बजार अभावमा जंगलमै कुहियो लाखाैंको नागबेली

 असोज ६, २०७५ शनिबार १५:२८:५६ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतको उत्तरी क्षेत्रमा संकलन गरिंदै आएको लाखौं रुपैयाको नागबेली झारको पाउडर बिक्री हुन छाडेपछि जंगलमै कुहिएको छ । 

जडीबुटी प्रशोधन उद्योगले किन्न नमानेपछि उत्तरी क्षेत्रका सामूदायिक वनमा संकलन हुँदै आएको नागबेली झारको पाउडर कुहिएको हो । पाउडर बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका उपभोक्ता भने बिक्री हुन छाडेपछि निरास भएका छन् ।
 
जडिबुटी उद्योगले सस्तो मूल्यमा पाउडर खरिद गर्न खोजेपछि संकलकहरुले सामूदायिक वनबाट पाउडर लिन छाडेका छन् । पाउडर संकलनका लागि कम्पनीहरु नआएपछि वनमा नै कुहिएको छ भने कतिपय उपभोक्ताले संकलन गरेको पाउडर बिक्री नहुँदा घरमै थन्किएको छ । 

पर्वतको जलजला गाउँपालिका वडा नं–९ बनौ, वडा नं–५ लेखफाँट, वडा नं–६, शालिजा तथा मोदी गाउँपालिकाको वडा नं. १ भुकताङ्ले र वडा नं. ४ क्याङका सामुदायिक वन उपभोक्ता समूहले नागबेलीको पाउडर संकलन गर्दै आएका थिए । 

स्थानीय कमेरे तथा छहरे पाखा सामूदायिक वन उपभोक्ता समूह क्याङका सदस्य श्याम प्रकाश पुर्जाका अनुसार अहिले बिक्रि हुन छाडेपछि संकलन गर्न पनि छाडिएको छ  । ‘किन्ने मान्छे नै नआउँदा वनमै पाउडर झरेर गयो’ उहाँले भन्नुभयो ‘यस क्षेत्रमा संकलन हुने १० टन जति पाउडर जंगलमै खेर गएको छ ।’
 
नागबेली झारबाट संकलन गरिने पाउडर कण्डोम, अस्पतालमा प्रयोग गरिने प्लाष्टिकका पञ्जा तथा ब्यूटी पार्लरका सामानहरु, पाउण्डर लगायतका समानहरु निर्माणमा प्रयोग हुन्छ ।  

स्थानीय स्तरमा लहरे झार, सिन्धुरे, वनमाला, सिमाल लगायतका नाममा परिचित नागबेलीलाई विगतका समयमा विवाह ब्रतबन्ध लगायतका कार्यहरुमा गेट सजाउने काममा उपयोग हुने झारको कोसाबाट विभिन्न श्रृङ्गारका सामाग्रीहरु बन्ने थाहा पाएपछि स्थानीयले दुई वर्षसम्म राम्रो आम्दानी लिन सफल भएका थिए ।

साविक क्याङ गाविसका ३ सामुदायिक वन समुहले छुट्टाछुट्टै समुहमा नागबेली कोसा संकलनमा गर्ने गरेका थिए । 

यसरी संकलन गरिएको कोसालाई घाममा सुकाएर प्रशोधन गरी पाउडर बनाएर बिक्रि गरिंदै आएको थियो ।  

लोहोसे सामुदायिक वन उपभोक्ता समूह खुइजुरीबाट २ सय किलो र छहेरे तथा कमेरा पाखा बन समुहबाट १ सय ५० किलो पाउडर उत्पादन गरी विक्रि गरिएको थियो । 

चिसापानी वन समूह लेस्पारले भने कोसा नै बिक्रि गरेको थियो । यसरी बिक्रि गर्दा प्रतिकिलो ७ सय देखि ८ सय रुपैँयासम्म रकम आम्दानी हुने गरेको थियो ।     

अन्तिम अपडेट: बैशाख ६, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया