कर्णाली प्रदेशका मुख्यमन्त्रीभन्दा मन्त्रीहरु धेरै धनी

 जेठ २२, २०७५ मंगलबार २०:४०:३३ | मुना हमाल

सुर्खेत– कर्णाली प्रदेशको मुख्यमन्त्रीदेखि मन्त्रीको सम्पत्ति सार्वजनिक गरिएको  छ । 

सरकार गठन भएको करिब साढे तीन महिनापछि मंगलबार कर्णाली सरकारको मुख्यमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको हो । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कालिकोटको पचाल झरना गाउँपालिकामा बुवाको नाममा पुख्र्यौली घर भएको उल्लेख गरिएको छ । त्यस्तै कैलालीमा श्रीमती चन्द्राकुमारी शाहीको नाममा घडेरी, ६ तोला सुन र २ सय तोला चाँदी  रहेको  छ । शाहीको बैंकमा सात लाख नगद रहेको छ । यस्तै विभिन्न संस्थामा  १० लाख १० हजार शेयर रहेको  छ । शाहीसँग मारुतीको १५ लाख रुपैयाँ  पर्ने कार पनि छ । शाहीले ५ हजार कुखुरा पालन र पाँच रोपनी जग्गामा तरकारी खेती गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको सल्यान बनगाड कुपिण्डे नगरपालिकामा एउटा घर, बर्दिया, दाङ्ग र काठमाण्डौँमा जग्गा भएको उल्लेख गरेका छन् ।  उनीसँग नगद .१५ लाख रुपैयाँ, तीन तोला सुन र १० तोला चाँदी रहेको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसँग १५ तोला सुन र १० तोला चाँदी भएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उनीसँग एउटा मोटरसाइकल पनि रहेको विवरणमा उल्लेख गरिएको छ ।  

सामाजिक विकास मन्त्री दल बहादुर रावलको श्रीमती अनिता केसीको नाममा नेपालगञ्जमा दुई तलाको घर, हुम्लामा बुबाको २ वटा घर रहेको उल्लेख छ । यस्तै वीरेन्द्रगर १६ मा १६ धुुर जग्गा रहेको  छ ।  मन्त्री रावलले ५५ तोला सुन र एकसय ५० तोला चाँदी रहेको उल्लेख गरेका छन् । उनले सुन चाँदी विवाहमा दाइजो आएको स्रोत खुलाएका छन् । विभिन्न बैंकमा २७ लाख १८ हजार नगद रहेको उल्लेख गरिएको  छ । श्रीमति अनिता केसीको नाममा २४ लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको छ । त्यो रकम पारिश्रमिकबाट प्राप्त भनेर स्रोत खुलाइएको छ । के बापतको पारिश्रमिक भन्ने खुलाइएको छैन । मन्त्री रावलको नाममा राष्ट्रिय बाणिज्य बैंकमा एक लाख ५३ हजार रुपैयाँ भएको उल्लेख छ जसको स्रोत विविध भनी उल्लेख छ । यसैगरी सम्पति विवरणमा मन्त्री रावलसँग भैसी ३ वटा, भेडाबाख्रा ५४ वटा रहेको पनि उल्लेख गरिएको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीको नाममा रुकुममा एउटा घर, दाङ्ग र सुर्खेतमा पनि जग्गा रहेको उल्लेख गरिएको छ ।  पिपुल्स इनर्जी लिमिटेडमा कुखुरापालन र रेष्टुरेन्टमा १५ लाखको शेयर रहेको देखाइएको छ । 

पर्यटन मन्त्री नन्दसिंह बुढाकोे  १५ तोला सुन, एक केजी चाँदी रहेको छ । सुनको स्रोत विभिन्न व्यापारबाट भनने उल्लेख छ भने डोल्पामा पुख्र्यौली सम्पति भएको सम्पति विवरणमा उल्लेख गरिएको  छ ।  

भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्रीको नौ ठाउँमा जग्गा रहेको  छ । भेरीगंगा नगरपालिकामा १३ रोपनी, काठमाडौंमा २ रोपनी र भक्तपुरमा २ रोपनी जग्गा रहेको छ । उनले विभिन्न बैंकहरुबाट ऋण लिएको र व्यवसायबाट प्राप्त रकमबाट जग्गा किनेको सम्पति विवरणमा उल्लेख गरिएको छ । उनीसँग २१ तोला सुन र  एक किलो चाँदी रहेको छ । 

मन्त्री खत्रीले प्रतिक कन्ट्रक्सन सेवाको नाममा ३ वटा मोटरसाइकल, ५ वटा एक्स्काभेटर, ८ वटा टिपर, एउटा ट्रक, एउटा टेलर ट्रक, भ्याक्कुलोडर ३ वटा र श्रीमतीको नाममा एउटा स्कुटर रहेको छ । यो सबै नेपाल बंगलादेश बैंकबाट ऋण लिएर किनेको उल्लेख गरिएको  छ । उनले विभिन्न संस्था तथा कम्पनीमा ११ करोड ८६ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर लिएको उल्लेख गरिएको छ ।
े 

 

अन्तिम अपडेट: चैत ३, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया