‘गाउँपालिकामा कर्मचारी नै छैनन्’

 असोज ९, २०७५ मंगलबार ९:२:१० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – सिंगो गाउँपालिकाको कार्यालय चलाउने मुख्य मातहतका कर्मचारीहरु विभिन्न बहानामा सरुवा लिएर गएपछि साल्पासिलिछो गाउँपालिकाको सम्पूर्ण काम ठप्प भएकोे छ । 

स्थानीय सरकार बनेपछि कर्मचारीको चरम अभाव झेल्दै आएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, सह–लेखापाल, प्रशासन हेर्ने खरिदार एकैचोटी सरुवा भएर अन्यत्र गएपछि यतिबेला गाउँपालिको काम ठप्प बनेको हो ।

गाउँपालिकाको ६ वटै वडाको सार्वजनिक सुनुवाईमा सहभागी नभएर प्रशासकीय अधिकृत, सह–लेखापाल, प्रशासनका खरिदार र वडा नं ३ का सचिव भदौ २९ गते नै सरुवा लिएर हिँडेपछि अहिले कार्यालयमा करारका कर्मचारीहरु कार्यालय खोल्ने र बस्ने मात्र काम भएको कार्यालय सहयोगी बिरबहादुर बुढाथोकीले सुनाउनुभयो । उहाँले भन्नुभयो ‘अहिले भएका सबै करार कर्मचारीलाई कार्यालयमा आएर ढोका खोल्नु र टेबुल रुँघ्नु बाहेक केही काम छैन । मुख्य सरहरु सबै सरुवा जानुभएपछि अहिले खासै काम चलेको छैन ।’

कर्मचारी सरुवा भएपछि गाउँपालिकाको दोस्रो गाउँसभासमेत अन्योलमा परेको छ । योजनाहरु सञ्चालन गर्न, बजेट निकासा गर्न, लेखाप्रशासनका कामकाज हेर्ने मुख्य कर्मचारी नै नहुँदा करार कर्मचारीहरुको तलबभत्ता पनि निकासा हुन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत प्रविण कोइराला पाँच महिना पूरा नहुँदै सरुवा भएर काभ्रे जिल्ला र सह–लेखापाल दलबहादुर भट्टराई बढुवा लिएर सिराहा जिल्ला हिँडेपछि अहिले गाउँपालिकाको दैनिकजसो काम हुन सकेको छैन । 

त्यस्तै गाउँपालिकाको प्रशासन फाँट हेरिरहेका खरिदार सन्तोष लुँईँटेल मोरङको सुन्दरहरैँचा पुगका छन् भने गाउँपालिकाको वडा नं ३ चौकीडाँडाको वडा सचिव पेमाध्वज तामाङ पनि सरुवा लिएर रामेछाप गइसकेका छन् । अहिले गाउँपालिकाको कामचलाउका लागि निमित्त प्रशासकीय अधिकृतको रुपमा स्वास्थ्य शाखा संयोजक जगन्नाथ प्रसाद साहलाई राखिएको छ । गाउँपालिकाका १ र २ वडा वडासचिवले धानिरहेका छन् भने वडा नं ४ सचिवविहिन रहेको छ । हाल काम चलाउका लागि कार्यालयमा करार नियुक्ति गरिएका १८ जना कर्मचारीले गाउँपालिकाको काम दुःखले धानिरहेका छन् । 

जुनै जोगी आए पनि कानै चिरेको भनेझैँ कार्यालयमा आउने राजपत्र अनंकित, अंकित कर्मचारीहरु भौगोलिक विकटता र राजनीतिक समीकरणका कारण विभिन्न वाहानामा गाउँपालिकाबाट सरुवा हुने प्रवृतिले गाउँपालिकाको समपूर्ण काम अलपत्र बनेको छ । दशैं नजिकिँदै गर्दा कर्मचारी अभावले विकास बजेट विनियोजन तथा कर्मचारी, शिक्षकको तलब वितरणसमेत अन्योलमा परेको गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत ईश्वरप्रसाद भट्टले बताउनुभयो । 

‘दशैँ नजिकिएको बेला तलब आउने कुनै छाँटकाँट देखिँदैन । न बजेटिङ हुन्छ तलब निकासा, कार्यालयको कुनै कामै चल्दैन । साह्रै बिजोग भएको छ ।’ उहाँले भन्नुभयो ‘कर्मचारी नहुँदा अहिले गाउँपालिकाको काम धान्न गाह्रो भएको छ । सबै अधिकार छैन । योजनाका काम र आर्थिक लेनदेन पूर्ण रुपमा स्थगित नै छ ।’

सम्पूर्ण योजनाका कामहरु स्थगित र आर्थिक कारोबार पुरै ठप्प बनेको छ । यसअघि कर्मचारी माग गर्दा पनि पठाई नदिँदा गाउँपालिकाका सबैजसो योजनाका कामहरु कछुवाको गतिमा लम्केको थियो । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत सम्पूर्ण योजना तथा कार्यक्रमहरु पनि कर्मचारी, प्राविधिक, ईन्जिनियरको अभावमा स्फूर्त तरिकाले अगाडि बढ्न सकेनन् । 

असोज २० गतेभित्र गाउँसभा समपन्न गरिसक्ने लक्ष्यले कर्मचारी ल्याउन गाउँपालिकाका अध्यक्ष महेश राई पनि यतिबेला मन्त्रालयको चक्कर काटिरहेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्वीकृति दिएमा समयमै गाउँसभा समपन्न गरेर सम्पूर्ण कर्मचारीको तलबभत्ता खुवाउनु सहज हुने अध्यक्ष राईले बताउनुभयो । दोस्रो गाउँसभा गरेर बजेट विनियोजन गर्नुपर्ने समयमा सम्पूर्ण कर्मचारी हिँडेपछि समस्या भएको हो । 

‘एकैपटक तीनैजना हिँडेपछि हामीलाई योजनाका कामहरु चलाउन समस्या भएको छ । आर्थिक पाटो पुरै बन्द छ । कर्मचारी नहुँदा जनताको गुनासो र कर्मचारीको तलबभत्ता वितरण गर्न समस्याले ज्यादै गाह्रो भएको छ । त्यसैले कर्मचारीको माग गर्न मन्त्रालय आएको छु ।’ उनले भने, ‘उहाँहरु प्रायजसो बाहिर बाहिरै बस्नुभयो, यता आउनुभएन । उहाँहरु नआएपछि दोस्रो गाउँसभा पनि स¥यो । कसरी गाउँसभा गर्ने भन्ने अन्योल भएको छ ।’

कर्मचारी नहुँदा दैनिकजसो सयौँको संख्यामा सेवाग्राहीहरु रित्तै हात फर्किने गरेका छन् । गाउँपालिकामा बाढीपिडित, संघसस्था लगायत गाउँपालिकाको समपूर्ण आर्थिक कारोबार ठप्प रहेको छ । यसअघि पनि गाउँपालिकाका प्रशासकीय अधिकृत अशोक विष्ट र लेखापाल दाहालले पनि बाहिरबाहिरै सरुवा मिलाएर गएका थिए । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया