'सय वर्ष लाग्नु भन्या पनि एउटा रमाइलै त हो नि !'

 असोज ७, २०७५ आइतबार ७:११:८ | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

असोज ७ गते एक सयौँ जन्मदिन मनाइरहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग कुराकानी गर्न जाने कुरा भयो । केही महिना पहिले सिकिस्तै भएर उपचारपछि आराम गरिरहेका घिमिरेसँग कुराकानी गर्नका लागि उहाँका छोरा राजिवलाई समय मिलाउन आग्रह गरेँ । 

राष्ट्रकविसँग समय लिइसकेपछि उहाँलाई के–के सोध्ने होला भनेर पूरा दिन घोत्लिएँ । फेरि राजिवले ‘बुवालाई १५–२० मिनेटभन्दा बढी बोल्न चाहिँ अलि गाह्रो हुन्छ है भनेको सम्झिएँ ।’

राष्ट्रकविले थोरै समय मात्रै बोल्ने भएपछि उनका पुराना अन्तर्वार्ता हेर्ने र पढ्ने काम गरेँ । मात्रै तीन–चार वटा प्रश्न तयार पारेँ । 

मंगलबार दिउँसो साथी विशाल कार्की र म लैनचौरबाट अलि भित्र रहेको घिमिरेको घरमा पुग्यौँ । कपूरधारतिरबाट गएकाले बाटोमा अलमलियौँ । एकजना आमाले बताएको अनुसार राष्ट्रकविको घरबाहिर पुगियो । गेटबाहिरबाटै घरका कोठामा राष्ट्रकविका कदरपत्र र सम्मानपत्रहरु देखेपछि घर ठम्याउन गाह्रो भएन । 

घरमा उहाँ र उहाँकी अर्धाङ्गिनी महाकाली घिमिरे मात्रै हुनुहुँदो रहेछ  । ओछ्यानमा आराम गरेर बस्नुभएका राष्ट्रकवि घिमिरे कुराकानीका लागि तयार हुनुभयो । ‘हामीले भिडियो पनि खिच्छौँ है’, भनेपछि उहाँले अर्धाङ्गिनी महाकालीसँग ढाका टोपी माग्नुभयो । शीरमा सलक्क ढाका टोपी मिलाउँदै उहाँले सोध्नुभयो, ‘लगाको मिल्या छ ?’ 

जीवनको उतरार्द्धमा पनि राष्ट्रकवि माधवप्रसाद घिमिरे साहित्य सिर्जनमा निरन्तर लागिरहनु भएकाे छ । उमेरले सय पुग्दा पनि उही हँसिलो र रसिलो अनुहार । 

आफ्ना साहित्य सिर्जनामा प्रकृतिकै वर्णन गर्ने राष्ट्रकवि घिमिरे सरद ऋतुमा पनि मुहार उज्यालिएन भने कहिले उज्यालिन्छ त भनेर प्रश्न गर्नुहुन्छ ? 

कुराकानीको सुरुमै स्वास्थ्य अवस्थाबारे सोध्दा राष्ट्रकवि यसो भन्नुहुन्छ, ‘बुढो मान्छे, बुढो मान्छेलाई कस्तो छ भन्ने । तर नभएको अनावश्यक दुःख ओढ्न चाहिँ हुन्न । किन दुःख भोग्ने ? सकभर सुखी नै हुनुपर्छ ।’ 

‘म बोल्ने स्थितिमा पनि थिइनँ । तपाईँहरुले समय लिएको कारणले पनि मैले रित्तै के फर्काउने भनेर बोल्न लागेको हूँ ।’

प्रकृति नै उज्यालो भएको बेला नरमाइलो मान्नुपर्ने कारण नै के छ र भन्दै राष्ट्रकवि भन्नुहुन्छ, ‘उज्यालो मुख लगाएर बोलूँ भने बिरामी मान्छे तर रुन्चे मुख किन लगाउने ?’

