स्याब्रुबेंसी–क्याञ्जिङ पदयात्रा मार्गको नाम डा. प्रह्लाद योञ्जनको सम्मानमा

 जेठ २२, २०७५ मंगलबार २०:१५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रदेश तीन सरकारले रसुवाको स्याब्रुबेंसीदेखि क्याञ्जिङसम्मको पदयात्रा मार्गलाई डा. प्रह्लाद योञ्जन रेड पाण्डा पदयात्रा मार्ग नामाकरण गर्ने भएको छ । 

प्रदेश सरकारले ७ वर्षअघि सडक दुर्घटनामा ज्यान गुमाएका वातावरणविद् तथा प्रकृति संरक्षणविद् डा. प्रह्लाद योञ्जनकाे स्मृतिमा पदयात्रा मार्गको नामाकरण गर्ने आफनो नीति तथा कार्यक्रममा समावेश गरेको हो ।

डा. योञ्जनले २०६८ साल कार्तिक १४ गते सानेपामा रहेको रिसोर्सेज हिमालय फाउण्डेशन नामको आफनो कार्यलयबाट  साइकलमा सितापाइलामा रहेको निवासमा फर्कंदै गर्दा सडक दुर्घटनामा परि ज्यान गुमाउनु भएको थियो ।

आफ्नै लेनमा साइकलमा गुडिरहँदा ट्रकले ठक्कर दिएर घाइते भएपछि अस्पताल पुर्याउँदा उहाँलार्इ डाक्टरले मृत घोषित गरेका थिए । 

डा. योञ्जनका नाममा नामाकरण गरिने पदयात्रा मार्ग रसुवाको स्याब्रुबेंसीबाट सुरु भै खाङजङ–घोडा तबेला–सिमदुङ हुँदै क्याञ्जिङ गुम्बासम्म पुग्छ । यो पदमार्गको अधिकांश भाग लाङटाङ खोलाको किनारै किनार पर्दछ । 

डा.योञ्जनले नेपालमा हाब्रेका नामले चिनिने रेड पाण्डाको विषयमै विद्यावारिधि गर्नुभएको थियो । उहाँले रेड पाण्डासँग सम्बन्धित सबैभन्दा धेरै अध्ययन अनुसन्धान यही लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा गर्नुभएको थियो । उहाँ जंगली अवस्थामा रेड पाण्डाको अध्ययन गर्ने पहिलो वैज्ञानिक हुनुहुन्छ । 

उहाँले त्यस क्षेत्रमा रेड पाण्डाको विषयमा अध्ययन गर्ने क्रममा रेड पाण्डा पाइने क्षेत्रतिर गोठालाहरुले गाइवस्तु चराउन नलैजाउन् र रेड पाण्डाको संरक्षण होस् भनेर स्थानीय गोठालाहरुको समिति बनाउनु भएको थियो । उहाँले त्यो समितिका सदस्यहरुलाई रेड पाण्डाको महत्वका बारेमा बुझाउने र रेड पाण्डा पाइने क्षेत्रतिर गाइवस्तु नलैजान अरु स्थानीयहरुलाई समेत सचेत गराउन प्रेरित गर्नुभएकाे थियाे । 

वन्यजन्तु संरक्षण नेपालका प्रमुख प्रसन्न योञ्जन भन्नुहुन्छ, ‘डा योञ्जनले त्यस क्षेत्रमा रेड पाण्डा संरक्षणका लागि थुप्रै अनुसन्धान गर्नुभयो । गोठालाहरुको समिति बनाएर रेड पाण्डाको क्षेत्रमा वस्तु चराउन नलैजान र रेड पाण्डाको संरक्षण गर्न सिकाउनुभयो ।’  प्रसन्न अगाडि भन्नुहुन्छ, ‘अहिले पनि त्यहाँका मानिसहरुले गोठालाहरुको समिति बनाउने गरेका छन ।’

डा. योञ्जनले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको संरक्षणमा पुर्याएको योगदानको कदरस्वरुप पदयात्रा मार्गको नाम उहाँकै नामबाट नामाकरण गरिन लागेको हो । 

प्रह्लाद योेञ्जनलाई वातावरणविद् भुषण तुलाधर यसरी सम्झनुहुन्छ, ‘डा. योञ्जनले रेड पाण्डाका बारेमा धेरै अध्ययन अनुसन्धान यही क्षेत्रमा गर्नुभएको थियो ।  यस क्षेत्रको संरक्षण होस् भन्ने उद्दश्यले उहाँकै योगदानको कदरस्वरुप यो पदमार्ग डा. प्रह्लाद योञ्जन रेड पाण्डा पदयात्रा मार्गका नाममा नामाकरण गरिन लागेको हुनुपर्छ ।’

स्याब्रुबेंसी–क्याञ्जिङ पदयात्रा मार्ग पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको रोजाई बन्दै गएको छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया