पुनरावेदनपछि अनिल मृत्युदण्डबाट बच्न सक्छन्, बुवाआमाको आश सिंहदरबारमाथि

अनिलका लागि वकिल र खर्चको व्यवस्था

 जेठ २२, २०७५ मंगलबार १९:२६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

मृत्युदण्डकाे सजाय सुनाइएका अनिल र बुवाअामा

काठमाडौं – कतारमा मृत्युदण्डको सजाय सुनाइएका अनिल चौधरीको पक्षमा मुद्दा लड्न वकिल र खर्चको व्यवस्था गरिएको छ । 

गोली हानेर मृत्युदण्ड कार्यान्वयन गर्न कतारको तल्लो अदालतले गरेको फैसलाविरुद्ध नेपाली दूतावासले यसअघि नै अपील गरेको थियो । 

अनिल दोषी रहेको भन्दै कतारको तल्लो अदालतले २६ मार्च २०१८ मा मृत्युदण्डको फैसला गरेको थियो । त्यही निर्णयलाई सदर गर्दै उसले मृत्युदण्ड गोली हानेर कार्यान्वयन गर्न आदेश दिएको थियो । 

नेपाली दूतावास कतारका द्वितीय सचिव एवं प्रवक्ता नितेश सापकोटाका अनुसार महोत्तरीको औरही –१, का चौधरीलाई निर्दोष सावित गराउन त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो । कानूनी प्रतिरक्षाका लागि स्थानीय वकिल नियुक्त गरिएको छ । 

कतारी नागरिक उमैर मोहम्मद उमैर अल रामजानी अल नायुमीको हत्या अनिलले गरेको पुष्टि गर्दै कतारको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको हो । चौधरी २ अप्रिल २०१७ मा पक्राउ परेका थिए । 

अनिलको पक्षबाट मुद्दा लड्न आवश्यक पर्ने रकम समेत छुट्याइएको छ । मुद्दाका लागि आवश्यक पर्ने रकमबारे परराष्ट्र मन्त्रालयले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा पत्राचार गरेको थियो । कानूनी प्रतिरक्षाका लागि दूतावासमा पठाइएको पेश्की रकमबाट मुद्दा लड्न आवश्यक खर्च गर्न बोर्डले परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावासलाई पत्राचार गरेको छ ।

बोर्डले कानूनी प्रतिरक्षा शीर्षकमा विदेशमा रहेका नेपाली नियोगहरुलाई रकम पठाउने गरेको छ । विदेशमा आपतमा परेका नेपालीका पक्षमा मुद्दा लड्न परे यो रकमबाट खर्च गरिन्छ । मुद्दा लड्नका लागि शुरुमा ३० हजार रियाल (झण्डै ९ लाख रुपैयाँ) लाग्ने अनुमान छ । मुद्दा लड्नका लागि थप खर्च चाहिए दूतावासलाई पठाइने पनि बोर्डले जनाएको छ । 

कतारको सर्वोच्च अदालतले तल्लो अदालतको फैसला तत्काल कार्यान्वयन नगराउन आदेश दिन सक्छ । अनिल निर्दोष रहेको थप प्रमाण जुटेमा उनी जेलमुक्त हुन सक्छन् । दोषी प्रमाणित भएपनि मृतक परिवारले ब्लडमनी स्वीकार गरे उनी मृत्युदण्डबाट बच्न सक्छन् । सँगै कुनै अवसरमा आममाफी पाएर पनि उनी जेलमुक्त हुन सक्ने आश भने राख्न सकिन्छ । तर सर्वोच्चले पुनरावेदनको निवेदन स्वीकार गरे पनि फैसला गर्ने दिन भने अहिलेसम्म नतोकेको नेपाली दूतावासले जनाएको छ । 

बुवाआमाको आश सिंहदरबारमाथि 

एसएलसी पास गरेपछि धेरथोर कमाएर फर्कियोस् भन्ने सोचेर ५८ वर्षीय श्यामकिशोर चौधरीले छोरा अनिललाई कतार पठाउनुभएको थियो । उहाँले सोचेजस्तै अनिलले घरमा पैसा पनि पठाउँथे । ‘कार धोएबापत ३० रियाल जति दिनमा टिप्स हुन्छ भन्थ्यो । १९ महिना काम गर्‍यो, साढे तीन लाख रुपैयाँ जति पठायो होला,त्यसबाट दुई लाख रुपैयाँ ऋण तिरेँ’, श्यामकिशोरले भन्नुभयो । 

