन्सलगायत आवश्यक सेवा तैनाथ हुनेछ । काठमाडौँ उपत्यकाका सबै नगरपालिकाको परम्परागत, सांस्कृतिक र जातीय पहिचानसहितको झाँकी र विभिन्न पेशागत समूहको प्रदर्शनका लागि कामपाले सहकार्य गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया