मुख्यमन्त्री र मन्त्रीहरु संविधान दिवसको विरोधमा, कर्मचारीहरुले रुख रोपेर मनाए

 असोज ३, २०७५ बुधबार १३:५८:४१ | शैलेन्द्र महतो

धनुषा – प्रदेश नं. २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीहरुले संविधान दिवस मनाएका छन् । 

प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु संविधानको विरोधमा केही पनि कार्यक्रम नगरेपछि मुख्यालयमा कर्मचारी र सुरक्षा प्रमुखहरुले वृक्षारोपण गरी संविधान दिवस मनाएका हुन् । 
 
प्रदेश २ का मुख्य सचिव राजेश्वरमान सिंहको नेतृत्वमा कर्मचारीहरुले प्रदेश २ मन्त्रालयहरु रहेको जनकपुर चुरोट कारखानाको परिसरमा वृक्षारोपण तथा एकआपसमा शुभकामना आदान–प्रदान गरेर संविधान दिवस मनाएका हुन् । सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थितिमा कर्भड हलको मैदानमा  वृक्षारोपणको साथै शुभकामना अदान–प्रदान  कार्यक्रम गरिएको सिंहले बताउनुभयो । यद्यपि प्रदेश २ का कुनै पनि मन्त्रीहरु भने कार्यक्रममा सहभागी भएनन् ।
 
प्रदेश २ को सत्तारुढ दल संघीय समाजवादी फोरमले प्रदेश २ मा आज कालो दिवस मनाउने भने पनि केन्द्रको निर्देशनले उनीहरु गौण छन् भने सत्ता साझेदारकै अर्को घटक राष्ट्रिय जनता पार्टी नेपालले  भने प्रदेश २ मा कालो दिवस मनाइरहेको छ ।

आज असोज ३ गतेलाई संविधान दिवस मनाउन संघीय सरकारले सातवटै प्रदेशमा राष्ट्रिय दिवसका रुपमा मनाउन परिपत्र गरे पनि प्रदेश २ सरकारले भने कुनै मतलब गरेन ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया