बलिउड अभिनेत्री करीना कपूर खान आज जन्मदिन मनाउँदै, ३८ वर्ष लागिन् ‘बेबाे’

 असोज ५, २०७५ शुक्रबार १४:५५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडकी चर्चित अभिनेत्री करीना कपूर खान आज उनको ३८औं जन्मदिन मनाइरहेकी छिन् ।

करीनाकी आमा गर्भवती हुँदा उनले अन्ना करेनीना पुस्तक पढेकी थिइन् । करीनाको जन्म भएपछि उनको नाम सोही पुस्तकबाट लिएर राखिएको हो । तर उनलाई घरमा मायाले बेबो नामले बोलाइन्छ । करीनाको जन्म सन् १९८० सेप्टेम्बर २१ मा भारतको मुम्बईमा भएको थियो । 


 
करीनाको जन्म एक फिल्मी पृष्ठभूमि भएको परिवारमा भएको थियो । उनका बुवा रणधिर कपूर र आमा बबिता एक जमानाका चर्चित कलाकार हुन । साथै उनी अभिनेता राज कपूरकी नातिनी हुन भने पृथ्वीराज कपूरकी पनातिनी हुन । करीना अभिनेता ऋषि कपूरकी भतिजी हुन् साथै अभिनेत्री करिश्मा कपूरकी कान्छी बहिनी हुन् । 


 
करीना र दिदी करीश्माबीचको सम्बन्ध निकै प्रगाढ रहेको छ । उनकी दिदी करिश्माको जब अभिषेक बच्चनका साथ इन्गेजमेन्ट टुट्दा होस वा करिश्माका पतिका साथ सम्बन्ध विच्छेद हुँदा होस् करीना सदैव दिदी करिश्माको साथमा रहिन् । 

करीनाले मुम्बईको जमनाबाई नर्सी स्कुलबाट पढाइको सुरुवात गरेकी थिइन् । त्यसपछि उनलाई देहरादुनको वेलहम गल्र्स बोर्डिङ्ग स्कुलमा पठाइएको थियो । त्यसपछि उनले मुम्बईको मिठीबाई कलेजबाट स्नातक गरिन् । तर उनले डीग्रीको पढाइ गर्दागर्दै बीचैमा कलेज जान छोडिदिइन् । 

त्यसपछि उनी अमेरिकाको चर्चित हार्वर्ड यूनिभर्सिटी गइन् । त्यहाँबाट उनले कम्प्यूटरको तीन महिनाको कोर्स पूरा गरिन् । त्यसपछि करीनालाई कानुन पढ्ने रुचि भयो । एक वर्षसम्म उनले कानुन विषय पनि पढिन् तर बीचैमा उनी अभिनयतर्फ आर्षित भइन् र कानुनको पढाइ पनि छोडिन् । 

करीनाले उनको फिल्मी करियरको सुरुवात राकेश रोशनको सुपरहिट फिल्म ‘कहो ना प्यार हे’ बाट गर्ने तयारीमा थिइन् । यसका लागि उनले कैयांै दृष्यहरु पनि छायाँकन गरेकी थिइन् । तर केही कारणवस उनले यो फिल्म बीचैमा छोडेकी थिइन् । त्यसपछि यस फिल्ममा अभिनेत्री अमीषा पटेलले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । 

त्यसपछि करीनाले जेपी दत्ताको फिल्म ‘रिफ्यूजी’ बाट बलिउडमा डेब्यू गरिन् । यस फिल्ममा उनको जोडीको रुपमा अभिनेता अभिषेक बच्चन थिए ।  यस फिल्मबाट उनलाई खासै सफलता मिलेन तर करीनाको अभिनयको सबैले तारीफ गरेका थिए । यस फिल्मबाट करीनाले फिल्म फेयर बेस्ट फिमेल डेब्यूको पुरस्कार जितेकी थिइन् । 

त्यसपछि करीनाले कहिले पछि पछाडी फर्किएर हेर्नु परेन । उनले आफ्नो अभिनय र सुन्दरताको बलमा बलिउड फिल्म उद्योगकै चर्चित र सफल अभिनेत्रीको रुपमा अफुलाई स्थापित गरिन् ।

करीनाले सैफ अली खानका साथ विवाह गरेकी छिन् । उनीहरुकाे एक सन्तान तैमुर अली खान छन् । तैमुरको जन्मपछि केही वर्षको विश्राम लिएकी करीना फेरि उनी बलिउडमा फर्किएकी छिन् । आज पनि उनका हातमा कैयौं फिल्महरु छन् ।

उनी छिट्टै नै निर्देशक तथा निर्माता करण जोहरको फिल्म ‘तख्त’ मा देखिनेछिन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया