न्यायाधीश जोशीलाई महाअभियोग लगाउने नेकपाको चेतावनी

 असोज ५, २०७५ शुक्रबार ९:११:४८ | उज्यालो सहकर्मी

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएको छ । संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि राजीनामा दिने अपेक्षा गरे पनि जोशी फेरि सर्वोच्चमै फर्किएपछि महाअभियोग लगाउने तयारी थालिएको नेकपाका नेताहरुले बताएका छन् ।

नेकपाका मुख्य सचेतक देव गुरुङ्गले जोशीलाई महाअभियोग लगाउन सांसदको हस्ताक्षर संकलन भइरहेको जानकारी दिनुभयो । राजीनामा आउला भनेर पर्खिएपनि अहिलेसम्म राजीनामा नआएको, बरु जोशी सर्वोच्चमै फर्किएकाले अब महाअभियोगको विकल्प नभएकाले कुनैपनि बेला महाअभियोग दर्ता गर्ने गरि तयारी भइरहेको बताउनुभयो ।

केही दिनअघि सरकारका तर्फबाट कानुन मन्त्री भानुभक्त ढकालले राजीनामा दिएर सहज निकास निकाल्न गरेको आग्रह पनि अटेरी गर्दै जोशी सर्वोच्च फर्किएपछि नेकपा रुष्ट बनेको हो ।

प्रधानन्यायाधीशमा अयोग्य रहेको सुनुवाई समितिको निर्णयपछि ३७ दिन बिदामा बसेका जोशी अर्का प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पदवहाली गर्ने दिन सर्वोच्च फर्किनुभएको थियो । त्यसयता उहाँ नियमित काममा फर्किनुभएको हो ।

प्रधानन्यायाधीशका लागि संसदीय समितिले अयोग्य ठहर गरे पनि सर्वोच्चमा जोशी नै बरिष्ठतम न्यायाधीशका रुपमा रहनुभएको छ । एक चौथाई सांसदले महाअभियोग दर्ता गर्न पाउने र दुई तिहाई बहुमतले महाअभियोग पारित गर्न सक्ने संवैधानिक व्यवस्था छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया