रामप्रसाद ओझाका हत्यारा सार्वजनिक

 असोज ५, २०७५ शुक्रबार १४:३७:१० | निर्मला खडायत
unn.prixa.net

कैलाली – गएको भदौ २८ गते राति जोशीपुर गाउँपालिका वडा नम्बर–१, का रामप्रसाद ओझाको पैसा लुट्ने योजनाले हत्या गरेको तथ्य खुलेको छ ।

उनको हत्या गर्ने तीन जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । किराना व्यावसायी ओझाको हत्या गर्ने जोशिपुर गाउँपालिका वडा नम्बर १ बस्ने राजकुमार डगौरा चौधरी, गंगाराम चौधरी र गोदावरी नगरपालिका वडा नम्बर ८ का डम्मर चौधरीलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको हो ।

चौधरी समूहले पूर्व योजना बनाएर ओझाको हत्या गरेको प्रहरीको भनाई छ । मृतकको पसलमा गइ उनलाई प्लाष्टिक कभर भएको तारले घाँटी कसेर हत्या गरिएको प्रमाण भेटिएको कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताउनुभयो ।

पसलमा रहेको नगद, कागजात, मोबाइल समेत चोरी गरी फरार रहेका चौधरी समूहलाई असोज ३ गतेमात्रै पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो । उनीहरुबाट १ थान मोबाइल, ७ हजार १ सय १० नगद र एक एक सयका २२ थान रिचार्ज कार्ड बरामद गरिएको वलीले जानकारी दिनुभयो ।

ओझाको परिवारलाई पसलमा भएको नगद र समानका बारेमा जानकारी नभएका कारण कती लुटपाट भयो भन्ने कुरा स्पष्ट नभएको प्रहरी नायब उपरीक्षक वलीले जानकारी दिनुभयो ।

जोशीपुरका गंगाराम चौधरी र राजकुमार डगौरा थारु प्रत्यक्ष घटनामा संलग्न रहेको र गोदावरी नगरपालिका वडा नम्बर ८ का डम्मर चौधरीले घटनामा सहयोग गरेको बयान आएको प्रहरी नायब उपरीक्षक वलीले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया