प्रधानमन्त्री रोजगार कार्यक्रममा सघाउन अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक

 जेठ २२, २०७५ मंगलबार १६:१३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई सघाउन नेपालले राखेको प्रस्तावमा अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक देखिएको छ । 

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित सञ्चालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रमलमई सघाउन अन्तर्राष्ट्रिय श्रम सम्मेलनका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संगठनका महानिर्देशक गाय राइडरलाई मंगलबार आग्रह गर्नुभएको हो । 

महानिर्देशक राइडर नेपालको श्रम क्षेत्रमा सहयोग र सहकार्य बढाउन सकारात्मक भएको मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा मुलुकभित्र रोजगारी सिर्जना गर्न, कामका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

व्यावसायिक कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात, पूर्वाधार र तीन वटै सरकारका सार्वजनिक निर्माणका अन्य क्षेत्रलाई सो कार्यक्रममा आबद्ध गर्ने सरकारको लक्ष्य छ ।

यसका लागि तीन अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो कार्यक्रममार्फत आगामी आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी दिने सरकारको योजना छ । 

संगठनको १०७ औंँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनका क्रममा मन्त्री विष्ट स्वीट्जरल्याण्डको जेनेभामा हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया