माइक्रोमा जाबो दुई रुपैयाँ भनेर कहिलेसम्म चुप लाग्ने ?

 असोज ३, २०७५ बुधबार ११:३६:१७ | सजना तिमल्सिना
unn.prixa.net

सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्यको घोषणा गरेको पाँच महिना बितिसकेको छ । सहज यात्राको परिकल्पनामा सिन्डिकेट अन्त्य गरियो ।

सिन्डिकेट अन्त्य आफूले गरेको भन्दै यातायात मन्त्री रघुवीर महासेठ र यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईबीच रस्साकस्सीसमेत भयो । मन्त्रीले आफ्नो शक्ति देखाउन भट्टराईलाई मन्त्रालयमा ताने अनि उनलाई कामविहीन पनि बनाए । सतहमा देखिएको कुरा यही हो ।

महानिर्देशक भट्टराईलाई मन्त्रालयमा तान्नु पछाडिका भित्री रहस्य के के थिए त्यो मन्त्रीलाई नै थाहा होला । मन्त्रीले ठूलै रकम बुझेर महानिर्देशक हटाएको आरोपसमेत नलागेको होइन । सामाजिक सञ्जालमा यो विषयले त्यो बेला राम्रै चर्चा पाएको थियो । 

गृहमन्त्री रामबहादुर थापासमेतको पहलमा यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएकोमा मजस्ता लाखौं यात्रु खुशी भए । सिन्डिकेट अन्त्यपछि सार्वजनिक सवारीको यात्रा सहज होला भन्ने धेरैलाई लागेको थियो । गाडीको सिटमै बसेर यात्र गर्न पाइएला भन्ने आशा जागेको थियो ।

फोहोर र मैलोले छोपिएको सिट, अर्को यात्रुको शरीरको गन्धसँगै टाँसिएर र झुन्डिएर यात्रा गर्ने दिन गए भन्ने सबैलाई लागेको थियो । अनि भेडा, बाख्रा जसरी कोचिएर बाँदर रुखमा झुन्डिएजस्तो गरी रडमा झुन्डिएर, जे होला त्यही टर्ला भन्दै ज्यानको बाजी थापेर यात्रा गर्ने समय सकियो भन्ने लागेको थियो । तर पाँच महिना बितिसक्दा पनि यात्रायात क्षेत्रमा एकरत्ति पनि सुधार भएको छैन । सार्वजनिक यातायातका यात्रुको बोली र कर्मचारीको मुखको त कुरै नगरौं ।

सरकारले व्यवसायीको सहमतीमा हरेक गाडीमा भाडा दर यात्रुले देख्ने ठाउँमा टाँस्न भनेको छ । तर कुनै सवारी साधनमा भाडादर टाँसिएकै छैन । भाडादर टाँसेका पनि थोरैले मात्रै त्यहाँ तोकिएको जति मात्रै भाडा लिने गरेका छन् । सरकारले २०७२ साल भदौदेखि लागू हुनेगरी चार किलोमिटरसम्म १३ रुपैयाँ भाडादर तोकेको छ । किलोमिटर थाहा नहुँदा चार वटा स्टपसम्मको भाडा १३ रुपैयाँ भनेर पनि बुझ्न सकिन्छ ।

तर तीन वर्ष बितिसक्दा पनि यो भाडादर कार्यान्वयन भएको छैन । कतिलाई त न्यूनतम भाडा १३ रुपैयाँ हो भन्ने नै थाहा छैन । थाहा भएकाहरु पनि सहचालकको दुव्र्यवहार सहनु नपरोस् भन्नका लागि चुप लाग्छन् । यात्रुले कम पैसा दिए झगडा गर्ने सहचालक आफू भने चानचुन पैसा नभएको भन्दै दुई रुपैयाँ दिँदैनन् । यात्रुले धेरै ढिपी गरे प्याच्च बोलिहाल्छन्, ‘चानचुन पैसा बोकेर गाडी चढ्नु पर्दैन ? ठूलो पैसा हुनेले ट्याक्सी चढ्नु नि !’

जावलाखेलबाट ललितपुरको नखिपोट जम्मा ४ किलोमिटर छ । यस हिसावले भाडा दर जम्मा १३ रुपैयाँ हो । तर सहचालकले जहिले पनि १५ रुपैयाँ नै लिन्छन् । हुन त नखिपोटबाट महालक्ष्मीस्थान १ किलोमिटर मात्रै हो । तर यहाँ पनि सहचालकले १५ रुपैयाँ नै लिन्छन् । अथवा भनौं गाडीमा चढ्ने बित्तिकै यात्रुले १५ रुपैयाँ तिरिहाल्नुपर्छ । जबकी १३ रुपैयाँ न्यूनतम भाडा हो । यो भाडादर व्यवसायीसँगको सहमतिमा नै सरकारले लागू गरेको हो । तर अझैसम्म पनि यसको कार्यान्वयन भएको छैन । 

धेरै त यात्रु नै सजग छैनन् । किनभने भाडादर टाँसिएकै गाडीमा पनि तोकिएको भन्दा धेरै भाडा दिने यात्रु मैले देखेकी छु । उनीहरुसँग मेरो कुनै गुनासो छैन । तर कानुनमा नै उल्लेख भएअनुसारको भाडा दिँदा सहचालकबाट दुर्व्यवहार किन सहने ? 

मंगलबार दिउँसो १ बजे जावलाखेलबाट नखिपोटको बा २ ख २२ ८९ नम्बरको माइक्रो चढेँ । लगनखेलसम्म खाँदिएर उभिएँ । लगनखेल पुगेपछि अन्तिमको सिट खाली भयो, चार जनाको सिट भएपनि पाँच जना अनिवार्य छ । खाँदिएरै बसेँ । सातदोबाटोमा आइपुग्दा सहचालकले सबैको भाडा झिक्न भने । मैले आफ्नो लाग्दो भाडा दर १३ रुपैयाँ निकालेँ । विशालचोकमा आइपुगेपछि मैले भाडा दिएँ । उसले ‘१३ रुपैयाँ किन ?’ रुखो शैलीमा बोल्यो । मैलै ‘जावलाखेलबाट हो’, भने । ऊ कड्कियो, ‘लगनखेलबाट नखिपोटसम्मकै भाडा १५ रुपैयाँ हो थाहा छैन ?’

‘जावलाखेलदेखि नखिपोटसम्म १३ रुपैयाँ हो’, मैले भने । उसले रिसाउँदै मैले दिएको १३ रुपैयाँ मलाई फाल्दै भन्यो, ‘तँलाई पेट्रोल, डिजेलको भाउ बढेको थाहा छैन ?’ मैले पनि रीसले आँखा देखिन र भनें ‘पेट्रोल, डिजलको भाउ सोमबार मध्यरातमा बढेको मलाई थाहा छ । तर, यातायात व्यवस्था विभागले भाडा बढाएको छ ? नयाँ भाडादर किन नटाँसेको ?’ 

उसले मलाई फ्याँकेको पैसा मसँगै सिटमा बसेको व्यक्तिले टिपेर मलाई थमाइदिए । ‘मैले लाग्दो भाडा दिएको हो’,  मैले फेरि भनें, ‘ठूलो स्वर नगर । म पनि दैनिक यात्रा गर्छु भाडा कति हो थाहा छ ।’

‘अहिलेसम्म कसैले १३ रुपैयाँ दिएका छैनन् । सबैले १५ रुपैयाँ दिन्छन् । तँ कराउछेस् ! ला तेरो पैसा, मलाई चाहिँदैन । अर्कोपालीदेखि यस्तालाई गाडी रोक्दैनौं’ उ ठूलो स्वरमा कराउन थाल्यो । ‘लाग्दो पैसा दिएकी छु । मलाई सित्तैमा गाडी चढ्नुछैन’, फेरि दोहोर्याए, ‘यसरी बढी भाडा लिँदा कारबाही हुन्छ थाहा छ ?’ तर उ मलाई लगातार गालीमात्र गरिरहयो । मेरो कुरा सुनेन । माइक्रो रोकिने ठाउँ आइपुग्यो । 

अरु बेलामा मैले पनि अरुले जस्तै १५ रुपैयाँ नै तिरेर हिँड्ने गरेकी छु । सहचालकले दिदी ‘दुई रुपैयाँ छैन, भाइलाई छाड्दिनुन । चानचुन छैन है दिदी’, भन्ने गर्छन् । त्यो दुई रुपैयाँभन्दा मिठो उनीहरुको बोली लाग्छ । वास्ता हुँदैन । तर माइक्रो नम्बर बा २ ख २२ ८९ को सहचालकको बोलीले म मा कुनै माया, दया पलाएन । 

मैले सित्तैमा चढ्नु छैन भन्दै माइक्रोको सिटमा १३ रुपैयाँ राखेर म गाडीबाट झरें । म र सहचालकबिच चर्काचर्की पर्दा माइक्रोमा भएका १७/१८ जना कोही नबोली बसे । सोचे होलान्, ‘जाबो २ रुपैयाँको लागि कति किचकिच गरेको ।’ हो अहिलेको यो महंगीमा २ रुपैयाँ केही होइन । दुई रुपैयाँको नोट लोप हुनै लागिसकेको छ । सिक्का पनि कतै कतै मात्र भेटिन थालेका छन् । त्यसैले पनि सामान्य तरिकाले हेर्दा जाबो २ रुपैयाँमा भन्ने सबैलाई लाग्छ । 

तर यहाँ पैसाको भन्दा पनि नियमको कुरा आउँछ । बोली वचनको कुरा पनि आउँछ । सायद अरु सहचालकले जस्तै दुई रुपैयाँ त हो नि दिदी दिनुन भनेको भए पनि दिन्थें होला । तर उसको पहिलो शब्दले मेरो झण्डै ४ किलोमिटरको यात्रा अमिलो भयो । जिन्दगीमा पहिलो पटक । 

गाडीवालाले एक जनालाई मात्र त्यो २ रुपैयाँ नदिएको होइन । एकपल्ट परिक्रमा गर्दा त्यो गाडीमा कम्तिमा पनि ३० जना त चढेकै हुन्छन् । त्यो ३० जनाबाट ६० रुपैयाँ आउँछ । एक दिनमा कम्तिमा पनि ७ पल्ट परिक्रमा गर्दा ४ सय २० रुपैयाँ कमाउँछन् । अझ बिहान बेलुकी चढ्नेको संख्या दोब्बर हुन्छ । बीच बाटोमा ओर्लने र चढ्नेको हिसाब यहाँ छैन । अझ बिहान र बेलुका भेडाबाख्रा जसरी मान्छे कोच्ने गाडीवालाले जाबो २ रुपैयाँमा के किचकिच गरेको भनेर यात्रुलाई गाली गर्छन् । तर आफूले नियम मिचेको देख्दैनन् । 

सामान्य अवस्थामा एउटा गाडीको सिट क्षमता १४ जनाको हो । तर त्यसमा १८ जनाको सिट भएको उनीहरु बताउँछन् । दुईजना अटाउने सिटमा ३ जना बस्नुपर्छ । छेउमा बस्नेको त एउटा फिला पनि अट्दैन । उभियो भने उनीहरु कै ठूलो स्वर हुन्छ फेरि ।

सबै भन्न खोजेको होइन, तर अधिकांश सहचालकले यात्रुलाई यता सर, उता सर, त्यता होइन यता, चोसो यसरी पसार, जिउ यता फर्का, उता समात, बच्चालाई यसरी बोक, भनेर सिकाइरहेका हुन्छन् । अनि उनीहरुले भनेको नमान्दा हप्काई खानुपर्ने । कोचिएर पनि तोकिएभन्दा बढी भाडा तिर्नुपर्छ । अझै गाली र सास्ती यात्रुले नै पाउनुपर्ने !  राजधानीमा यात्रा गर्ने सबै यात्रु भुक्तभोगी छन् ।  

सार्वजनिक गाडीमा सधैं यात्रा गर्नेले त्यो फिर्ता आउनुपर्ने २ रुपैयाँ लिँदा ३ दिनमा एक पल्टको भाडा पुग्छ । दैनिक मजदुरी गर्नेलाई यति रकम निकै ठूलो हो । 

इन्धनमा बढेको मूल्य अनुसार भाडा समायोजन हुनुपर्छ । तर यसको मतलब सहचालक आफैं सरकार बनेर भाडा बढाउने अनि यात्रुलाई तथानाम भनेर गाडीमा बेइज्जत गर्ने होइन । धेरै पैसा पनि तिर्नुपर्ने अनि सहचालकको छुद्र व्यवहारको पनि सामना यात्रुले कहिलेसम्म गर्ने ? गाडीमा यात्रुलाई बेइज्जत गर्ने बा २ ख २२ ८९ नम्बरको नखिपोट रत्नपार्क चल्ने माइक्रोबसको त्यो सहचालकलाई किन कारबाही नगर्ने ? 


 

अन्तिम अपडेट: कात्तिक २, २०७५

सजना तिमल्सिना

2 Comments

  • Mohan

    Sept. 19, 2018, 8:08 p.m.

    सजनाजीको लेखाइ, अभिव्यक्ति गर्ने कला, विषय वस्तुको छनोट, तथा तार्किक शक्ति अत्यन्त प्रशँँसनिय छ। सरल एवम मौलिक शव्दमा देशको समसामयिक सामाजिक, राजनैतिक, एवम कनूनी अवस्थाहरुको विकृतीलाइ सशक्त प्रहार गर्नु भएकोछ। साधुवाद सजाना जी। तपाइको कलम यसरीनै चल्दै जाओस सधै सधै।

  • Bishal Khatiwada

    Sept. 19, 2018, 12:53 p.m.

    एकदम मननीय र अर्थपूर्ण विचार / अरुले गरेको थिचोमिचोलाई व्यक्त नगरेर वा सहेर नै हाम्रो समाजमा अनेक खालका नघट्नु पर्ने घटना भइरहेका छन् /यो प्रसंग एउटा सामान्य तर गतिलो उदाहरण हो /झन पछिल्लो समय घटिरहेका डरलाग्दा घटनाहरुको आधार विन्दु यस्तै सामान्य लाग्ने कुरावाट शुरु भएका हुन्छन्/

तपाईको प्रतिक्रिया