साहित्य सिर्जना भनेको लेख्ने मात्रै होइन, कल्पना पनि हो  

साहित्य सिर्जना भनेको कापी र कलम मात्रै लिएर बस्ने होइन भन्दै राष्ट्रकवि घिमिरे भन्नुहुन्छ, ‘कुनै सिर्जना गर्नु भनेको तीन वर्ष कलम र कापी लिएर घोप्टिएर बस्ने त होइन । कल्पना कुन बेला आउँछ थाहै हुँदैन तर आङ चाहिँ थाप्नुपर्छ । कविले आङ थाप्यो भने कविको कविता सिर्जना हुन्छ । चित्रकारले आङ थाप्यो भने चित्रकारले चित्र कोर्छ ।’ 

राष्ट्रकवि घिमिरे कल्पना गर्न सजिलो तर लेख्न चाहिँ गाह्रो हुने बताउनुहुन्छ, ‘लगातार लेख्न सकिन्न । कल्पना चाहिन्छ । कविता भनेकै कल्पना हो । भात खायो भने खाएँ, सुत्ने बेला भयो, सुतेँ । यो कविता त होइन ।’  ‘१० दिनको सुत्केरी घरमा छ । उसलाई केही खुवाउन पाइन्छ कि भनेर कसैले मागेको देख्यो भने त्यहाँबाट कविताले कविता सुरु गर्छ । त्यसलाई कवि हृदय भन्नुहोस् वा कल्पना भन्नुस् कवि सुरु भयो ।’ 

अब सय वर्ष लागेँ । सय वर्ष लाग्नु भनेको पनि एउटा रमाइलै त हो नि । सय वर्ष लाग्यो । लाग्यो त लाग्यो । त्यसलाई कसरी प्रकट गर्ने । पूजाआजा गरेर, आशिक लिएर त्यही त हो नि ।

साहित्य सिर्जनामा सर्जकको विचार यही नै हो भनेर भन्न पनि कठिन हुने बताउँदै राष्ट्रकवि भन्नुहुन्छ,  ‘सिधा यता पनि होइन, उता पनि होइन । विज्ञानमा, न्यायालयमा, गणितमा र कानुनमा एउटा सिधा रेखा कोर्न सकिन्छ तर कवितामा एउटै अर्थ हुँदैन ।’

कुराकानीकै सिलसिलामा राष्ट्रकवि आफ्नै कवितालाई केलाउन थाल्नुहुन्छ : नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे । यो कुरा केलाई लिएर बोलेको । कविले देशका बारेमा बोल्यो । कविले देशको माया, राष्ट्रप्रेमका बारेमा कविता रच्यो । उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।’ 

पूर्वीय दर्शन नै अब्बल

राष्ट्रकवि मानिसको जीवनमा विज्ञान प्रविधिको महत्व हुँदाहुँदै पनि चिन्तन, अध्यात्म र कला संस्कृतिको ठूलो महत्व हुने बताउनुहुन्छ । राष्ट्रकवि भन्नुहुन्छ, ‘मन्दिरका गजुरहरुको जे अर्थ लगाए पनि हुन्छ । ठूलो देशको मान्छेको के अर्थ लगाउने ? देश ठूलो भएर मात्रै भएन, कलाको रुप पनि ठूलो हुन पर्यो । संस्कृतिको रुप पनि ठूलो हुन पर्यो । ऋषिमुनि, महात्माहरुले मनको उज्यालो, चिन्तनको उज्यालो, अध्यात्मको ज्योति दिएर गए ।’ 

बिउँझौँला कहाँ पूर्वको नौलो उज्यालै नरहे
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे...

घिमिरे भन्नुहुन्छ, ‘विज्ञान पनि चाहिन्छ तर अध्यात्म चिन्तनले हामीलाई अगाडि बढ्न सघाउँछ ।’ 

गीत बारम्बार सुन्न मन लाग्ने 

कविता एकपल्ट सुनेर वा पढेर पुग्ने भए पनि कुनैकुनै गीत बारम्बार सुन्न मन लाग्ने उहाँ बताउनुहुन्छ, ‘कविताको पंक्ति एकबाजी सुनेर बिर्से पनि ठिकै छ । तर गीतको स्थायी अन्तरा बारम्बार त्यही भन्नुपर्छ । अरु तीनवटा अन्तरा पूरा गर्न । कहिलेकाहीँ मानिसको जीवनमा यस्तो अदभूत कुरा आइलाग्छ कि त्यो एकबाजी भनेर बस्न हुँदैन । नेपालै नरहेमा, देश नरहेमा के हुन्छ त ? देश के हो त त्यसो भए ? देश कल्चर, चिन्तन हो, अध्यात्म र कला हो । जनसंख्या आदि इत्यादि पनि हो । कला, संस्कृति, माया प्रेम अब कति छरियो हो कि होइन ? त्यो चिजले कति चिज घेरे । उचाइ हाम्रो कहाँ चुलिन्छ कहाँ हिमालै नरहे ?’

यति भन्दै गर्दा राष्ट्रकवि घिमिरे फेरि कविता र कल्पनाकै कुरा गर्नुहुन्छ । 

‘होइन कविले कति मज्जाको राम्रो पंक्ति लेखेछ है भन्नुहुन्छ तपाईँ ।’ 

तिम्रो प्रिती पहिले हो कि मेरो प्रिती पहिले
जान्दिन म एकैचोटि के भो कुन्नी कहिले ?

यी पंक्ति एकचोटी गाएर कसैको धित मर्दैन भन्नुहुन्छ घिमिरे, ‘एकचोटी भनेर कसैको चित्त बुझ्दैन । मैले मेरो गीत भनेर फुर्ती लगाएजस्तो भो तर त्यो होइन । गीत भनेको बारम्बार गाउन मन लाग्छ । कहिले गाएर रहरै नपुग्ने । सधैँ नयाँ भन्ने  कि के भन्ने । अरुको दृष्टिमा हाम्रो उमेर पनि गयो, संसार बदलिँदै गयो, अर्कै भैसक्यो, नरमाइलो भयो  भन्दै बसेर पनि हुँदैन । तर कविको हृदयमा त्यस्तो हुँदैन । अहिले पनि त सरद ऋतु त आयो नि  । उज्यालो त आयो नि ।’ 

मानिसको जीवनमा दुःखसुख आइरहने भन्दै त्यसलाई सामान्य रुपमा लिएर अघि बढेमा मात्रै सफलता हात पर्ने उहाँको भनाई छ । ‘अहिलेको उज्यालोलाई उज्यालो नदेखे तपाईँ जिएको के अर्थ भो त’ उहाँ सोध्नुहुन्छ । ‘यस्तो सुन्दर श्रृष्टि छ, त्यसका लागि कविता चाहिन्छ । यसको मतलब राजनीतिको सिद्धान्त चाहिन्न भनेको होइन मैले । सबै कानुन चाहिन्छ, संहिताहरु चाहिन्छ । विज्ञान चाहिन्छ । दर्शन चाहिन्छ । तर कविता र गीतको लक्षण चाहिँ के भन्दाखेरी एकबाजी सुनेर नपुग्ने ।’ 

मायाप्रेमकै विषयमा आफ्ना सिर्जना भएकाले होला फेरि राष्ट्रकवि मायाकै कुरा गर्नुहुन्छ । ‘माया एकबाजी लगाएर पुग्छ त ? माया प्रेमकै बारेमा धेरै गीत लेखिन्छ ?’

सात मिनेट बोल्छु भनेका राष्ट्रकवि लगभग १५ मिनेट बोलिसक्नुभएको थियो । कला साहित्य, चिन्तन र अध्यात्मका कुरा सुनाउँदा सुनाउँदै उहाँले समय गएको पत्तै पाउनु भएन । आफूलाई अलि गाह्रो महसुस भएपछि उहाँले भन्नुभयो, ‘अब म धेरै बोल्दिन एउटा प्रश्न मात्रै सोध्नुस् ।’

विरहमा पनि कवि मन रमाउन सक्नुपर्छ

२८ वर्षको उमेरमा आफूलाई भन्दा बढी माया गर्ने धर्मपत्नी गौरीलाई गुमाएपछि घिमिरेले शोककाव्य नै तयार पार्नुभयो ‘गौरी’ । गौरी पढेर आँखा नरसाउने कमै होलान् । टुहुरा छोरीहरु कान्ति र शान्तिको छटपटी मात्रै होइन, गौरीको कल्पनामा आफू डुबेको कुरा ‘गौरी’मा समेट्नुभएको छ । विरहलाई पनि जीवनको एउटा सुन्दर पक्ष मान्ने मान्छे मात्रै कवि हुन्छ भन्दै राष्ट्रकवि घिमिरे भन्नुहुन्छ : 

‘मान्छे अचम्मको छ । मिठो दालभात तरकारी छ, तर तपाईँलाई अलिकति पिरो किन चाहियो ? जीवनमा सुखैसुख भएर मात्रै पनि हुँदैन । विरह पनि चाहिन्छ । सबैभन्दा ठूलो कुरो कसैको दुःखमा कठै भनिन्छ कि भनिन्न ? कठैबरा विरह मन पलाएरै भन्या हो नि, होइन त ? सकभर विरह कसैलाई भोग्नु नपरोस् । पर्यो भने सबैले मिलेर समाधान गर्नुपर्छ, बिर्सन पर्छ । सबैलाई विरहै–विरह परोस् पनि भन्या होइन । विरह नथप्नुस् । तपाईँले कहिलेकाहीँ बाजा बजेको सुन्नुहुन्छ । गन्धर्वको सारङ्गी र्‍याइँर्‍याइँ अथवा उस्तादको आलाप । अथवा भ्वाइलिन रोएजस्तो । त्यो सुन्नुभयो भने मात्रै तपाईँलाई राम्रो लाग्छ । यसको अर्थ रुनु मात्रै होइन, हाँसो खुसी पनि हो ।

कविताले सबैलाई स्वीकार गर्छ । दुःख पनि स्वीकार गर्छ । सानो मान्छेलाई ठूलो मान्छेलाई भन्दा महत्व कविताले दिन्छ । कविताको किसिम नै अलग हुन्छ । कला साहित्यको कामै त्यस्तै हुन्छ । सानो एउटा टुक्राले पनि रुवाइदिन्छ । तपाईँ कथा पढ्दै जानुहुन्छ, तर एउटा ठाउँमा तपाईँको बररर आँसु आइदिन्छ । रुन्छु भनेको पनि होइन तर आँसु आयो । तर त्यो मान्छेप्रति तपाईँको सहानुभूति प्रकट हुन्छ । तपाईँ आफ्नो घरमा हुनुहुन्छ । त्यो मान्छे कहाँ छ, थाहा छैन तर तपाईँ रुनुुहुन्छ । कल्पना त हो नि । कल्पना त हो तर कति सत्य । कल्पना हुँदाहुँदै सत्य हुनुपर्छ । त्यसपछि मात्रै कविताको अर्थ विशेष हुन्छ ।’ 

यति बोल्दै गर्दा राष्टकविको जोश अलि कम भएको थियो । अनि त्यसपछि उहाँले ल है धेरै नबोलौँ है भन्नुभयो । 

मलाई उहाँले काम गरिरहेको ऋतम्भरा महाकाव्यको काम कहाँ पुग्यो भनेर जान्ने इच्छा थियो । सय वर्षको उमेरमा पनि काव्य सिर्जनामा लाग्नु नै अदभूत थियो । उहाँसँग कला साहित्य र सिर्जनाका बारेमा कुरा गर्नु नै मजस्तो व्यक्तिका लागि एउटा दुस्साहस थियो । यसअघिकै प्रश्न अन्तिम थियो राष्ट्रकविका लागि तर मलाई भने अझ बोलिदिए हुन्थ्योझैँ लागिरहेको थियो । सोधिहालेँ, ‘राष्ट्रकविज्यू ऋतम्भराको काम कहाँ पुग्यो ?’

