हङकङको सुन पसलबाट ९ करोड लुटेको आरोपमा एक नेपाली पक्राउ

 असोज ८, २०७५ सोमबार १६:५९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

सुन पसलमा गएको शुक्रबार चीनको हङकङको एक गहना पसलबाट सात लाख ८६ हजार अमेरिकी डलर (झण्डै ९ करोड नेपाली रुपैयाँ) चोरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् ।

डाँकाहरुले पसलका दुईजना कामदारको खुट्टामा ‘मासु काट्ने चुपी’ले प्रहार गरेर त्यो पैसा चोरी गरेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोष्टले समाचार छापेको छ । चोरीमा संलग्न अन्य तीनजना फरार रहेको प्रहरीले जनाएको छ ।

२४ वर्षीय नेपाली नागरिकलाई याउ मा तेइको स्ट्रिटबाट पक्राउ गरिएको तर उनीसँग चोरी गरेको रकम नभेटिएको त्यहाँको प्रहरीले जनाएको छ । ती नेपालीको साथमा केही गाँजा भेटिएको उल्लेख गरिएको छ । उनीविरुद्ध डकैती र लागुऔषधको कारोबारमा मुद्धा दायर गरिएको र सोमबार उनलाई उदालतमा उपस्थित गराइएको छ ।

घटनामा संलग्न अन्य तीनजनाको पनि खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले अन्य तीनजना पनि दक्षिण एसियाकै नागरिक भएको आशंका गरेको छ ।
घटना गएको शुक्रबार होक यूएन स्ट्रिटमा स्थानीय समय बिहान साढे दश बजेभन्दा पहिला भएको हो ।

समाचारमा जनाइए अनुसार ती डाँकाहरुले डकैती गर्नुभन्दा अगाडि त्यहाँका कामदारको खुट्टा काटेको र दुईवटा पैसा भएको झोला लिएर भागेका थिए । डाँकाहरुले ६ वटा चेकहरु पनि साथमै लगेका छन् । तीनजनाले गहना पसलबाट पैसा लिएर आएको र एउटा कारमा चढेर भागेका थिए । चौथो व्यक्ति कारमा पर्खिरहेको र पसलबाट पैसा लिएर आएका तीनजनालाई भगाएको थियो । 

प्रहरीले त्यो गाडी स्थानीय समय दिउँसो १ बजे होइ तिङ सडकमा भेटाएको थियो । गाडीभित्र दुईवटा मासु काट्ने हतियार, ह्याट र मास्क पनि भेटिएको थियो । प्रहरीका अनुसार त्यो गाडी पनि गएको महिना चोरी गरिएको थियो ।

गहना पसलमा काम गर्ने ३८ वर्षीय एक कामदारलाई तीन पटक मासु काट्ने चुपीले प्रहार गरेको पाइएको र अर्को कामदारको खुट्टामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । एकजना कामदार अस्पतालमा उपचारपछि डिस्चार्ज भएको र अर्का एकजना सिकिस्त अवस्थामा रहेको जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया