प्लाष्टिकको छानाे बनाएर रात काट्दै कैदीबन्दी !

 असोज ७, २०७५ आइतबार १७:१८:२९ | विमल बिष्ट
unn.prixa.net

डोटी – जिल्ला कारागार डोटीका कैदीबन्दीहरु प्लाष्टिकको छाना बनाएर बस्न बाध्य छन् ।

राणा कालमा निर्माण गरिएको वर्षौं पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दीहरु प्लाष्टिकको छानो बनाएर रात बिताउन बाध्य भएका हुन् ।
डोटीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद सुबेदीले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको बताउनुभयो ।

‘भवन पुरानो छ, बेला बेलामा पानी पर्दा चुहिन्छ’, उहाँले भन्नुभयो, ‘कारागार मर्मतका लागि हामीले बजेट माग गरेका छाै‌ं, बजेट आएपछि मर्मत हुन्छ ।’ 
सरकारले जीर्ण भएको डोटी कारागार टालटुल गरे पनि पानी चुहिरहेकाले कैदीबन्दीलाई समस्या भएको हो । छानाबाट पानी चुहिने भएकाले प्लाष्टिक राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् ।

डोटी कारागारका छानामा राणा कालमा लगाइएको सिलेटहरु पनि खिइएर झर्न थालेको कैदीहरु बताउछन् । आर्थिक अभावले कारागारको जीर्ण भवन मर्मत हुन नसकेको कारागारका प्रमुख राजन केसीले बताउनुभयो । ‘भवन निकै पुरानो भएकाले छत चुहिन्छ’, उहाँले भन्नुभयो, ‘पानी चुहिने र छानाका सिलेट खस्ने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।’

माग अनुसार कारागार विभागबाट बजेट नआउँदा डोटी कारागार अहिलेसम्म मर्मत हुन नसकेको कर्मचारीहरु बताउछन् । डोटी कारागारमा पुरुष कैदीबन्दी ४३ र महिला कैदीबन्दी ४ गरी अहिले कुल ४७ जना रहेका छन् । २५ जना मात्र कैदीबन्दीको क्षमता रहेको त्यस कारागारमा क्षमताभन्दा बढी कैदी राख्दा झन समस्या भएको बताइएको छ ।

कैदीबन्दी बढी हुँदा खानेपानी र शौचालयमा जानका लागि समेत कैदीबन्दीले पालो पखर्नुपर्ने अवस्था रहेको बताइएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Defile

    Sept. 24, 2018, 9:15 a.m.

    कैदी बन्ने नै माहा भुल

  •  0 Reply

तपाईको प्रतिक्रिया