‘सोध्दासोध्दा सोध्ने मान्छे पनि आत्तिए । उत्तर दिँदादिँदा म पनि आत्तिएँ । अलिअघि एकबाजी म तल लोटेँ । मेरो शीरबाट पैतालासम्म पसिना आयो । पूरा बदलिएँ म त । त्यसपछि केही समय त मैले लेख्न पनि सकिनँ । त्यसपछि फेरि लेख्न सुरु गरेँ । तर जुन किसिमको झररर आउनुपर्ने हो आएन । अनि पर्खिँए मैले । अझै पनि पर्खेको छु । यो कुरामा म अघोरी छु । राम्रो अर्थमा भन्या है अघोरीचाहिँ । एउटा काममै लाग्या छ, लाग्या छ । भनेजस्तो भावना नआएसम्म बरु महाकाव्य नसकिए नसकियोस् । अब दुई सर्ग बाँकी छ ।’

सयौँ जन्मदिन मनाइरहँदा उहाँमा अर्कै उत्साह थियो । सयौँ जन्मदिनलाई एउटा उत्सवका रुपमा मनाउने भन्दै उहाँले भन्नुभयो, ‘अब सय वर्ष लागेँ । सय वर्ष लाग्नु भनेको पनि एउटा रमाइलै त हो नि । सय वर्ष लाग्यो । लाग्यो त लाग्यो । त्यसलाई कसरी प्रकट गर्ने । पूजाआजा गरेर, आशिक लिएर त्यही त हो नि ।’

राष्ट्रकविसँगको झण्डै १७ मिनेटको कुराकानीपछि हामी निस्कनै लागेका थियौँ । राष्ट्रकविले मेरो हात तानेर ओछ्यानमा बस भन्नुभयो ।  अनि साथीलाई तस्बिर खिच्न आग्रह गर्नुभयो । उहाँसग एउटा फोटो खिचूँ है भन्ने आँट नै आएको थिएन, तर उहाँले नै तानेर फोटो खिच्न आग्रह गरेपछि मेरो मन फुरुङ्ग हुने नै भयो । मलाई जसरी नै उहाँले साथीलाई पनि आफूसँग फोटो खिच्न आग्रह गर्नुभयो । 

धेरै अघिदेखिको राष्ट्रकविसँग साक्षात्कार गर्ने सपना पूरा भएकोमा मन त्यसै फुरुङ्ग भएको थियो । बिदा माग्दै गर्दा उहाँले मसँग सोध्नुभयो, ‘तपाईँको घर कहाँ रे ?’
म एकछिन रोकिएँ । मैले कुराकानीकै सुरुवातमा आफ्नो घर बताइसकेको थिएँ ।

त्यसपछि राष्ट्रकवि घिमिरे आफैले भन्नुभयो, ‘यो प्रश्न किन गरेँ होला मैले ? एकछिनको एकछिनमै बिर्सन लाग्याछु आजकल । अघिमात्रै सोधेको थिएँ तपाईँको घर पाल्पा भन्नु भएको थियो  नि ।’

एकछिनमै फेरि सबै कुरा सम्झँदै उहाँले भन्नुभयो, ‘अत्यन्तै रमाइलो छ है पाल्पा ।’

यति भनेपछि हामीले उहाँसग बिदा माग्यौँ । राष्ट्रकविसँगको १७ मिनेट बोकेर हामी फुरुङ्गै भएर फर्कियौँ ।

उहाँको महाकाव्य ‘ऋतम्भरा’ चाँडै नै पूरा होस् । 

अन्त्यमा एक सयौँ जन्मदिनको अवसरमा उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना ।

हेर्नुहाेस् राष्ट्रकवि घिमिरेसँगकाे विशेष कुराकानी

अन्तिम अपडेट: असोज १९, २०७५

उपेन्द्रराज पाण्डेय

कला, साहित्य र संस्कृतिमा कलम चलाउने उपेन्द्रराज पाण्डेयलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया