एसिया कपमा भारतलार्इ दबाबमा राख्न सक्ने ६ पाकिस्तानी खेलाडी

 असोज ३, २०७५ बुधबार १६:५९:३ | उज्यालो सहकर्मी

भारतीय क्रिकेट टोलीको इंग्ल्याण्ड भ्रमण नमिठो सम्झनाका रुपमा समाप्त भएको छ । इंग्ल्याण्ड भ्रमणमा सफलता हासिल गर्न नसकेको भारतीय टिम अब एसिया कपको उपाधि चुम्ने लक्ष्यसहित दुबई पुगिसकेको छ । 

यो प्रतिष्ठित प्रतियोगिताको लागि नियमित कप्तान विराट कोहलीलाई आराम दिइएको छ । कोहलीको अनुपस्थितिमा भारतीय टिमको कमाण्ड रोहित शर्माले सम्हाल्ने भएका छन् ।

एसिया कपमा भारतीय टिमको उत्कृष्ट प्रदर्शन रहेको छ । अहिलेसम्म भएका १३ प्रतियोगितामा ६ पटक त भारतले मात्रै उपाधि जितेको छ । यस संस्करणकाे पहिलाे खेलमा मंगलबार भारतले नवप्रवेशी हङकङलार्इ २६ रनले पराजित गर्याे ।

तर पछिल्लो समय भारतको कडा प्रतिस्पर्धी मानिने पाकिस्तानले आफ्नो खेलमा निकै सुधार गरेको छ । यो प्रतियोगितामा पाकिस्तानका छ जना खेलाडी भारतका लागि चुनौती बन्न सक्नेछन् । सेप्टेम्बर १९ मा भारत र पाकिस्तानको खेल रहेको छ । दुई पटक एसिया कपको च्याम्पियन बनेको पाकिस्तानका ती ५ खेलाडी को हुन् त जसले भारतलाई चुनौती दिन सक्नेछन् ?

शोएब मलिक

भारतीय टिमका लागि सबैभन्दा ठूलो चुनौतीका रुपका पाकिस्तानका अनुभवी ब्याट्सम्यान शोएब मलिक हुन सक्नेछन् । भारतीय टिमविरुद्ध मलिकको व्यक्तिगत रेकर्ड पनि शानदार रहेको छ । दायाँ हाते ब्याट्सम्यान मलिक भारतविरुद्ध ३९ वटा खेल खेलेका छन् । जसमा चार शतक र दश अर्धशतकको सहयोगमा उनले १६६१ रन बनाएका छन् ।

भारतविरुद्ध उनको सर्वाधिक स्कोर १४३ रन रहेको छ र त्यस्तै मलिकले बलिङतर्फ भारतको २२ विकेट लिएका छन् । त्यसैले पनि भारत शोएब मलिकसँग निकै नै सतर्क हुनुपर्ने देखिन्छ ।

फखर जमान

इंग्ल्याण्डाम भएको च्याम्पियन्स ट्रफीमा भारतलाई उपाधिविहीन बनाउन महत्वपूर्ण भूमिका खेलेका जमान पछिल्लो समय शानदार फर्ममा रहेका छन् । दोहोरो शतक प्रहार गर्ने पाकिस्तानका एक मात्र खेलाडी हुन् जमान । पछिल्लो ५ म्याचमा बनाएको ५१५ रनले नै उनको तुफानी ब्याटिङलाई पुष्टि गर्छ ।

पछिल्ला ५ खेलमा उनले दुई शतक दुई अर्धशतक प्रहार गरेका छन् । जमानले भारतविरुद्ध एक म्याच मात्रै खेलेका छन् जसमा उनले शानदार शतक प्रहार गरेका थिए । 

बाबर आजम 

भारतीय टोलीका लागि आजम पनि खतरनाक साबित हुन सक्नेछन् । हालसालै जिम्बाब्वेविरुद्धको खेलमा शतक प्रहार गर्दै आफू फर्ममा भएको आजमले प्रमाणित गरेका छन् । आजमले भारतविरुद्ध दुई म्याच खेलेका छन् । जसमा उनले ५४ रन बनाएका छन् ।

भारतविरुद्ध उनको सर्वश्रेष्ठ स्कोर ४६ रन रहेको छ । बाबर आजमको वान डे करियरलाई हर्ने हो भने उनी भारतका लागि चुनौती बनेर उभिन सक्नेछन् । दायाँ हाते ब्याट्सम्यान आजमले ४६ म्याचमा ५४.८० को औसतले जम्मा २३०३ रन बनाएका छन् । उनले ८ शतक र ७ अर्धशतक प्रहार गरेका छन् ।

सरफराज अहमद  

पाकिस्तानका कप्तान सरफराज अहमदले हालै मात्र एसिया कपमा सुरुमै भारतलाई हराउँदै आफ्नो दबदबा कायम राख्न सफल हुने बताएका थिए । च्याम्पियन्स ट्रफीमै आफ्नो कप्तानी साबित गर्दै सरफराजले भारतविरुद्ध आफ्नो रणनीति सफल हुने प्रमाणित गरेका थिए ।

सरफराज विस्तारै विस्तारै आफ्नो छवि फिनिसरका रुपमा बनाइरहेका छन् । त्यसैले पनि सरफराज टिम इन्डियाका लागि खतरनाक साबित बन्न सक्नेछन् । 

हसन अली 

२४ वर्षीय हसन अलीले छोटो समयमै निकै ख्याति कमाएका छन् । अहिलेसम्म उनले ३३ वान डे म्याचमा ६८ विकेट चट्काएका छन् । हसन अली धेरै ब्याट्सम्यानका लागि चुनौती बन्दछन् । उनको सर्वश्रेष्ठ प्रदर्शनमा ३४ रन दिएर पाँच विकेट लिएका छन् ।

हसन अली टिम इन्डियाविरुद्ध दुई म्याचर खेलेका छन् । जसमा उनले चार विकेट लिएका छन् । टिम इन्डियाविरुद्ध उनले १९ रन दिएर ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका छन् । 

मोहम्मद आमिर  

यीनको बारेमा त के कुरा गर्नु । विश्व क्रिकेटमा त मोहम्मद आमिरकै स्विङ र गतिको त चर्चा हुने गर्छ । आमिरको स्पेलको सामना गर्दा विराट कोहली पनि कैयौँ पटक डराएका छन् । कोहलीले यो कुरा कैयौँ पटक आफैले भनेका पनि छन् । पछिल्लो पटक एसिया कप टी–२० प्रारुपमा खेलिएको थियो । जसमा टिम इन्डियाविरुद्ध आमिरले गरेको प्रदर्शन अहिले पनि ताजै रहेको छ ।

बायाँहाते तीव्र गतिका बलर आमिरले अहिलेसम्म भारतविरुद्ध ४ म्याच खेलेका छन् । जसमा उनले भारतको ५ विकेट लिएका छन् । भारतविरुद्धको उत्कृष्ट प्रदर्शनमा उनले १६ रन दिएर ३ विकेट लिएका छन् । आमिरले कोहलीको अनुपस्थितिको फाइदा उठाउँदै टिम इन्डियाका ब्याट्सम्यानलाई दबाबमा राख्न सक्नेछन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया