अझै खुलेन अग्रिम टिकट बुकिङ, सोमबार बैठक बसेर निर्णय गर्छौँ – व्यवसायी

 असोज ८, २०७५ सोमबार ८:३६:९ | नवराज फुयाँल
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – दसैँ आउन अब तीन साता पनि बाँकी छैन । तर यातायात व्यवसायीले अझैसम्म पनि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् । व्यवसायीले अग्रिम टिकट बुकिङ खुला नगर्दा दसैँमा घर जान तयार भएका यात्रुहरु अन्यौलमा परेका छन् । 

सार्वजनिक सवारीको भाडा नबढाएसम्म टिकट नखुल्ने चेतावनी दिँदै आएपछि सरकारले यातायात व्यवसायीको शर्त मान्दै भाडा बढाउने निर्णय पनि गरिसकेको छ । तर व्यवसायीले भने अझैसम्म पनि टिकट बुकिङ खुला गरेका छैनन् । विगतका वर्षहरुमा दसैँका लागि अग्रिम टिकट बुकिङ एक महिना अघिदेखि नै सुरु हुन्थ्यो । 

यसपटक अग्रिम टिकट बुकिङ नखुल्दा दसैँमा घर जान नपाइने हो कि भन्ने लागेको झापाकी अस्मिता घिमिरेले बताउनुभयो । ‘गएको वर्ष एक महिना अगाडि नै हामीले टिकट लिईसकेका हुन्थ्यौँ’ उहाँले भन्नुभयो, ‘तर अहिले अग्रिम टिकट बुकिङ नखुल्दा यो वर्षको दसैँमा घर जान पाईएला कि नपाईएला भन्ने चिन्ता लागेको छ ।’
 
टिकट बुकिङ गराउन अहिले दिनहुँजसो यात्रुहरु बसपार्क पुग्ने गरेका छन् । तर बुकिङ नखुल्दा उनीहरु खाली हात फर्कन बाध्य छन् । महेन्द्रनगरका दिपेश रावल टिकट बुकिङ खुलेको हल्ला सुनेर आइतबार बिहानै नयाँ बसपार्क पुग्नु भयो । बसपार्क पुग्दा टिकट बुकिङ नखुलेको थाहा पाएपछि निराश हुँदै त्यसै फर्कनु परेको उहाँले गुनासो गर्नुभयो । 

रावल जस्तै टिकट लिन बसपार्क पुगेका कैयौँ यात्रुहरु यसैगरी फर्किने गरेका छन् ।

बैठक बसेर निर्णय गर्छौँ – व्यवसायी 

चाडपर्वको मुखमा सरकारले पटक पटक पेट्रोलिय पदार्थको मूल्यवृद्धि गर्ने तर यातायातको भाडा बृद्धि नगर्दा आफूहरु मर्कामा परेको भन्दै यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ नखोली बसेका थिए । 

शनिबार सरकारले सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बृद्धि गर्ने निर्णय गरेसँगै  यातायात व्यवसायी पनि टिकट बुकिङ खोल्ने तयारीमा लागेका छन् ।  

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अग्रिम टिकट बुकिङ सम्बन्धमा सोमबार बैठक बसेर आधिकारीक धारणा सार्वजनिक गर्ने बताउनुभयो । सरकारले सार्वजनिक भाडादर १० प्रतिशत पुर्याउने भनेर गरेको निर्णयको पत्र आफूहरुले अझैसम्म नपाएको भए पनि त्यसैलाई आधार मानेर अग्रिम बुकिङ खुलाउने बारेमा बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।  

साथै सरकारले यातायात समितिहरुको बैंक खाता खुला गरिदिने निर्णय पनि गरिदिएको छ । सिन्डिकेट खारेज गर्ने भन्दै सरकारले गएको जेठदेखि यातायत व्यवसायी समितिको बैंक खाता रोक्का गरेको थियो । 
बैंक खाता रोक्का हुँदा कर्मचारीलाई दशैंका लागि तलव कसरी खुवाउने भन्ने समस्या थियो । अब त्यो समस्या पनि समाधान हुने विश्वास आफूहरुले लिएको सिटौलाको भनाई छ । 

पटक पटकको मूल्यबृद्धि र व्यवसायी समितिको खाता रोक्का हुँदा यो वर्ष अग्रिम टिकट बुकिङ समयमै खुलाउन नसकिएको उहाँले बताउनुभयो ।     

टिकट बुकिङ खुलाउन सरकार र यातायात समितिबीच पटक पटक छलफल र सहमति भएको थियो । तर पटक पटक सहमति गर्दा पनि व्यवसायीले टिकट बुकिङ नखुलाएपछि बाध्य भएर सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बृद्धि गर्नुका साथै समितिका रोक्का खाता फुकुवा गर्ने निर्णयमा पुगेको हो ।

टुंगो लागेन टिकट बुकिङको मोडालिटी

अग्रिम टिकट बुकिङ खोल्ने भनिए पनि टिकट बुकिङको मोडालिटी कस्तो गराउने भन्ने अझैसम्म निक्र्यौल हुन सकेको छैन । 

सरकारले यसअघि नै लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेज गरिसकेकोले अब कम्पनीहरूले मात्रै टिकट खोल्न पाउने वा यातायात समितिले पनि बुकिङ खोल्न पाउने भन्ने विषयमा टुंगो लागि नसकेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । एक दुई दिनमै विभागले टिकट बुकिङको मोडालिटी टुंगो लगाउने पनि उहाँले बताउनुभयो । 

गएको वर्ष भने यातायातसँग सम्बन्धित संघ तथा समितिले नै टिकट बुकिङ खोलेका थिए । यस वर्ष यातायात समितिहरु खारेज भइसकेकाले अब कम्पनीबाट मात्रै बुकिङ गरिने उहाँको भनाइ छ ।
 
कुनकुन स्थानबाट दसैं टिकट बुकिङ खोल्ने, ट्राफिक व्यवस्था कसरी मिलाउने भन्ने लगायतका विषयमा टुंगो लागेको छैन । गएको वर्ष राजधानीको नयाँ बसपार्क, बालाजु, गौशाला, कोटेश्वर, कलंकी लगायतका स्थानबाट टिकटको अग्रिम बुकिङ खुलेको थियो ।

त्यस्तै सडकको अस्थायी मर्मत तथा ट्राफिक सहायता कक्षहरू सञ्चालन लगायतका विषयमा पनि सरकारले तयारी थालिरहेको छ । 

थपिएनन् बस 

हरेक वर्ष यातायात व्यवसायीले दसैँलाई लक्षित गर्दै नयाँ बस पनि थप्ने गरेका थिए । सिन्डिकेट खारेज गरे पनि सरकारी नीतिमा स्पष्टना नहुँदा व्यवसायीहरु लगानी गर्न डराएको महासचिव सिटौलाले बताउनुभयो । व्यवसायीहरु लगानी गर्न इच्छुक रहेको, तर यातायात क्षेत्रमा रहेको अन्यौंलले गर्दा लगानी गर्ने वातावरण नै नरहेको उहाँको भनाइ छ ।

सिटौलाका अनुसार काठमाडौंमा केही व्यवसायीले बस थपे पनि बाहिरकाले थपेका छैनन् ।

दसैँका लागि बर्सेनि एक अर्ब रुपैयाँ बराबरको नयाँ बसमा लगानी गर्दै आएका व्यवसायीले अन्योलकै कारण बस ल्याउन नसकेको बताउँछन् । यातायात व्यवसायीहरुले दसैँ तिहारका लागि २÷३ सयभन्दा बढी नयाँ बस संचालनमा ल्याउने गरेका थिए । व्यवसायीहरुले दसैँ तिहारमा राम्रो आम्दानी पनि गर्छन् । 

दसैँमा काठमाडौं उपत्यकाबाट अधिकांश गाउँ फर्कने हुँदा चाप बढी हुने भएकाले सवारीसाधन थप गर्नुपर्ने हुन्छ । तर अहिले अन्योलकै कारण नयाँ बस थप्न नसकिएको यातयात व्यवसायीहरु बताउँछन् । 

काठमाडौंबाट पूर्व तथा पश्चिम जाने लामो तथा मध्यम दूरीका रुटका बसमा बढी चाप हुन्छ । तर यसपाली व्यवसायीले बस नथप्दा आवत जावतमा समस्या आउने देखिन्छ ।  

व्यवसायीले गाडी नथप्ने भएपछि विकल्पमा स्कुल बस, सुरक्षा निकाय, संस्थानका गाडी सञ्चालन गरेरै भए पनि यात्रुहरुलाई सहज व्यवस्था मिलाउने तयारीमा सरकार पनि लागेको छ । यातायात व्यवस्था विभागले यसको लगत संकलन गरिरहेको विभागका सूचना अधिकारी उपाध्यायले बताउनुभयो ।

उपत्यकामा बसोबास गर्दै आएका कम्तीमा १४ लाख मानिस दसैँ र तिहारमा घर ओहोरदोहोर गर्ने अनुमान यातायात व्यवस्था विभागले गरेको छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया