लेबनान भनेर सिरिया

 असोज ६, २०७५ शनिबार १७:५४:१० | उज्यालो सहकर्मी

बसन्त घिमिरे

काठमाडौं – छोरीलाई बोकेर आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि शान्तकुमार (नाम परिवर्तन)ले पीरको पोको बिसाउनुभयो । 

सिरियाबाट फर्किएकी छोरी लिन सिन्धुपाल्चोकबाट शुक्रबार त्रिभुवन विमानस्थल पुगेका शान्तकुमारसँग विगतको पछुतो मात्रै छ । गरिबीले छोरी विदेश पठाउनु पर्दाको पछुतो । 

‘छोरी दलालकै कुरा सुनेर विदेश जाने भनिन्, त्यो बेलामा नजाउ भन्न सकिनँ, ४५ हजार रुपैयाँ त मैले नै ऋण खोजिदिएको हुँ,’ शान्तकुमारले सम्झनुभयो । 

शान्तकुमारकी जेठी छोरी हुन्, मनमाया (नाम परिवर्तन) । घरमा आन्दानीको स्रोत केही थिएन । तीन भाइ र दुई बहिनीलाई पढाउनुपर्छ, बढाउनुपर्छ भन्ने मनमायाको सोंचमा मलजल गरे पल्लो गाउँका चिनजानकै दलालले । 

छोरीले कुरामा सन्तकुमार पनि सहमत हुनुभयो । त्योबेला उहाँले छोरीलाई विदेश जान दिनुको कारण एउटै थियो, दलालले घरेलु काममा लेबनान पठाउने भनेका थिए । 

विदेश पुगेको केही दिनसम्म त छोरीको खबर थाहा भैरहन्थ्यो । त्यसपछि छोरीको सञ्चोबिसञ्चोको खबर पनि आउन छाड्यो । अनि शान्तकुमारको काँधमा कमाउन गएकी छोरी खोज्ने जिम्मेवारी थपियो । 

लेबनानको लोभ देखाएर सिरिया

२०७१ जेठमा मनमाया दलालले भनेजस्तै घरेलु काम गर्ने सपना बोकेर लेवनान उड्नुभयो । लेवनान त पुग्नुभयो, तर एक हप्ताभन्दा त्यहाँ बस्न पाउनुभएन । लेवनानको एक हप्ते बसाईपछि मनमाया सिरिया पुग्नुभयो । 

‘कसरी पुगेँ भन्ने केही थाहा छैन, त्यहाँ एउटा घरमा सबै काम गर्न पथ्र्यो,’ मनमाया सुनाउनुहुन्छ । घर बाहिर कस्तो थियो मनमायाले देख्नुभएन ।

‘घरको काम बिहानदेखि राती साहु नसुत्दासम्म गर्नु पथ्र्यो, बाहिरबाट के के पड्किएको आवाज त सुनिन्थ्यो,’ मनमाया सम्झनुहुन्छ, ‘साहुले कतै ननिस्कनु, घर नजिकै एअरपोर्टमा युद्ध भयो, बम पड्कियो भनेका थिए ।’ 

बाहिर पड्किएको बमको आवाजले मनमयालाई घर सम्झाइरहन्थ्यो । घर छाडेर एकैपटक युद्धभूमिमा के मन मान्थ्यो र । मनमायाले साहुलाई घर फर्काइदिन अनुरोध गर्नुभयो । 

तर साथमा न पासपोर्ट, न त घरको नम्बर नै थियो । ‘पासपोर्ट र नम्बर त कहाँ हरायो पत्तै भएन, पासपोर्ट नभएपछि कसरी घर आउनु,’ मनमाया भन्नुहुन्छ । घरभित्र छिरेदेखि उहाँको सिरिया कस्तो थियो भनेर देख्न पाउनुभएन । 

‘एकदिन साहुले गाडीमा राखेर बाहिर ल्याए, कहाँ लगे भन्ने कुरा पनि थाहा थिएन, एकैपटक काठमाडौं पो आइपुगिएछ,’ अचम्म मान्दै मनमाया सुनाउनुहुन्छ, ‘यहाँ झरेपछि पो थाहा पाएँ , नेपाल रहेछ भनेर ।’ 

यसरी भयो उद्धार

मनमायाले विदेश पुगेपछि चार, पाँच पटक फोन गर्नुभयो । तर त्यसपछि घरमा कुनै खबर आएन । छोरीको खबर नआएपछि सिन्धुपाल्चोकमा बुवा शान्तकुमारको बेचैनी बढ्यो । ‘प्रत्येक दिन वडा कार्यलय पुगें छोरी हराइ भनेर तर कसैले सुनेनन्,’ शान्तकुमार गुनासो गर्नुहुन्छ । 

छोरीको खोजीमा चार वर्ष भौंतारिएपछि उहाँ तीन महिनाअघि काठमाडौं बानेश्वरमा रहेको सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेश्नल रिलेसन्स (सीएमआइआर)को कार्यालय पुग्नुभयो । शान्तकुमारसँग मनमायाको नागरिकता, पासपोर्ट र विदेश पुगेपछि फोन गरेको नम्बर थियो । 

वैधानिक रुपमै २०७१ सालमा रोजगारीका लागि लेबनान गएको टुङ्गो भयो । मनमायाले फोन गरेको नम्बर दुईवटा लेबनानको र तीनवटा सिरियाको थियो ।

सीएमआइआरको निरन्तर प्रयासमा १५ दिनपछि सिरियाको नम्बरमा फोन उठ्यो । फोन उठाउने व्यक्ति सिरियामा महिलालाई घरेलु काममा पठाउने काम गर्ने कर्मचारी थिए । तिनै कर्मचारीले मनमायलाई नेपाल फर्काउन सहयोग त गर्ने भए, तर साथमा पासपोर्ट नभएकाले समस्या भयो । 

इजिप्टमा रहेको नेपाली दूतावासले मनमायालाई यात्रा अनुमती पत्र बनाएर सिरिया पठाउन सहयोग गर्‍यो । ट्राभल डकुमेन्ट उपलब्ध भएपछि मनमाया गएको शुक्रबार नेपाल फर्किनुभयो । 

झण्डै पाँच वर्ष विदेशमा बसेकी मनमायासँग साहुले हिँड्ने बेलामा दिएको १७ सय सिरियाली पाउण्ड (नेपाली करिब तीनसय ५० रुपैयाँ), प्लाष्टिकको थैलीमा झुण्ड्याएर ल्याएको ट्राभल डकुमेण्ट, बोर्डिङ पास, संघर्षको पाँच वर्ष र परिवारसँगको विछोडका वेदना बाहेक अरु केही छैन ।

नेपाली महिलाहरु विभिन्न देशको बाटो हँुदै नेपाल सरकारले रोक लगाएको देशहरु जस्तै इराक, सिरिया तथा विभिन्न युद्धग्रस्त देशहरुमा पुगेको घटना यो नौलो हैन । 

अहिले नेपाल सरकारले विदेशमा घरेलु कामदारका रुपमा जान रोक लगाएको छ । तर भारतको बाटो हुँदै विभिन्न देशमा घरेलु कामरको रुपमा जाने क्रम भने रोकिएको छैन ।

केही महिनाअघि मात्र भारत हुँदै विभिन्न देशमा पठाउनको लागि दिल्ली पुर्‍याइएका ५० भन्दा धेरै नेपाली महिलाहरुलाई दिल्ली महिला आयोगले नेपाल फर्काएको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया