आजदेखि ‘स्वच्छ वातावरण महाअभियान’ शुरु

 जेठ २२, २०७५ मंगलबार १८:९:१ | उज्यालो सहकर्मी

काठमाडौं –  सरकारले वातावरण सफा राख्नका लागि ‘स्वच्छ वातावरण महाअभियान २०७५’ शुरु गरेको छ ।

विश्व वातावरण दिवसको अवसरमा वन तथा वातावण मन्त्रालयको नेतृत्वमा ‘स्वच्छ वातावरण महाअभियान’ कार्यक्रम शुरु गरिएको हो ।
मंगलबार जावालाखेलमा आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले गमलाको विरुवामा पानी हालेर महाअभियानको उद्घाटन गर्नुभयो । 

प्रधानमन्त्री ओलीले ‘म प्रकृति र मानव, सहअस्तित्व कायम राख्न स्वच्छ वातावरण महाअभियान २०७५ सफल पारी सरकारले अंगिकार गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पलाई साकार पार्न आजैदेखि मन, वचन र कर्मले प्रतिबद्ध भएर काम गर्नेछु’ भन्दै अभियान सफल पार्ने प्रतिबद्धता गर्नु भएको छ । 

सरकारको यो अभियानले वातावरण सफा राख्न ठूलो भूमिका खेल्ने सफाई अभियान्ता खेम शर्माले बताउनुभयो । अभियानको शुरुवात गर्न सरकारलाई पटक पटक आग्रह गरेका शर्माले प्रधानमन्त्रीले नै अभियानको उद्घाटन गर्दा खुशी लागेको बताउनुभयो ।

यसअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बढारेर सफाईको नमुना पेश गरेका शर्माले अहिले वीर अस्पतालको सफाईमा पनि साथ दिइरहनु भएको छ । सरकारले शुरु गरेको स्वच्छ वातावरण महाअभियानलाई आफुले सक्दो सहयोग गर्ने पनि उहाँले बताउनुभयो । 

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतले प्लाष्टिकजन्य पदार्थको बढ्दो प्रयोगले वातावरणमा प्रदुषण भएकाले यसको प्रयोगलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।

महाअभियानमा सदर चिडियाखानालगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले पनि सहभागिता जनाएका छन् ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया