धार्चे गाउँपालिका वडा नम्बर ६ : पुनर्निर्माण सकिने गाेरखाकै पहिलो वडा

 असोज ४, २०७५ बिहिबार १८:५५:४४ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखाको धार्चे गाउँपालिकाको वडा नम्वर ६ मा व्यक्तिगत आवास पुननिर्माणको काम सकिएको छ । त्याे वडा अन्तर्गत साविकको काशीगाउँ गाविसभित्रका भूकम्पले भत्किएका सबै घरको पुनर्निर्माण सकिएको हो । 

सुरुमा ३ सय ६८ भूकम्पपीडित लाभग्राही छनौट गरिए पनि गुनासोमार्फत ७९ जना थपिएका वडाध्यक्ष धनकुमार घलेले बताउनुभयो । गुनासो व्यवस्थापनसहित कुल लाभग्राहीको संख्या ४ सय ६८ पुगेकोमा गाउँबाहिर बसोबास गरेका ७ घरबाहेक सबै घरको पुनर्निर्माण सकिएको उहाँको भनाई छ ।

जिल्ला बाहिर र विदेशमा रहेका ७ जना लाभग्राही बाहेक वडाभरका बाँकी सबै घरको पुनर्निर्माण सकिएको हो । लाभग्राही सूचीमा नाम समावेश भए पनि बाहिर बस्दै आएकाहरुलाई घर बनाउने नबनाउनेबारे टुंगो लगाएर त्यस वडालाई व्यक्तिगत आवास पुनर्निर्माण सम्पन्न वडा घोषणा गर्ने वडाध्यक्ष घलेको भनाई छ । ‘जहाँसम्म लाग्छ उनीहरु घर बनाउन आउँदैन होला, तैपनि एकपटक निक्यौल गर्छौँ’, उहाँले भन्नुभयो, ‘घर नबनाउने हो भने उनीहरुको नाम लाभग्राही सूचीमा राख्ने कि नराख्नेबारे पनि छलफल गर्छौँ ।’

सबै घरधनीलाई सम्पन्नताको प्रमाणपत्र दिएपछि सम्भव भएसम्म औपचारिक कार्यक्रम गरी घोषणा गर्ने उहाँले बताउनुभयो । त्यस वडालाई व्यक्तिगत आवास पुनर्निर्माण सम्पन्न भएको जिल्लाकै पहिलो वडा घोषणा गर्न लागिएको हो । धार्चे गाउँपालिका वडा नम्वर ६ को काशीगाउँ गोरखा सदरमुकामबाट २० कोष टाढा रहेको छ । हालसालै गाउँसम्म मोटरबाटो पुगे पनि सहज रुपमा गाडी चल्ने अवस्था छैन । नजिकमा पर्ने आरुघाट बजारबाट निर्माण सामग्री गाउँ पुर्‍याउन पनि उत्तिकै सास्ती छ । निर्माण सामग्री ढुवानी लगायतका काममा वडाले सहयोग गरेकाले पुनर्निर्माणको काम छिट्टै सकिएको वडाध्यक्ष घलेले बताउनुभयो । 

जनप्रतिनिधि निर्वाचित हुनु अघिसम्म धेरेजसो बासिन्दा घर निर्माणबारे अलमलमा थिए । ‘केही एनजीओले जस्तापाता दिएकाहरुले घर बनाउन थालेका थिए, अरुले थालेका थिएनन्’, वडाध्यक्ष घलेले भन्नुभयो, ‘हामीले जितेर आएपछि काठपात र ढुंगाको बस्दोबस्त गराइदियौं, अनि धमाधम घर बन्न थाल्यो ।’ 

गैरसरकारी संस्थाबाट जस्तापातालगायत सामग्री सहयोग पाएकाहरुले फाट्टफुट्ट घर बनाए पनि धेरैजसोले भने निर्माण थाल्न सकेका थिएनन् । काठ र ढुंगााको अभावमा घर निर्माणमा अप्ठ्यारो परिरहेका बेला निर्वाचित भएर आएपछि त्यसका लागि सहजीकरण गरेको गुरुङको भनाई छ । 

वडाध्यक्षमा निर्वाचित भएर आएपछि गाउँ नजिकैको सामुदायिक वनबाट काठ व्यवस्थापन गरेपछि घर निर्माण सहज भएको उहाँले बताउनुभयो । यस्तै घर निर्माणको लागि आवश्यक ढुंगा गाउँ नजिकै भए पनि गाउँलेहरुबीच त्यसको उपयोगका बारेमा अलमल थियो ।

पुनर्निर्माण प्राधिकरणले खटाएका प्राविधिकहरुको समेत निरन्तरको सहयोगपछि व्यक्तिगत आवास पुनर्निर्माण सकिएको उहाँले बताउनुभयो । गाउँमा बनेका सबै घर सरकारी मापदण्ड अनुसार भूकम्प प्रतिरोधी बनेको वडाध्यक्ष घलेको दावी छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया