'कांग्रेस र कम्युनिष्ट पक्षमा विभक्त कर्मचारीतन्त्रले काम गर्ने वातावरण बिगारे'

 असोज ७, २०७५ आइतबार १६:५५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले अर्थ मन्त्रालयले कामै गर्न नदिएको आरोप लगाउनु भएको छ ।

राज्यमन्त्री यादवले अर्थ मन्त्रालयले हस्तक्षेप गरेका कारण आफ्नो मन्त्रालयले काम अघि बढाउन नसकेको स्पष्टिकरण दिनु भएको हो । आइतबार प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्रालयको काम कारबाहीबारे जानकारी गराउने क्रममा उहाँले कर्मचारीहरुको आन्दोलनले पनि मन्त्रालयको काममा अवरोध भइरहेको स्पष्ट पार्नुभयो ।

उहाँले कांग्रेस र कम्युनिष्ट पक्षमा  विभक्त कर्मचारी तन्त्रले काम गर्ने वातावरण बिगारेको भन्दै त्यसलाई सल्टयाउन पनि सबै राजनीतिक दलको नेतृत्वलाई आग्रह गर्नुभयो ।

राज्यमन्त्री यादवले जनशक्तिको अभाव रहेकाले देशका सबै ठाउँमा स्वास्थ्यकर्मीहरु परिचालन गर्न नसकिएको पनि स्मरण गराउनुभयो । उहाँले जनशक्ति कम भएपछि सबै ठाउँमा स्वास्थ्यकर्मी पु¥याउन नसक्नुलाई स्वभाविकै रुपमा लिनुपर्नेतर्फ पनि समितिका सदस्यहरुको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा समितिका सदस्यहरुले सरकारको काम, कारबाहीलाई प्रभावकारी हुने गरी अघि बढाउन समितिका सदस्यहरुलाई प्रशिक्षणको व्यवस्था गर्न नवनिर्वाचित सभापति जयपुरी घर्तीलाई सुझाव दिनु भएको थियो ।

समितिका सदस्य योगेश भट्टराईले समितिको कामलाई प्रभावकारी बनाउन संघीय संसद सचिवालयसँग सहकार्य गरेर सदस्यहरुका लागि प्रशिक्षणको कार्यक्रम आयोजना गर्न सभापति घर्तीलाई आग्रह गर्नुभयो ।
समितिका अर्का सदस्य खगराज अधिकारीले समितिको कामलाई प्रभावकारी बनाउन कार्यविधि बनाउन ढिलाई गर्न नहुनेमा जोड दिनु भएको थियो । उहाँले समितिको बैठक स्थलको समेत टुंगो लगाउन सभापति घर्तीको ध्यानाकर्षण गराउनुभयो ।
समितिको बैठकमा नवनिर्वाचित सभापति घर्तीले सदस्यहरुसँग व्यापक छलफल गरी समितिको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया