तिहारपछि सार्वजनिक यातायातको भाडा फेरि बढाउने तयारी

 असोज ७, २०७५ आइतबार ८:४०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाउने तयारी थालेको छ । भाडा बढाउन नपाए दशैका लागि अग्रिम टिकट बुकिङ नखोल्ने घुर्कि लगाएका यातायात ब्यवसायीलाई १० प्रतिशत भाडा बढाउन सहमति दिएको सरकारले वैज्ञानिक भाडादरका नाममा छठपर्व लगत्तै फेरि भाडा बढाउने तयारी गरको हो । 

यसका लागि हिजै ३ सदस्यीय समिति गठन गरिएको छ । समितिले २ महिनामा नयाँ भाडादर सिफारिस गर्नेछ । हिजो बढेको भाडा इन्धनमा भएको मूल्यवृद्धिका आधारमा मात्र निर्धारण गरिएकाले वैज्ञानिक भाडादर निर्धारण गर्न समिति गठन गरिएको सरकार र यातायात व्यवसायीको दाबी छ । उनीहरुका अनुसार इन्धनसंगै, लुब्रिकेण्ट्समा बढेको भाउ, गाडीमा बढेको कर लगायत जोडेर नयाँ भाडादर निर्धारण गरिनेछ । 

सिण्डिकेट हटाएको र सवै यातायात समिति खारेज गरेको दावी गर्ने सरकारले यातायात ब्यवसायी राष्ट्रिय महासंघसंग वार्ता गरि भाडा बढाउने सहमति दिएको हो । 

अग्रिम टिकट बुकिङ अझै अन्योल 

बढेको भाडा अाइतबार दिउँसो पछि लागू हुने यातायात व्यवस्था विभागले जनाएको छ । व्यवसायीको माग अनुसार भाडा बढाए पनि दशैंको लागि अग्रिम टिकट बुकिङ खुलाउने बारेको अन्यौल भने कायमै छ । 

यातायात व्यवसायी राष्ट्रिय महासंघले यसबारे विभागको पत्र पाएपछि भोलि बैठक बसेर मात्रै टिकट बुकिङबारे औपचारिक निर्णय गर्ने भएको छ । यातायात व्यवस्था  विभागका दुई पदाधिकारी र यातायात व्यवसायीका एक प्रतिनिधि सम्मिलित समितिले दुई महिनासम्म अध्ययन गर्ने र चाडपर्व लगत्तै वैज्ञानिक भाडादर लागू गर्ने सहमति भएको हो । 


 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया