लार्के भन्सार १० वर्षदेखि सुनसान : लाखौंको राजश्व चुहावट

 असोज ८, २०७५ सोमबार १४:३:४६ | किरण लोहनी
unn.prixa.net

गोरखा – चीनसँगको गोरखाको एक मात्रै नाकामा रहेको लार्के भन्सार १० वर्षयता निष्क्रिय भएको छ ।

दरबन्दीका कर्मचारी नियमित रुपमा कार्यालयमा नबस्दा महत्वपूर्ण नाकामा रहेको भन्सारले काम गर्न नसकेको हो । चुमनुब्री गाउँपालिका वडा नम्बर ३ को जगतमा रहेको भन्सार कार्यालयमा चार कर्मचारीको दरबन्दी भए पनि उनीहरु कार्यालयमा बस्दैनन् ।

आक्कल झुक्कल कार्यालयमा पुगे पनि भन्सारबाट हुनुपर्ने राजस्व संकलनलगायतको काम हुन नसकेको स्थानीयबासिन्दा गणेश कार्कीले बताउनुभयो । भन्सार विभागका अनुसार लार्के भन्सारमा १ सुब्बा, १ खरिदार र २ कार्यालय सहयोगीको दरबन्दी रहेको छ ।

यसअघि ७ कर्मचारीको दरबन्दी रहे पनि लामो समयदेखि निष्क्रिय रहेको भन्सारको कर्मचारी दरबन्दी सरकारले कटौती गरेको हो । अहिले कायम गरिएको दरबन्दीका कर्मचारी पनि कार्यालयमा बस्ने गरेका छैनन् । 

एकजना मात्रै भए पनि नियमित कर्मचारी बस्ने गरेकोमा ३÷४ वर्षयता भने कार्यालयमा ताला नै लाग्ने गरेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा वन लसुनलगायतका जडिबुटी ठूलो परिमाणमा चीनतर्फ निर्यात हुने गरेको छ ।

‘कार्यालयमा कर्मचारी बस्नुप¥यो, राजस्व संकलन राम्रै हुन्छ’, गुरुङ भन्नुहुन्छ, ‘कर्मचारी नै बस्दैनन्, अनि राजश्व संकलन भएन भनेर हुन्छ त ।’
वन लसुन, सतुवालगायतका जडिबुटीको प्रति किलो एक रुपैयाँ राजस्व रकम निर्धारण गरिएको छ । उत्तरी भेगमा संकलित धेरैजसो वन लसुन सोही नाका भएर तिब्बततर्फ निकासी हुने गरेको छ ।

यस्तै दिनमा ४\५ सय खच्चड आरुघाटबाट जगत हुँदै चुम र नुब्री उपत्यकातर्फ जाने गरेका छन् । ती खच्चडले के सामान ढुवानी गरेका हुन् र कहाँ लैजान्छन् भन्नेबारे पनि सोधीखोजी हुने गरेको छैन ।

भन्सार कार्यालयमा कर्मचारी बसेमा खच्चडले बोकेका सामग्रीबाट पनि थप राजश्व संकलन गर्न सकिने स्थानीयको विश्वास छ । यस्तै असोज, कात्तिक र चैत वैशाखतिर छेकम्पार र समागाउँसहित चुमनुब्री गाउँपालिकाका बासिन्दाले सीमा नाका हुँदै चीनबाट दैनिक उपभोग्य सामग्री ल्याउने गरेका छन् ।

जगतमा रहेको कार्यालयले सामान ढुवानी गर्ने सिजनमा दुवै नाकामा घुम्ती टोली खटाएर राजस्व संकलन गर्ने गरेको थियो । जगतमा रहेको कार्यालयमै कर्मचारी नबसेपछि घुम्ती टोली खटिन पनि सकेका छैनन् । 

लार्के भन्सार प्रमुखको रुपमा दरबन्दी भएका बुद्धमान श्रीसले भने भन्सार विभागकै सल्लाहमा आफूहरु नियमित रुपमा कार्यालयमा नबसेको बताउनुभयो । केही दिनअघि कार्यालयमा पुगेको दाबी गर्दै उहाँले काम नभएपछि विभागमा फर्किएको बताउनुभयो । 

स्थानीय प्रशासनले सामागाउँ र छेकम्पारमा सशस्त्र प्रहरीलाई सीमा सुरक्षाका लागि खटाउने तयारी गरेको छ । त्यसपछि भने भन्सार कार्यालयले पनि नियमित रुपमा राजस्व उठाउन सक्ने उहाँको भनाई छ ।

गएको वर्ष १२ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको भन्दै श्रीसले त्यसैकारण विभागले पनि कम महत्व दिएको हुन सक्ने बताउनुभयो । भन्सार विभागका उपसचिव टंक पाण्डेले पनि आयात निर्यातको गतिविधि कम भएकाले लार्के भन्सार सक्रिय हुन नसकेको बताउनुभयो ।

त्यहाँ हुन सक्ने राजस्व संकलनको क्षेत्रबारे अध्ययन गरेर कर्मचारी व्यवस्थापनलगायतको काम गरिने उहाँको भनाई छ । भन्सार सक्रिय हुन चीन र नेपाल दुवै देशको रुची हुनुपर्ने पाण्डेले बताउनुभयो । 

चीनबाट रसुवागढी र तातोपानी नाका हुँदै व्यापारिक सामान आपूर्ति हुने गरेकोमा चीन सरकारले थप ३ वटा नाकामा भन्सार कार्यालय स्थापनामा सघाउन लागेको उहाँले बताउनुभयो ।

नेपाली सेनाले तिब्बत जोड्ने गरी सडक बनाइरहेको छ । सडक सञ्जाल विस्तार भएपछि भन्सारको काम पनि थपिने स्थानीयबासिन्दाको विश्वास छ । पछिल्लो समय उत्तरी नाका हुँदै सुन तस्करी हुने गरेको विभिन्न घटनाबाट पुष्टी भएको छ ।

त्यसैले लार्के भन्सारमा नियमित रुपमा कर्मचारी बस्ने व्यवस्था मिलाउनु पर्ने स्थानीय जनप्रतिनिधिहरुको भनाई छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Dev Raj Bharati

    Sept. 24, 2018, 3:06 p.m.

    जनता ले अब देश को भार लिने बेला आयो । हरेक क्षेत्र अनियमित अनियंत्रित र दुरुपयोग मात्रै भै रहेको छ । सुझाव छ सरकार जवाफ देही बनोस् । राजनीति थाहा छैन मलाई ; तर देश र जनता को अहित गर्ने मेरो नजरमा पशु हुन । ***जय नेपाल "

  •  0 Reply

तपाईको प्रतिक्रिया