अनिल एक्ला छोरा हुन् । कमाउन गएको छोरा १९ महिनामै जेल परेपछि श्यामकिशोरलाई दुःखमाथि दुःख थपियो । अनिल जेल परेको १५ महिना भयो । जेलबाट छोरोलाई छुटाउन श्यामकिशोर १० पटक काठमाडौं आउनुभयो । ‘लाख रुपैयाँ जति खर्च भयो । सिंहदरबार त काठमाडौं बस्दा दिनहुँ गएको, अब त्यहाँ बस्ने भगवानहरुले मेरो छोरा बचाउलान कि भन्ने मात्रै आश छ,’ श्यामकिशोरले भन्नुभयो, ‘अनिलकी आमाले पनि छोरो जसरी पनि फर्काउनु भनेर ढिट गरेकी छ ।’ 

अनिल भन्छन् : मैले कसैलाई मारेको छैन 

अनिलको परिवारमा आमा बुवा मात्रै छन् । दुई दिदीको बिहे भइसक्यो । अनिलले पनि जेलबाट बेलाबेलामा घरमा फोन गरिरहन्छन् । ‘फोनमा मलाई बचाउनु बुवा भन्छ, उसको आमाको फोनमा मात्र फोन गर्न मिल्छ त्यहाँबाट, के हुँदैछ म आउन पाउँछु कि पाउँदिन, मैले कसैलाई मारेको छैन भन्छ, मैले के भन्ने’, श्यामकिशोर भन्नुहुन्छ । 

अनिलका मामाका छोरा ओमप्रकाश चौधरीका अनुसार, अनिलको काम गर्ने समय बेलुकीको ७ बजे सकिन्थ्यो । पक्राउ पर्ने दिन पनि अनिल काम सकेर कोठामा फर्किँदै थिए । त्यो दिन कार धुँदा अनिलको दाहिने हातको बुढी औँला काटिएको थियो । हातमा र सर्टमा थोरै रगत पनि लागेको थियो । ड्युटी सकेर तरकारी किन्न अनिल बजार गएका थिए । 

बजारबाट फर्किँदा सर्टमा रगत देखेर प्रहरीले उनलाई सोधपुछ ग¥यो । त्यो दिन प्रहरीले बाटोमा शव भेटेर मानिसहरुलाई सोधपुछ गरिरहेको रहेछ । सोधपुछकै क्रममा प्रहरी अनिलको कोठासम्म पुग्यो । कोठामा आठ हजार रियाल र कतारी नागरिकको पुरानो परिचयपत्र फेला पर्‍यो । त्यसैका आधारमा बाटोमा भेटिएको शव नै अनिलले हत्या गरेका हुन भनेर जेल हालेको ओमप्रकाशसँग अनिलले बताएका थिए । 

दूतावासले पनि अनिलको बारेमा कम्पनीबाट जानकारी लिएको थियो । लुगामा रगतको छिर्कासहित राती १२ बजे मजदुर क्याम्पमा आएको कम्पनीले दूतावासलाई जानकारी गराएको थियो । उनको कोठाबाट केही कतारी नागरिकको परिचयपत्र र चक्कु समेत बरामद गरिएको थियो । प्रहरीले बेवारिसे शव फेला पारेकाले अनुसन्धान गर्न भन्दै पक्राउ गरेको दूतावासले अनिलका परिवारलाई जानकारी गराएको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

3 Comments

  • Vnecrest

    June 7, 2018, 8:38 a.m.

    हुनत हाम्रो देशका कुलंगारहरुको बानी नै चोर, गुण्डा अनि वाहियातहरुको संरक्षण गर्ने भैसक्यो /साउदी हो त्यो, नेपालको जस्तो कानून हो र ?

  •  0 Reply
  • Tara

    June 5, 2018, 11:13 p.m.

    मान्छे मार्नेलाई सरकारले बचाउनु हुन्न, उल्टा गएर फाँसी दिनको लागि सहयोग गर्नु नै राम्रो हुने पीडाले पनि त्यही सोच्छ ।,,,,,,मेरो बिचार

  •  0 Reply
  • Tara

    June 5, 2018, 11:10 p.m.

    कानूनको हिसाबले जो गर्छ , त्यहि सहि निर्णय मान्नुपर्छ/

  •  0 Reply

तपाईको प्रतिक्रिया